घरजग्गाको मन्दी लम्बिने संकेत «

घरजग्गाको मन्दी लम्बिने संकेत

सामान्यतया मुलुकको अर्थतन्त्रको गतिसँगै घरजग्गा कारोबारको गति पनि हिँड्ने गर्छ । अर्थतन्त्र चलायमान हुँदा घरजग्गाको कारोबार बढ्छ, मन्दी आउँदा यसको कारोबार पनि घट्ने गर्छ । नेपालकै पछिल्ला केही वर्षको तथ्यांक हेर्दा घरजग्गा कारोबारको गति अर्थतन्त्रको विस्तार र संकुचनसँग जोडिएर आएको देखिन्छ । २०४८ सालमा भएको राजनीतिक परिवर्तनपछिका पाँच वर्ष मुलुकको अर्थतन्त्रको आकार उच्च दरले बढेको थियो । त्यस बेला मुलुकभर नै घरजग्गा कारोबार त्यही रूपमा बढ्न पुगेको थियो ।

कारोबार बढेपछि त्यसको असर स्वभावैले मूल्यमा पनि पर्न गयो । २०४८ पछि अहिलेसम्मका ३० वर्षको तथ्यांक हेर्दा अर्थतन्त्र सकारात्मक भएका बेला घरजग्गाको कारोबार र मूल्य दुवै बढेको छ । मन्दी आउँदा दुवै घटेको अवस्था छ । यो ३० वर्षको बीचमा घरजग्गा कारोबारमा तीन–चार पटक मन्दी आउने र फेरि सुधार हुने गर्दै आएको छ । सरकारले देशभर विभिन्न १ सय २६ स्थानमा मालपोत कार्यालयहरू स्थापना गरेको छ । यिनै कार्यालयहरूबाट घरजग्गा कारोबारको तथ्यांक राख्ने र राजस्व उठाउने गरिँदै आएको छ ।

कोभिड–१९ अगाडि मुलुकको अर्थतन्त्र राम्रो अवस्थामा थियो । त्यो बेला घरजग्गा कारोबार पनि फस्टाएको थियो । कोभिडकालमा खुम्चिएको अर्थतन्त्र र घरजग्गा कारोबारमा गत वर्ष केही सुधार देखियो । यसको कारोबार र सरकारले पाउने राजस्व दुवै बढ्न पुगे । तर, यो आर्थिक वर्षमा भने घरजग्गा कारोबारमा फेरि मन्दी आएको छ । गत वर्षसँग तुलना गर्ने हो भने यो वर्ष घरजग्गा किनबेच ६२ प्रतिशत घटेको छ ।

गत आर्थिक वर्षको कात्तिकसम्ममा ८ लाख ९६ हजार घरजग्गा कारोबार भएको थियो । यस वर्ष घटेर २ लाख ६० हजारवटामा सीमित भएको छ । यो गत वर्षसँग तुलना गर्दा ६२ प्रतिशतले कमी हो । घरजग्गा कारोबारमा गिरावट आएपछि यसको सीधा असर सरकारको राजस्वमा परेको छ । सरकारले अहिलेसम्म गत वर्षभन्दा १७ अर्ब रुपैयाँ राजस्व कम उठाएको अवस्था छ । गत वर्ष कात्तिकसम्म घरजग्गा कारोबारबाट २९ अर्ब २२ करोड ९९ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

यो वर्ष ११ अर्ब ८७ करोड ७१ लाख रुपैयाँमात्र उठेको छ । गत वर्षसँग तुलना गर्दा यो ५९ प्रतिशतले कम हो । घरजग्गा कारोबार तलमाथि जानुमा बैंक तथा वित्तीय संस्थाहरूको लगानी सबैभन्दा ठूलो पक्ष हो । बैंकहरूले विगतमा घरजग्गा कारोबारमा पर्याप्त रकम लगानी गर्दै आएका थिए । राष्ट्र बैंकले यो क्षेत्रमा धेरै लगानी गर्न बन्देज गरे पनि विभिन्न उपाय अपनाएर यही क्षेत्रमा बढी लगानी गएको थियो ।

