इन्भेष्टमेण्ट र मेगा बैंक मर्जरको अन्तिम सम्झौता

नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल एकआपसमा गाभिने भएका छन् । गाभिने सम्बन्धी अन्तिम सम्झौता मंगलबार भएको हो । दुवै बैंकका सञ्चालक समितिको बैठकले एक आपसमा गाभिने अन्तिम सम्झौता स्वीकृत गरी हस्तान्तरण गरेका हुन् । दुवै बैंकका सञ्चालकले स्वीकृत गरी हस्तान्तरण गरेसँगै दुई बैंक मर्जरको बाटो टुंगो लागेको हो ।
नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकलाई आगामी पुस २२ गतेसम्म एकआपसमा गाभिनका लागि समयसीमा तोकेको छ । राष्ट्र बैंकले तोकिदिएको समयभित्र नै गाभिइ एकीकृत कारोबार गर्ने तयारीमा रहेको मर्जर कमिटी सदस्यसमेत रहेका मेगा बैंकका सञ्चालक गोपाल खनालले जानकारी दिए ।
नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकबीच गत जेठ २७ गते मर्जरको सम्झौता भएको थियो । दुई बैंकबीच १००ः९० को स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो । इन्भेष्टमेण्ट बैंकको एक कित्ता सेयरबराबर मेगा बैंकको ०.९० कित्ता हुने सहमति दुई बैंकबीच भएको छ । हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पुँजी १८.३१ अर्ब र मेगा बैंकको १६.१२ अर्ब छ ।
दुवै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी ३४.४३ अर्ब हुनेछ । मर्जरपछि बन्ने संस्थाको अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे बन्ने सहमति भएको छ । संस्थाको नाम नेपाल इन्भेष्टमेण्ट मेगा बैंक रहनेछ ।