Logo

हेराल्ड कलेजद्वारा स्नातक तह पूरा गरेका विद्यार्थीलाई दीक्षान्तको प्रमाणपत्र प्रदान

हेराल्ड कलेज काठमाडौंको दीक्षान्त समारोह-२०२२ सम्पन्न भएको छ । दीक्षान्त समारोहमा स्नातक (ग्रयाजुएट) तह पूरा गरेका ३ सय ९६ जना विद्यार्थीलाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसमध्ये ३६१ जना विद्यार्थी बिएस्सी (अनर्स) कम्प्युटर साइन्स र ३५ जना विद्यार्थी बिएस्सी (अनर्स) इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट विषयका रहेका छन् ।

ती विद्यार्थीलाई बेलायतस्थित उल्भरहेम्टन विश्वविद्यालयका सह उपकुलपति (प्रो भाइस चान्सलर) टिम स्टिलले दीक्षान्तको प्रमाणपत्र प्रदान गरे । विद्यार्थीको उज्ज्वल भविष्यको लागि महत्वपूर्ण यस कार्यक्रममा विद्यार्थीका अभिभावक, शिक्षक लगायतको उपस्थिति रहेको थियो । दीक्षान्त समारोह सबै विद्यार्थीका लागि माइलस्टोन साबित भएको छ । वार्षिक कार्यक्रम अनुसार दीक्षान्त समारोह आयोजना गरेको कलेजले जनाएको छ ।

सो कलेजबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई इनोभेट नेपाल ग्रुपले छात्रवृति उपलब्ध गराएको छ । त्यसैगरी हेराल्ड कलेजमा अन्तराष्ट्रिय एमबिए अध्ययन गर्न समेत छात्रवृतिको व्यवस्था गरेको छ । दीक्षान्त समारोहमा बोल्दै कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश श्रेष्ठले नेपालमा उत्कृष्ठ र गुणस्तरीय शिक्षा प्रदान गर्न सफल हेराल्ड कलेज काठमाडौंले यस कलेजमा अध्ययन गर्ने विद्यार्थीले भविष्यमा सजिलै रोजगारी हासिल गर्न सक्ने बताए । उनले दीक्षित सबै विद्यार्थीको उज्ज्वल भविष्यको शुभकामना दिए ।

कार्यक्रमका प्रमुख अतिथि विश्वविद्यालयका प्रो भाइस चान्सलर टिम स्टिलले नेपालमा उत्कृष्ट शिक्षा लिन सफल हेराल्ड कलेज काठमाडौंका सम्पूर्ण टिमलाई धन्यवाद दिए । ‘म यो गौरब गर्न चाहन्छु कि विश्वविद्यालयको सोच अनुसार कलेजले शिक्षा दिन सकेको छ, दीक्षित विद्यार्थीलाई प्रमाणपत्र दिन पाएकोमा खुसी लागेको छ–प्रो भाइस चान्सलर टिमले भने । दीक्षित हुने विद्यार्थीलाई बधाई दिँदै उनले भविष्यमा देशको लागि उल्लेखनीय काम गर्न हौसला दिए ।

विदेशका कुनैपनि कलेजलाई सम्बन्धन दिँदा कलेजको बारेमा अध्ययन गरेर मात्र दिने उनको भनाइ थियो । हेराल्ड कलेज काठमाडौंलाई दिएको सम्बन्धन र यहाँको शिक्षाले नेपालको शिक्षा क्षेत्रमा ठूलो योगदान पुगेको उनको भनाइ छ । यस विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेजबाट उत्तीर्ण विद्यार्थी मध्ये ९६ प्रतिशतले रोजगारी हासिल गरेका छन्, यो कलेज यसैको उहाहरण हो उनको भनाइ थियो ।

यस्तै आइएनजीले सञ्चालन गरेको हेराल्ड कलेज काठमाडौंको बारेमा जानकारी दिँदै ग्रुपका अध्यक्ष शुलभ बुढाथोकीले यहाँ अध्ययनरत विद्यार्थीले नेपालको सरकारी निकाय, उत्कृष्ट व्यापारिक प्रतिष्ठानहरुमा रोजगार पाइरहेको बताए । उनले बेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट रहेको दाबी गर्दै यहाँ पढ्ने विद्यार्थीहरु सूचना प्रविधि क्षेत्रमा अग्र स्थानमा रहेको धारणा राखे । अध्यक्ष बुढाथाकीले नेपालमा बेलायती शिक्षाले गर्दा विद्यार्र्थीमा स्वअध्ययन बढेको धारणा समेत व्यक्त गरे ।

हेराल्ड कलेज काठमाडौंले चारवर्षे ब्याचलर अफ इन्टरनेशल विजनेश म्यानेजमेन्ट, तीनवर्षे बिएससी (अनर्स) कम्प्युटर साइन्स र दुईवर्षे अन्तराष्ट्रिय एमबिए कक्षा सञ्चालन गरिरहेको छ । सन् २०१६ को सेप्टेम्बरबाट कक्षा सुरु गरेको हेराल्ड कलेज काठमाडौं नेपालमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज मध्ये उत्कृष्ट मानिन्छ । उल्भरहेम्टन विश्वविद्यालयले विराटनगर इन्टरनेशनल कलेजलाई समेत सम्बन्धन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्