Logo

बैंकहरुको नाफा १५ प्रतिशत घट्छ : गोल्यान

बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले बैंकहरुको नाफा १५ प्रतिशत घट्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा समग्र अर्थतन्त्रको समस्या भन्दापनि बैंकको नाफा कम गर्ने हिसावले आएको उनले बताए ।

बैंकहरुको स्पेडदर ०.४ प्रतिशत घटाउँदा बैंकको नाफा १० देखि १५ प्रतिशतसम्म घट्ने अवस्था देखिएको दाबी गरे । उनले बैंकहरुको नाफा घट्दैमा वर्तमान अर्थतन्त्रमा देखिएको समस्या समाधान हुन नसक्ने बताए । अध्यक्ष गोल्यानले राष्ट्र बैंक अभिभावक संस्था भएपनि बैंकहरुलाई नै धरासायी बनाउने गरी मौद्रिक नीति ल्याएको आरोप लगाए । उनले मौद्रिक नीतिको समीक्षाले राष्ट्र बैंकले सौतेनी व्यवहार जस्तो गरेको आरोप लगाए ।

बैंकको निक्षेपको ब्याजदर घट्नुको भने विकल्प नभएको उनको भनाइ छ । उनले छिमेकी देश भारतमा निक्षेपको ब्याजदर ६ प्रतिशत रहेपनि नेपालमा भने १२ प्रतिशत ब्याजदर हुनु उचित नभएको तर्क गरे । गोलयानले रेमिट्यान्स आएको बेला मात्रै निक्षेप बढ्ने तर ९ प्रतिशतबाट निक्षेपको ब्याज बढाएर १२ प्रतिशत पुर्‍याउँदासमेत निक्षेप बढ्न नसकेको टिप्पणी गरे । उनले पुससम्ममा ३ प्रतिशतसम्म ब्याजदर कम हुनुपर्ने बताए ।

बैंकिङ प्रणालीमा चरम तरलता अभाव रहेको भन्दै अध्यक्ष गोल्यानले बैंकहरुको खराब कर्जा बढ्नसक्ने अवस्था देखिएको दावी गरे । “पुस महिनामा ७० अर्ब रिफाइनान्सको रकम बाहिर जान्छ । त्यसपछि अझ बढी बैंकिङ प्रणालीमा समस्या आउँछ” उनले भने, “निजी क्षेत्रले पनि बुझ्दै नबुझी बैंकको ब्याजर घटाउँ मात्रै भनेर बैंकहरुलाई गाली गरेर समस्याको समाधान हुँदैन । ब्याजदर लगायतका समस्या समाधान गर्न बैंक र निजी क्षेत्र मिलेर गर्नु आवश्यक छ ।”

अध्यक्ष गोल्यानले मौद्रिक नीतिको समीक्षा बैंकहरुलाई मात्रै टार्गेट राखेकाले बैंकहरु धरासायी हुने बताए । मौद्रिक नीतिमा लागू गर्ने भनिएको दोहोरो ब्याजदर प्रणाली तत्काल लागू गर्न सबै क्षेत्र बच्नसक्ने गरी मौद्रिक नीतिको समीक्षा हुन नसकेको जिकिर गरे । गोल्यानले बैंकहरुले जोखिम मूल्यांकन गरेर लगानी लगाउने भएकाले स्पेडदर घट्दैमा कसैलाई राहत नहुने बताए । स्पेडदर ०.४ प्रतिशत कम भएको फाइदा ठूला व्यवसायीहरुले मात्रै लिनसक्ने उनको भनाइ छ ।

उनले राष्ट्र बैंक र निजी क्षेत्रले दुई चारवटा बैंकले खराब काम गर्‍यो भन्दैमा सबैलाई एकै ठाउँमा राखेर बैंकिङ क्षेत्रलाई नै चोर भन्न नमिल्ने बताए । उनले बैंक तथा वित्तीय संस्थाहरु भनेको देशको आर्थिक मेरुदण्ड भएको भन्दै बैंकहरु धरासाही हुँदा सबै क्षेत्र धरासायी हुने बताए । गोल्यानले आवश्यक हुँदा ब्याजदर घटाउनु पर्छ र तरलता सहजता बनाउनुपर्छ भन्ने पक्षमा बैंकहरु रहेको बताए ।

“सबै क्षेत्र बाँच्न सक्ने गरी मौद्रिक नीतिको समीक्षा आउनुपर्ने थियो तर आएन । बैंकहरुले जोखिम हेरेर लगानी गर्छन्” उनले भने, “स्पेडदर कम हुँदैमा केही राहत हुन्छ जस्तो लाग्दैन । तर बैंकहरु कमजोर हुँदै जान्छन् । राष्ट्र बैंकले दुई चारवटा बैंकले खराब काम ग¥यो भन्दैमा सबैलाई एकै ठाउँमा राख्न मिल्दैन ।”

राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जा नीति गलत नभएको भन्दै अध्यक्ष गोल्यानले फाइनान्ससियल अनुशासनमा हुनेहरु व्यवसायीलाई चालु पुँजी कर्जा नीतिले केही समस्या नपार्ने तर्क गरे । उनले बैंकहरु अनुसाशित नहुँदा राष्ट्र बैंकले चालु पुँजी कर्जा नीति ल्याएको बताए । एउटा उद्योगबाट १ अर्बको कारोबार हुनेमा २ अर्बको कर्जा लिएर पैसा अन्य सेयर मार्केट, नयाँ कम्पनी स्थापना, जग्गा खरिदमा लगानी गर्नेहरु चालु पुँजी कर्जा मार्गदर्शन खारेज गर्न माग गरिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्