Logo

प्रदेश सांसदको प्रथामिकता : पर्यटन र कृषि

भ्रष्टचारमुक्त जुम्ला बनाउने नवनिर्वाचित सांसदको प्रतिबद्धता

मंसिर ४ गते सम्पन्न निर्वाचनबाट जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जुम्लालाई भ्रष्टचार मुक्त जिल्ला बनाउने प्रतिबद्धता गरेका छन् । भ्रष्टचार विरोधी अभियान्ता समेत रहेका शाही राप्रपाको केन्द्रीय प्रवक्ता हुँदै गत निर्वाचनबाट बहुमतले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

जुम्लामा आयोजित बधाई कार्यक्रममा शाहीले बरु आफू मृत्यु स्वीकार्न तयार रहेको तर भ्रष्टचार नसहने प्रतिबद्धता गरेका हुन् । “अब पनि भ्रष्टचार गर्ने, जनताको करबाट सुविधा लिएर पनि विकासको बजेटमा मोजमस्ती गर्नेले कालापहाडको बाटो तताए हुन्छ । शाहीले भने, मैले निर्वाचनमा कसैसंग चन्दा पनि मागेको छैन । भ्रष्टचारकै विरुद्ध अभियान चलाउँदा १७ पटक जेल परे । मुलुकको समृद्धि र विकासको बाधक भनेकै भ्रष्टचार हो । भ्रष्टचार रोक्न मेरो पहिलो प्रथामिकता रहन्छ ।”

स्थानीय तहमा जनताको सेवा भन्दा विलासीता बढ्दै गएको छ । विपद जस्तो क्षेत्रमा न्यून बजेट छुटाएको देखिन्छ । अधिकृतम पुँजीगत बजेट खर्च गर्न नसकेर फ्रिज भइरहेको छ । बेरुजु करोडौंका हिसाबले आइरहेको छ । त्यसैले भ्रष्टचार नरोकी समृद्ध जुम्ला बनाउन नसकिने भएकोले सबैको साँझा पहलमा विकाससंगै भ्रष्टचार मुक्त जुम्ला बनाउने अभियानमा साथ दिन समेत ज्ञानेन्द्र शाहीले अपिल गरेका छन् ।

“मुलुक देश भ्रष्टाचारले बिग्रेको छ । तल्लो तहदेखि माथिकम टाउँकेसम्मलाई अतिरिक्त कमाउने बानी बसेको छ । उनले थपे, भ्रष्टाचार नगर्ने र भ्रष्टाचार पनि गर्न नदिने मेरो पहिलो एजेन्डा छ । सडक, बिजुली, टेलिफोन र कृषि तथा पर्यटन क्षेत्रलाई अघि बढाउन विशेष ध्यान दिनेछु । डोजर आतंकले बाढीपहिरोको जोखिम बढाएको छ । अनाश्वक सडक काटिएका छन् । डोजर आतंक पनि अन्त्य गरिने छ ।”

जुम्लामा गुणस्तरीय स्वास्थ्य, शिक्षा, सडक, सञ्चार, पर्यटन र कृषि क्षेत्रको विकासका लागि नीति निर्माणदेखि संघीय मन्त्रालय, दातृ निकायसंग पहल गर्ने समेत उनको भनाइ छ ।

प्रदेश सांसदको प्रथामिकता : पर्यटन र कृषि

जुम्ला प्रदेश (क) र प्रदेश (ख)बाट निर्वाचित सांसदहरुले जुम्लाको आर्थिक समृद्धि र विकासका लागि कृषि र पर्यटन क्षेत्रलाई प्रथामिकता दिने प्रतिबद्धता गरेका छन् । ज्ञानेन्द्र शाही, देवेन्द्रबहादुर शाही र टेकराज पछाईले तीनै तहका सरकारबीच समन्वय गरी जुम्लाको विकासमा लाग्ने प्रतिबद्धता गरेका हुन् ।

नेपाल पत्रकार महासंघ जुम्लाद्वारा आयोजित नवनिर्वाचित सांसदलाई बधाई तथा प्रतिबद्धता कार्यक्रममा जुम्ला प्रदेश (क) बाट निर्वाचित देवेन्द्रबहादुर शाहीले भ्रष्टचार मुक्त जिल्लाबाट साँझा ऐकेबद्धता रहेको भन्दै जुम्लाको कृषि उत्पादन बृद्धि, बजारीकरण तथा किसानको आय बृद्धिमा जोड दिने प्रतिबद्धता गरे ।

गाउँस्तरका आवश्यकता पहिचान गरी योजना निर्माण गर्ने र कार्यकर्ता पोस्ने व्यक्तिका नाममा योजना दिने प्रवृत्तिको समेत अन्त्य गरिने उनको भनाइ छ । प्रदेश सभा सांसद टेकराज पछाईले जुम्ला सिंजा बनाउने मेरो योजना रहेको बताए । उनले भने, “प्रदेश (ख) का दुर्गम क्षेत्र कनकासुन्दरी गाउँपालिको बुम्रमाडीचौर, राँसा मालापानी, घोडेमहादेव क्षेत्रको प्याकेजमा विकास गरिने छ । पर्यटनसंग रोजगारी, कृषि, स्वास्थ्य, शिक्षालाई जोडेर विकास गर्ने लक्ष्य छ ।”

नाग्म गमगडी सडकको स्तरवृद्धि गरी पर्यटकको आगमनलाई समेत सहज बनाइ आर्थिक समृद्धि हासिल गर्न सकिने भएकोले त्यसतर्फ जोड दिइने उनको भनाइ छ । पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले नवनिर्वाचित सांसदलाई बधाई ज्ञापन गर्दै राम्रा कामलाई प्रशंसा गर्ने र गतल कामको विरुद्ध खबरदारी गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्