त्यस बेला घरजग्गा कारोबार गर्ने व्यक्तिहरू र कर्जा दिने संस्था दुवै उच्च फाइदामा थिए । छिटो नाफा हुने क्षेत्र देखेपछि बैंकहरूको प्रतिस्पर्धा पनि यही क्षेत्रमा लगानी गर्नेमा भएको थियो । तर, घरजग्गा कारोबार उच्च रूपले बढेका बेला अचानक आएको आर्थिक मन्दीले भने सबैलाई समस्यामा पारेको थियो । करिब डेढ दशकअघि अर्थतन्त्रमा मन्दी देखिएर घरजग्गामा गरिएको लगानी डुब्ने अवस्था आएपछि २०६६ सालमा राष्ट्र बैंकले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको थियो ।

तत्कालीन गभर्नर युवराज खतिवडाले त्यस बेला बैंक तथा वित्तीय संस्थाहरूलाई बचाउन हाउजिङ र घरजग्गा क्षेत्रमा गएको लगानीलाई तीन–चार वर्ष लगाएर क्रमशः फिर्ता गर्ने निर्देशन दिएका थिए । यही नीतिकै कारण त्यस बेला बैंकहरू बचेका थिए । यो वर्ष अर्थतन्त्रमा ठूलो मन्दी आइसकेको छैन । घरजग्गा कारोबार घट्नु र सँगै राजस्वमा कमी आउनुमा अर्थतन्त्रबाहेक अन्य धेरै कारण जोडिएका छन् । यस वर्ष बैंक तथा वित्तीय संस्थाहरूसँग लगानी गर्ने पैसाको अभाव हुनु घरजग्गा कारोबारमा मन्दी आउनुको सबैभन्दा ठूलो कारण हो ।

अहिले बैंकहरूले विगतमा जस्तै यो क्षेत्रमा कर्जा प्रवाह गर्न सकेका छैनन् । कर्जा दिए पनि ब्याज उच्च छ । उच्च दरको ब्याज लिएर मन्दी आएको घरजग्गाको कारोबारमा लगानी गर्न जोकोहीले चाहेको अवस्था पनि छैन । अर्को प्रमुख कारण जग्गाको कित्ताकाट रोकिनु हो । स्थानीय तह भूउपयोग परिषद्ले मुलुकभरको सबै जग्गालाई वर्गीकरण गर्न भनेको छ र त्यसको जिम्मा स्थानीय तहलाई दिएको छ । अहिलेसम्म अधिकांश स्थानीय तहले जग्गाको वर्गीकरण गरेको अवस्था छैन । घरजग्गालाई कृषि र गैरकृषिक्षेत्रमा वर्गीकरण गर्नुपर्ने भनिएको छ ।

कृषिक्षेत्रमा परेको जग्गामा घर र घडेरी बनाउन तथा प्लानिङ गर्न पाइनेछैन । जग्गाको वर्गीकरण नगरेसम्म कित्ताकाट गर्न नपाइने अवस्थाले कारोबार धेरै हुन सकेको छैन । तीन दशकदेखि घरजग्गाको कारोबार सबैभन्दा धेरै घरघडेरीका रूपमा मात्र भएको छ । ठूलो जमिन खरिद गर्ने र प्लटिङ गरेर बेच्नेभन्दा अर्को ठूलो कारोबार भएको देखिँदैन । कित्ताकाट गरेर नयाँ घडेरी बनाउन नपाइने भएपछि कारोबार कम हुनु स्वाभाविकै हो ।

यस्तै बैंक तथा वित्तीय संस्थाहरूलाई घरजग्गा व्यवसायमा दिँदै आएको ऋण लगानीमा केन्द्रीय बैंकले कडाइ गरेपछि पनि कारोबार घटेको हो । यस्तो अवस्थामा घरजग्गाको कारोबार फेरि चाँडै बढ्ने देखिँदैन । बजारमा पर्याप्त लगानीयोग्य पुँजी भए, ब्याजदर घटे र राष्ट्र बैंकले लगानीमा धेरै कडाइ नगर्ने दिन आएमात्र घरजग्गाको कारोबारले पुरानो लय समात्नेछ, नत्र यो क्षेत्रमा लामो समयसम्म मन्दी आउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्