Logo

ग्राउण्ड ह्याण्डलिङमा बुद्ध एयर

फाइल तस्बिर ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने भएसँगै बुद्ध एयरले ग्राउन्ड ह्याण्डलिङका लागि प्रकृया अगाडि बढाएको छ । आन्तरिक तथा बाह्य उडानको ग्राउण्ड ह्याण्डलिङका लागि बुद्ध एयरले नागरिक उड्डयन प्राधिकरणमा निवेदन प्रस्ताव दर्ता गरेको जनाएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरी २०२३ बाट सुरु हुने गरी बुद्ध एयरले सम्पूर्ण आन्तरिक तयारी गरिसकेको जनाएको छ । धेरै वर्षको मिहिनेत र खर्चपछि यो पूर्वाधार बनाउनको लागि सम्भव भएको बुद्ध एयरले भनेको छ । आगामी दिनमा सञ्चालनमा आउने पोखरा विमानस्थलको भरपुर उपयोग गरेर धेरैभन्दा धेरै पर्यटक (आन्तरिक एवं बाह्य) पोखरा र सम्पूर्ण गण्डकी प्रदेशमा भित्र्याउन बाटो खुल्ला भएको बुद्ध एयरले जनाएको छ ।

बुद्ध एयरले यस अन्तर्राष्ट्रिय विमानस्थलको शुरुवातबाटै पाँचवटा विमान रात्री–बिसान गरी साताको ३ सय उडान भर्ने कार्यतालिका बनाएको छ । यसले गर्दा आगामी दिनमा विशेषतः गण्डकी प्रदेश र हरेक नेपालीको जीवनोस्तर उकास्न र सामान सम्पत्ति सिर्जना गर्ने बाटो पनि खुल्ने बुद्ध एयरले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

जसमा हरेक दिन नेपालगञ्ज, भैरहवा, भरतपुर र भद्रपुरबाट आन्तरिक उडान भर्नेछन् । अन्तर्राष्ट्रियतर्फ साताको तीन दिन भारतको बनारस उडान भर्नेछन् । यसैगरी बुद्धले सम्बन्धित निकायमा हप्ताको दुई दिन भारतको नयाँदिल्ली र तीन दिन देहरादुन उडान अनुमतिका लागि निवेदन पेश गरेको छ ।

सानो उपत्यकामा अवस्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट जेट विमानले अन्तर्राष्ट्रिय उडान भर्न के कस्ता प्रकारका विमानहरु कुन गन्तव्य जान सकिन्छ भन्ने बारेमा पनि प्राविधिक टोलीले अध्ययन गरिरहेको बुद्ध एयरले जनाएको छ । निकट भविष्यमै यस दिशातर्फ बुद्ध एयर अग्रसर हुने पनि विज्ञप्तिमा जनाइएको छ ।

बुद्ध एयरसँग लामो समयको अनुभव र पर्याप्त जनशक्ति पनि रहेको छ । बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ कार्यको प्रस्ताव नेपाली प्राधिकरणलाई बुझाएका छ । बुद्धले आन्तरिक एवं भोलि आउने अन्तर्राष्ट्रिय वायु सेवाहरुले सस्तो र गुणस्तरीय ग्राउण्ड ह्याण्डलिङ व्यवस्थाका लागि प्रतिवद्ध रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्