Logo

अनुसन्धान र पर्यटनको रोजाइमा मूलपानी वनस्पति

प्रकृति र पर्यावरण अमूल्य र निःशुल्क उपहार हुन् । यसलाई सन्तुलन बनाउन वनस्पतिको उत्तिकै महत्व हुन्छ । वनस्पति सौन्दर्यका स्रोत पनि हुन् । कुनै पनि क्रोध भएका व्यक्ति किन नहोस्, वनस्पतिले आफूतिर ध्यानाकर्षण गरिरहेको हुन्छ ।
वनस्पति एउटा सौन्दर्यको स्रोतमात्र होइन, औषधीय गुण भएका विभिन्न प्रजातिका वनस्पतिले त झन मानिसलाई जीवन प्रदान गरिरहेको हुन्छ ।

मानव जीवनका हरेक चरण र विभिन्न तवरमा वनस्पति उपयोगमा आइरहेको हुन्छ । पछिल्लो समय वनस्पति तथा जडिबुटीको संरक्षण, प्रवद्र्धन, अनुसन्धान र महत्व बढ्दै गएको पनि छ । जसका कारण सल्यान वनस्पतिको खोज, अध्ययन, अनुसन्धान र अवलोकनको केन्द्रको रूपमा स्थापित भएको छ ।

सल्यानको कपुरकोट गाउँपालिका–३ स्थित वनस्पति अनुसन्धान केन्द्र र यहाँस्थित वनस्पति उद्यानमा वार्षिक पाँच हजार मानिस अध्ययन अवलोकनका लागि आउने गरेका छन् । देशका विभिन्न ठाउँबाट आयुर्वेद कलेज, कृषि तथा विज्ञानका विद्यार्थी एवं विज्ञसमेत अध्ययनका लागि आउने गरेको वनस्पति अनुसन्धान केन्द्र मूलपानीका प्रमुख डाक्टर मित्रलाल पाठकले जानकारी दिए ।

केन्द्रले मुलपानी वनस्पति उद्यानमा ५ सय ५० प्रजातिका बिरुवा संरक्षित गरेर राखिएको छ । डा. पाठकले भने, “स्थानीय र परस्थानीय गरेर ५ सय ५० प्रकारका विरुवा वनस्पति उद्यानमा संरक्षित छन् । यसमध्ये दुर्लभ, लोपोन्मुख तथा जंगली अवस्थामा कम हुँदै गएका ६० प्रजातिका विरुवा हामीकहाँ संरक्षित छन् ।” उद्यानमा संरक्षित विरुवामध्ये आधाजति देशका विभिन्न ठाउँ र केही शोभनीय वनस्पति विदेशबाट समेत ल्याइएको डा. पाठकले बताए ।

५.५ हेक्टर क्षेत्रफलमा फैलिएको उद्यानमा मनोरञ्जनका लागि पनि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको अनुसन्धान केन्द्रले जनाएको छ । उद्यानमा बोटानिकल गार्डेनका साथै हिमालको आकृति पनि छ । राप्ती लोकमार्गसँंगै जोडिएको जंगलका बीचमा थरिथरिका वनस्पतिसँंग रमाउनका लागि मानिसहरू आउने गरेको वनस्पति अनुसन्धान केन्द्रका सूचना अधिकारी गोपाल शमाले जानकारी दिए ।

“वर्षमा पाँच हजारभन्दा बढी मानिस यहाँ आउने गरेका छन्,” उनले भने, ‘मूलपानी वनस्पति उद्यान अनुसन्धान केन्द्रसँगै पर्यटकीय गन्तव्यको रूपमा पनि स्थापित हुँदै गएको छ ।”

बिरुवा उत्पादन गर्दै, विद्यार्थीलाई तालिम

वनस्पति अनुसन्धान केन्द्रले औषधीय गुण भएका तथा अन्य विभिन्न महत्वपूर्ण वनस्पतिका बिरुवा पनि उत्पादन गर्दै आएको कार्यालयका सूचना अधिकारी गोपाल शर्माले जानकारी दिए । उनका अनुसार चालू आर्थिक वर्षमा २० हजार बिरुवा निःशुल्क वितरण गरिएको छ । अहिले कार्यालयमा ६० हजार बिरुवा रहेको शर्माले बताए । निजी कृषक, कृषक समूह, विभिन्न सामुदायिक वन समूहबाट बिरुवाको माग हुने गरेको छ ।

वनस्पति अनुसन्धान केन्द्रले तीन स्थानमा नर्सरी स्थापना गरेर बिरुवा उत्पादन गरिरहेको छ । कपुरकोट–३ स्थित मूलपानी वनस्पति उद्यान, त्रिवेणी गाउँपालिकाको सिमापाखा जडिबुटी नर्सरि सल्लेखोला र नमुना नर्सरि मूलपानीमा विभिन्न जडिबुटीका बिरुवा उत्पादन हुने गरेको छ । नर्सरिमा महत्वपूर्ण जडिबुटीहरू तेजपात, टिमुर, काउलो, रिठा, कुरिलो, हर्राे बर्राे, अमला, मालागिरिलगायतका बिरुवा उत्पादन हुन्छ ।

जडिबुटीहरू मानिसका आधारभूत आवश्यकता पूरा गर्न जति अपरिहार्य छन् पर्यावरणीय सन्तुलन कायम राख्न पनि त्यतिकै आवश्यक भएकाले पछिल्लो समय जटिबुटी खेतीतर्फ किसानको आकर्षण देखिन थालेको अनुसन्धान केन्द्रले जनाएको छ ।
जडिबुटी खेति विस्तारका लागि केन्द्रले सचेतना, तालिमसँगै पकेट क्षेत्र प्रवद्र्धन कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । कार्यालय प्रमुख डा. मित्रलाल पाठकका अनुसार किसान, समूह र सहकारीलाई तालिम सञ्चालन गरिएको छ ।

वनस्पतिको महत्व बुझाउने उद्देश्यले अनुसन्धान केन्द्रले विद्यालय तहमा समेत शिक्षा प्रदान गर्दै आएको छ । वार्षिक पाँच सय विद्यार्थीलाई वनस्पतिको महत्व तथा जडिबुटी खेतीबारे तालिम र शिक्षा प्रदान गर्ने लक्ष्य रहेको बताउँदै डा. पाठकले भने, “यस आर्थिक वर्षको हालसम्म हामीले दुई सयजना विद्यार्थीलाई शिक्षा दिएका छौं । आधारभूत तहभन्दा माथिका विद्यार्थीलाई विद्यालयमै गएर तालिम प्रदान गरेको डा. पाठकले जानकारी दिए ।

यस्तै कर्णाली प्रदेशको तल्लो भेग रुकुम पश्चिम, सुर्खेत, जाजरकोटसम्म पनि अनुसन्धान केन्द्रले जडिबुटी खेती विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । उनले भने, “पकेट क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत सक्रिय समूहलाई प्राविधिक सहायता र अनुदानको कार्यक्रम पनि सञ्चालन गर्ने, गरेका छौं ।”

प्रतिक्रिया दिनुहोस्