नेपालका विद्यार्थीलाई प्रविधि सिकाउँदै एमआईटीका विद्यार्थी

अमेरिकास्थित म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा अध्ययनरत दुई विद्यार्थी यसिम राना र विवेक पण्डितले बिदाको समय सदुपयोग गर्दै नेपालमा आएर विद्यार्थीहरूका लागि पाँच हप्ते कार्यक्रम गरेका छन् । एमआईटीमा मेकानिकल इन्जिनियरिङ पढिरहेका राना र कम्प्युटर साइन्स पढिरहेका पण्डितले काठमाडौंको क्यारेबियन स्कुलमा कक्षा ७ मा अध्ययनरत ४० जना विद्यार्थीका लागि प्रविधिमा रुची जगाउन र पढ्ने बानीको विकास गर्न कार्यक्रम आयोजना गरेका हुन् ।
शिक्षाको क्षेत्रमा केही गर्न सकिन्छ भन्ने सोचका साथ बिदाको समय सदुपयोग गर्दै विद्यार्थीका लागि कार्यक्रम गरिएको विवेकले बताए । “सबैभन्दा प्रभावकारी काम गर्न सकिने क्षेत्र शिक्षा नै लाग्यो र त्यसमा पनि टेक्नोलोजीप्रति विद्यार्थीको रुची जगाउन सकियो भने केही परिवर्तन हुन्छ कि भनेर यो प्रोजेक्ट गरेका हौं,” उनले भने, “टेक्नोलोजीमार्फत् नै सबै क्षेत्रमा छिटो परिवर्तन गर्न सकिन्छ जस्तो लाग्छ ।”
क्यारेबियन स्कुलका विद्यार्थीका लागि उनीहरूले पाँच हप्तामा करिब ३ दर्जन सेसन चलाए । सुरुमा विद्यार्थीको रुची पहिचान र त्यसपछि उजागर गरे । पढ्ने बानीको विकास गराउन पुस्तकहरू किनेर दिए । टेक्नोलोजीमा रुची जगाउने र त्यसको सदुपयोग गर्ने आइडिया दिए । टेक्नोलोजीलाई दैनिक जीवनमा कसरी प्रयोग गर्न सकिन्छ भनेर विभिन्न प्रयोगहरू गरेर देखाए । पुस्तकमा पढेको कुरा रियल लाइफमा कसरी प्रयोग हुन्छ भनेर सम्झाए ।
यद्यपि, टेक्नोलोजीको पार्टमा चाहिँ सोचेजस्तो गर्न नसकिएको लाग्छ उनीहरूलाई । “विद्यार्थीलाई प्रविधिमा रुची जगाउन र यसको सदुपयोग गर्न सक्ने बनाउन गाह्रो छ वास्तवमा । उनीहरूमा रुची जगाउनै गाह्रो छ । सुरु–सुरुमा त चकलेट नै बाँड्यौं,” यसिमले भने ।
पाँच हप्तापछि भने उनीहरूले विद्यार्थीमा केही परिवर्तन पनि देखेका छन् । जाँदाजाँदै उनीहरूले स्कुलमा रोबोटिक्स क्लब खोलिदिएका छन् । रोबोट बनाउने किट्स छोडिदिएका छन् । “उनीहरूले रोबोटहरू बनाउँछन्, मानिसको दैनिक जीवनमा प्रयोग हुने अन्य प्राविधिक कामहरू गर्छन् । हामीले उनीहरूलाई इन्टरनेटको माध्यमबाट गाइड गर्छौं,” यसिमले भने । स्कुलपछिको खाली समयमा सिर्जनात्मक काम गर्न रोबोटिक्स क्लब र रिडिङ क्लब खोलिदिएको उनले बताए । विद्यार्थीहरूले आफूले गरेको कामको डकुमेन्टेसन गरेर फन्डका लागि पनि आवेदन दिन सक्नेछन् र त्यसमा यसिम र विवेकले सहयोग गर्नेछन् ।
सहरकै स्कुलमा किन त ? यसिम भन्छन्, “गाउँमा जान हाम्रो नेटवर्क थिएन र स्रोतसाधनको पनि सीमितता थियो ।” तर, आगामी दिनमा ग्रामीण क्षेत्रमा पनि जाने उनीहरूको योजना छ । यसपटक उनीहरूले आफ्नो कलेजबाट ६ हजार डलर (करिब ६ लाख रुपैयाँ) पाएका थिए । “एमआईटीमा धेरै रिसोर्सेस छ । विभिन्न डिपार्टमेन्टमा यस्तो कामको लागि फन्ड हुन्छ । एमआईटीमा पढ्ने नेपाली विद्यार्थीहरूको मितेरी क्लब छ, त्यो क्लबसँग पनि सहकार्य गरेर आगामी दिनमा अझै बृहत् रूपमा काम गर्ने सोचेका छौं,” यसिम र विवेकले सुनाए ।