बलियो अमेरिकी डलर र यसको परिणति «

बलियो अमेरिकी डलर र यसको परिणति

केही दिनअगाडि नेपाली १ सय ३२ रुपैयाँबराबर अमेरिकी १ डलर सतही दर कायम भएको थियो र यो नेपाली र अमेरिकी डलरको सबभन्दा बढी विनिमिय दर हो । नेपाली रुपैयाँ अमेरिकी डलरको तुलनामा यो वर्ष करिब ८ प्रतिशतले अवमूल्यन भइसकेको छ । भारतमा पनि १ अमेरिकी डलरबराबर भारु ८२ पुगेको छ, जुन इतिहासकै सबभन्दा बढी विनिमय दर हो ।

केही दिनअगाडि मात्र पनि बेलायती पाउन्ड, युरोपियन युरो र जापानिज येनको अमेरिकी डलरसँगको सतही दर अहिलेसम्मकै न्यूनतम बिन्दुमा झरेको थियो । अहिले संसारका धेरै देशको मुद्रासँग अमेरिकी डलरको विनिमय दर बढेर अमेरिकी डलरको एप्रिसियसन भइरहेको छ । अर्को शब्दमा भन्ने हो भने विश्वका अरू मुद्राहरूको तुलनामा अमेरिकी डलर झन्–झन् बलियो हँुदै गएको छ ।

अमेरिकी डलरको विश्वव्यापी उपयोग

विश्वको कुल गार्हस्थ्य उत्पादनमा अमेरिकाको योगदान घट्दै गए तापनि वित्तीय रूपमा अमेरिकालाई सुपर पावर नै मानिन्छ । एक देशका नागरिक र कम्पनीहरूले अर्को देशका नागरिक र कम्पनीहरूको बीचमा एकआपसमा ऋण सापटी लिँदा पनि अमेरिकी डलर नै प्रयोग गर्ने गरेको पाइन्छ र यस्तो ऋणको प्रवाह करिब ७५ प्रतिशत रहेको पाइन्छ ।

विश्वका केन्द्रीय बैंकहरूले राख्ने गरेको सञ्चिति मुद्राको मात्रा १२ ट्रिलियन डलरबराबर रहेको र त्यसमध्ये दुई तृतीयांश भाग अमेरिकी डलरमा राख्ने गरेको पाइन्छ । अन्तर्राष्ट्रिय बैंक अफ सेटलमेन्टका अनुसार विश्वको ९० प्रतिशत वित्तीय कारोबार डलरमा हुने गरेको पाइन्छ । अहिले पनि विश्वमा ८० प्रतिशत अन्तर्राष्ट्रिय व्यापारको भुक्तानी अमेरिकी डलरमा हुने गरेको छ ।

विश्वको आधाभन्दा बढी अन्तर्राष्ट्रिय व्यापारका बिजकहरू अमेरिकी डलरमा जारी हुने गरेको पाइन्छ । यति मात्र होइन, देशहरूले विदेशी राष्ट्र र बहुपक्षीय संस्थाहरूसँग ऋण लिँदा पनि डलरमै लिने गर्छन् । यसका साथै धेरै सरकारहरूले आफ्नो सञ्चिति रकम राख्दा पनि डलरमै राख्ने गरेको पाइन्छ ।

विश्वको झन्डै दुईतिहाइ सञ्चिति अमेरिकी डलरमा रहेको र ऋणको हिसाबकिताब अमेरिकी डलरमै राख्ने गरेको पाइन्छ । जिम्बावे र दक्षिण अमेरिकाको एउटा देशले त अमेरिकी डलरलाई आफ्नो देशको मुद्राको रूपमा प्रयोग गरेको इतिहास पनि पढ्न पाइन्छ ।

डलरको भाउ वृद्धि हुनुका कारण

अहिले विश्व नै (केही देशहरू छोडेर) मन्दीतर्फ उन्मुख भएको बेलामा अमेरिकी डलर किन बलियो हुँदै गएको छ त ? अरू मुद्राहरूको तुलनामा डलरको मूल्य स्थिर रहने भएकाले विश्वभरिका लगानीकर्ताहरूलाई डलरमा लगानी गर्ने आकर्षण बढ्यो । लगानीकर्ताहरूले डलरमा गरेको विश्वासलाई अर्को कारण मान्न सकिन्छ ।

