मौद्रिक नीतिको समीक्षाले सबै क्षेत्र समेटेको दाबी

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले माग सम्बोधन गर्न नसकेको भन्दै निजी क्षेत्र असन्तुष्ट बनेका बेला राष्ट्र बैंकले भने त्यसको बचाउ गरेको छ । केन्द्रीय बैंकले सबै क्षेत्रलाई समेटेर मौद्रिक नीतिका त्रैमासिक समीक्षा गरिएको जनाएको छ ।
राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा व्यवसायी जगत र बैंक तथा वित्तीय क्षेत्रका सुझाव अनुसार नै तर्जुमा गरिएको बताए । उनले वर्तमान मुलुकको अर्थतन्त्र परेको दबाब तथा व्यावसायिक वातावरण सहजता बनाउने गरी मौद्रिक नीतिमा नीतिगत व्यवस्था गरी सबैको सुझावलाई सम्बोधन गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको दाबी गरे ।
प्रवक्ता भट्टले मुलुकको वर्तमान समग्र आर्थिक स्थितिमा दबाब रहेकाले त्यही अनुरुप मौद्रिक नीतिको समीक्षा आएको स्पष्ट पारे । उनले अर्थतन्त्र दबाब हुँदाहुँदै पनि आन्तरिक आर्थिक क्रियाकलाप सहज बनाउन आवश्यक रहेको बताए । प्रवक्ता भट्टले पछिल्लो असोज महिनाको अर्थतन्त्रको तथ्याङ्क अनुसार बाह्य दबाबमा सहजता देखिए पनि अन्य विषयहरुमा अझै अफ्ठ्यारो अवस्था रहेको दाबी गरे ।
उनले राष्ट्र बैंकले पछिल्लो एक वर्षदेखि विनिमय सञ्चिति, व्यापार घाटाको अवस्था बारेमा सुक्ष्म अध्ययन गरीरहेको भन्दै अर्थतन्त्रमा भोलिको दिनमा आउनसक्ने अफ्ठ्यारो अवस्थालाई केन्द्रमा राखेर मौद्रिक नीतिको समीक्षा गरिएको तर्क गरे । केन्द्रीय बैंकले लिएका नीतिगत व्यवस्थाहरुले अर्थतन्त्र लयमा आएको भन्ने विषयलाई मौद्रिक नीतिको समीक्षाले आत्मासाथ गरेको उनको भनाइ छ ।
उनले “अन्तर्राष्ट्रिय परिस्थिति अझै अनिश्चित रहेकाले भोलिका दिनमा अर्थतन्त्रमा समस्या आउनसक्ने विषयलाई राष्ट्र बैंकले महशुस गरेर हामी त्यही अनुरुप नीतिगत व्यवस्था गर्दै छौं” उनले भने । प्रवक्ता भट्टले व्यवसायिक र औद्योगिक वातावरण तथा सर्वसाधरणमा ब्याजदरको विषय उत्पन्न भएको संशयलाई सम्बोधनका विषयलाई मौद्रिक नीतिको समीक्षामा सम्बोधन गरिएको बताए ।
उनले मौद्रिक नीतिमा वाणिज्य बैंकहरुको स्पेडदर ४.४ प्रतिशत मात्रै हुनुपर्छ भन्ने व्यवस्थालाई अब ४ प्रतिशतमा सिमित राख्नुपर्छ भनेर बाटो खुला गरेको तर्क गरे । भट्टले विकास बैंक र वित्त कम्पनीहरुले ५ प्रतिशतको स्पेडदरलाई ४.६ प्रतिशतमा कायम गर्ने नीतिगत व्यवस्था गर्नु व्यवसायिक वातावरणलाई सहज बनाउन लागि महत्वपूर्ण कदम भएको जिकिर गरे ।
उनले मौद्रिक नीतिको समीक्षामा बैंकले जारी गरेको चालु पुँजी मार्ग दर्शन कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने संकेत गरेको बताए । प्रवक्ता भट्टले बैंकहरुको ब्याजदरमा स्थायीत्व ल्याएर सन्तुलन कायम गर्नु र अर्थतन्त्रको मौलिक विशेषता र वित्तीय क्षेत्रको अवस्थालाई ध्यानमा राखेर मौद्रिक नीतिको समीक्षा आएको दाबी गरे ।
बजारमा चरम तरलता अभावको कारण बजार ब्याजदर उच्च भएको भन्दै उनले त्यसलाई सहजता बनाउने माध्यम विदेशी विनिमय सञ्चिति भएको दाबी गरे । उनले बाह्य क्षेत्रमा सुधार भएर शोधानान्तर स्थिति सहज हुने बित्तिकै तरलता सहज हुने बताए । तरलता सहज भएमा ब्याजदर पनि बिस्तारै घट्दै जाने भन्दै उनले बैंकको ब्याजदर बजारले नै निर्धारण गर्नुपर्छ भन्ने विषयमा राष्ट्र बैंक सहमत रहेको जानकारी दिए ।
मौद्रिक नीतिको समीक्षाले बैंकको नाफा घटाउने काम भन्दा पनि बैंक तथा वित्तीय क्षेत्रको वित्तीय अवस्था बलियो हुनुपर्छ भन्ने विषयमा राष्ट्र बैंक दृढ रहेको भट्टको भनाइ छ । राष्ट्र बैंकले जारी गरेको चालुपुँजी कर्जा मार्ग दर्शन कार्यान्वयनमा गएको भन्दै भट्टले मार्ग दर्शनमा देखिका समस्या समाधान गर्न राष्ट्र बैंक तयार रहेको सन्देश मौद्रिक नीतिको समीक्षाले दिएको दाबी गरे । उनले वाणिज्य बैंक तथा अन्य वित्तीय संस्थाहरुलाई अहिलेको परिस्थितिमा परेको समस्यालाई मौद्रिक नीतिको समीक्षाले सम्बोधन गर्ने विषय उल्लेख भएको पनि बताए ।