मौद्रिक नीतिको समीक्षाले हतोत्साहित बनायो : हान

राष्ट्र बैंकले आइतबार गरेको चालू आर्थिक वर्षको मौद्रिक नीति समीक्षाप्रति होटल संघ नेपाल (हान)ले आपत्ति जनाएको छ । हानले विज्ञप्तिमार्फत पर्यटन व्यवसायीलाई मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले हतोत्साहित बनाएको भन्दै आपत्ति जनाएको छ ।
“आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले पर्यटन व्यवसायीलाई थप हतोत्साहित बनाएको छ” हानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कोरोनाले थला परेको पर्यटन तथा होटल व्यवसायी बैंकको सावाँ ब्याज भुक्तानीका लागि चरम ताकेता र उच्च ब्याजदरबाट देशैभर आन्दोलित रहेको अवस्थामा यस समीक्षाबाट केही सहज गर्ने गराइने आश्वासन प्राप्त भएपनि होटल व्यवसायीको न्यूनतम मागहरु समेत पूरा हुन नसकेको प्रति होटल संघ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।”
हानले सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र सम्बन्धित सरोकारवालासँग मौद्रिक तथा अन्य नीतिमार्फत होटल उद्योगको पुनरुत्थानमा सहयोग पुग्ने गरी नीतिगत व्यवस्था गरिदिनका लागि ताकेता गरेको र यस प्रकारका प्रयत्न जारी राखेको जनाएको छ ।
विशेषतः होटल उद्योगले बैंकहरुलाई तिर्नु बुझाउनुपर्ने सावाँ र ब्याज कोरोना कालमा शून्यको अवस्थामा झरेको कारोबारका कारण समयसीमाभित्र बुझाउन नसक्दा त्यसको समयावधि बढाउने सम्बन्धमा सहजीकरण गरिदिन, अत्यधिक वृद्धि भएको ब्याजदर घटाई होटल सञ्चालन गर्नका लागि पुनर्तालिकीकरण तथा पुनर्कर्जा व्यवस्थापनमा व्यावहारिक र सहज स्पष्टतासहितको व्यवस्था गर्न हानले आग्रह गरेको थियो । तर समीक्षाले कुनै पनि किसिमको सम्बोधन नगरेको हानको भनाइ छ । यसले होटल व्यवसायमा प्रत्यक्ष नकारात्मक प्रभाव परेको उसले बताएको छ ।
मुलकको आर्थिक वृद्धिमा होटल तथा पर्यटन उद्योगको योगदानलाई गणितीय तथ्यांकका रुपमा मात्रै विश्लेषण गरी यस उद्योगमार्फत भएको रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जनको मुख्य स्रोत, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र बहुआयामिक विकासका पक्षलाई नजरअन्दाज नगरी होटल व्यवसाय संरक्षणका लागि मौद्रिक तथा वित्तीय नीतिमा लचकता अपनाउन हानले जोड दिएको छ।