विगत ११ वर्षदेखि नै डलर अरू मुद्राको तुलनामा बलियो हुँदै गइरहेको थियो र विगत १५ महिनामा यो बलियो हुने गति अरू बढेको पाइन्छ । सन् २०२१ देखि डलरको मूल्य अरू विकसित र उदीयमान अर्थव्यवस्थाहरूको मुद्राको तुलनामा झन्डै १० प्रतिशतले बढेको पाइन्छ । सन् २००८ र २००९ को वित्तीय संकटपछि अमेरिकी अर्थव्यवस्थाको वृद्धिदर अरू विकसित देशहरूको आर्थिक वृद्धि दरभन्दा बढी रहेको पाइन्छ ।

आर्थिक वृद्धिदर बढी भएपछि अरू देशहरूबाट पुँजी आकर्षित हुनु स्वाभाविक मानिन्छ । यति मात्र नभईकन अमेरिकाको केन्द्रीय बैंक अहिले आएर आर्थिक वृद्धिलाई वास्ता नगरीकन अहिले बढिरहेको मुद्रास्फीति रोक्न दृढ संकल्पित देखिन्छ । अरू देशहरूको केन्द्रीय बैंकीभन्दा अमेरिकी केन्द्रीय बैंकले वाणिज्य बैंकहरूलाई ऋण दिँदा लिने ब्याजदर (जसलाई रिपो रेट वा पोलिसी रेट पनि भनिन्छ) लाई उसले पाँचपल्ट बढाइसकेको छ ।

कोभिड संक्रमण अगाडि ०.५ प्रतिशत रहेको यो दर अहिले ३ प्रतिशत पुगेको छ । अमेरिकी डलर अरू मुद्राहरूको तुलनामा बलियो हुनुको अर्को कारण भनेको अमेरिकी अर्थव्यवस्था इन्धनमा आत्मनिर्भर हुनु हो र विश्वमा इन्धनको मूल्य अमेरिकी डलरमा कायम गर्ने गरिन्छ, जसलाई पेट्रो डलर पनि भन्ने गरिन्छ । धेरै उदीयमान देशहरूले पर्याप्त मात्रामा इन्धन आयात गर्छन् भने अमेरिकाले इन्धन आयात गर्नु नपर्ने हुनाले अहिलेको इन्धनको मूल्यवृद्धिबाट अमेरिकी व्यापारघाटामा त्यति दबाब परेको देखिँदैन ।

विश्वमा बढी तेल उत्पादन गर्ने देशहरूमा अहिले अमेरिका अग्रपंक्तिमा आउँछ । रूसले युक्रेनमाथि आक्रमण गरेपछि इन्धनको बजारमा जुन उतारचढाव आयो त्यसले पनि अमेरिकी अर्थव्यवस्थालाई त्यति प्रभाव पारेका देखिँदैन । युरोपियन युनियनका देशहरू र बेलायतलगायत अरू युरोपियन देशहरू अहिलेको इन्धनको मूल्य वृद्धिबाट धेरै प्रभावित भएका छन् ।

परिणामहरू

यसरी डलरको भाउ अरू मुद्राको तुलनामा वृद्धि हुँदै गएपछि यसले आर्थिक वृद्धि र मुद्रास्फीतिमा पार्ने प्रभावको कारणले गर्दा यो नीति निर्माताहरूका लागि ठूलो चासोको विषय बनेको छ । सन् १९७० को दशकमा अमेरिकाले परिवर्तनशील विनिमय दर लागू गर्न सुरु गरेको र तेल संकटको कारणले डलरको भाउमा जुन गिरावट आएको थियो त्यसलाई सन् १९८५ मा अमेरिकाले अपनाएको नियन्त्रित मौद्रिक नीतिको कारणले डलरको भाउ उच्च बिन्दुमा पुगेको थियो भने अहिले पनि अमेरिकाले रिपो दर बढाएर नियन्त्रणमुखी मौद्रिक नीति अपनाएको कारणले पनि अमेरिकी डलरको मूल्य अरू मुद्राको तुलनामा बढेको हो ।

यसबाट विश्वभरि नै अमेरिकी सामान महँगो भई अमेरिकाको व्यापारघाटा अरू बढ्ने देखिन्छ । अर्कातिर लगानीकर्ताहरूले अमेरिकी डलरमा बढी लगानी गर्ने भएकाले अविकसित र उदीयमान देशहरूबाट वैदेशिक लगानी अमेरिकातिर प्रवाह हुन्छ । यसको ज्वलन्त उदाहरणका रूपमा भारतलाई लिन सकिन्छ । एक वर्षअगाडि भारतको ढुकुटीमा ६ सय ५० अर्बबराबरको अमेरिकी डलर सञ्चिति रहेकोमा डलर बलियो भई अमेरिकातर्फ डलरको प्रवाह भएका कारणले अहिले करिब ५ सय ५० अर्ब अमेरिकी डलरमा झरेको छ ।

अविकसित र उदीयमान देशहरूले विदेशी ऋण अमेरिकी डलरमा लिएका छन् भने त्यस्ता देशहरूको शोधनान्तर स्थितिमा अरू प्रभाव पार्ने देखिएको छ । अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार विश्वमा ७० भन्दा बढी देशलाई सार्वजनिक ऋणको बोझ अरू बढ्ने अनुमान गरेको छ ।

विश्वको मुद्रा र पुँजीबजारमा यसको मनग्य प्रभाव रहेका पाइन्छ । यसले गर्दा कोभिडको लकडाउनले र रूसले युक्रेनमाथि गरेको आक्रमणबाट थला परेका धेरै देशको समष्टि अर्थव्यवस्था अरू बिग्रने भएको छ । अमेरिकी डलरको यो भाउ वृद्धिले विश्वको आर्थिक वृद्धिमै नकारात्मक असर पर्ने भएको छ ।

नेपालको परिप्रेक्ष्य

जहाँसम्म नेपालको अर्थव्यवस्थामा परेको प्रभाव छ त्यसलाई विश्लेषण गर्ने हो भने नेपालको वैदेशिक व्यापारको लगभग ८० प्रतिशत व्यापार चीन र भारतसँग हुने गरेको र चीनको शून्य कोभिड नीतिको कारणले धेरै सहरमा भएको लकडाउनका कारण अर्थव्यवस्था सुस्ततातिर गएको र भारत उदीयमान अर्थ व्यवस्थामा सबैभन्दा बढी आर्थिक वृद्धि हासिल गरेको देशको रूपमा रहेको र पाश्चात्य मुलुकहरूको तुलनामा त्यहाँको मुद्रस्फीतिलाई कम नै मान्नुपर्ने हुन्छ ।

कोभिडपछि नेपालको पर्यटन उद्योग पुनरुत्थानतिर लागेको र नेपालले भित्र्याउने रेमिट्यान्स पठाउने देशहरूको अर्थव्यवस्था पनि बलियो अवस्थामा रहेका कारण नेपाल त्यति धेरै चिन्तित हुनुपर्ने अवस्था नरहेको हो । करिब दुई वर्षपछि नेपालको शोधनान्तर स्थिति अनुकूल अवस्थामा आएको छ, जसले गर्दा अरू विकासशील देशहरूको तुलनामा नेपालको मुद्रा त्यति कमजोर नहुने संकेत गर्छ ।

नेपालको वैदेशिक मुद्राको सञ्चिति ९.३५ अर्ब डलर रहेको असोजतिरको राष्ट्र बैंकको हालसालै प्रकाशित तथ्यांकले देखाउँछ । कोभिडको लकडाउन र युक्रेनमाथि रूसको आक्रमणबाट नेपालको अर्थव्यवस्थाको अँध्यारो सुरुङको छेउमा अहिले रेमिट्यान्स प्रवाह, पर्यटन उद्योगको पुनरुत्थान र भुक्तानी सन्तुलनमा देखा परेको सुधारले बत्ती बलेको छ र यो बत्तीलाई उज्यालो बनाउन आउने सरकारले थप मेहनत गर्नुपर्छ ।

(लेखक आन्तरिक राजस्व विभागबाट सेवानिवृत्त निर्देशक हुन् ।)

प्रतिक्रिया दिनुहोस्