Logo

वार्षिक १८ लाख दिने सम्झौता

आहा रारा पोखरा गोल्डकपलाई हिमश्रीले थप १० वर्ष साथ दिने

पोखराको घराना समूहको हिमश्री फुड्स प्रा.लि.ले आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगितालाई सफल बनाउन फेरि १० वर्ष साथ दिने भएको छ । पोखराको सहारा क्लबले आयोजना गर्दै आएको उक्त प्रतियोगितालाई भव्य र सभ्य रुपमा सञ्चालन गर्न आहा रारा चाउचाउको उत्पादन हिमश्री फुड्सले आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगितालाई आगामी १० वर्षको लागि तेश्रो पटक साथ दिने भएको हो ।

क्लबका अध्यक्ष हरिराम गुरुब (सुरज) र हिमश्री फुड्स प्रा.लि.का अध्यक्ष प्रेमकुमारी केसीबीच मंगलबार पोखरामा आयोजित एक समारोहका बीच सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। सहारा क्लबलाई मुख्य प्रायोजक हिमश्री फुड्स प्रा.लि.ले वार्षिक रुपमा आगामी पहिलो ३ वर्ष १८ लाख, दोश्रो ३ वर्ष २१ लाख, तेश्रो ३ वर्ष २४ लाख र २०८८ सालमा २७ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको क्लबले जनाएको छ ।

हिमश्री फ्ड्सले यसअघि दुई पटकसम्म उक्त प्रतियोगितालाई १०/१० वर्ष मुख्य प्रायोजकको रुपमा सहयोग गर्दै आएको छ । समाजसेवी उधोगपति एवं पूर्वसांसद सुर्यबहादुर केसीको विशेष पहलमा २०५९ सालमा आहा गोल्ड कपबाट १० वर्ष सम्झौता भएको थियो भने २०६९ देखि २०७८ को लागि दोश्रो पटक आहा रारा गोल्ड कप नामकरण गरी १० वर्ष करार सम्झौता भएको थियो ।

यस वर्षको २२औं आहा रारा पोखरा गोल्ड कप पुष १२ देखि २३ गतेसम्म पोखरा रंगशालामा हुने भएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए । उक्त प्रतियोगिताबाट बचत हुने रकम सहारा एकेडेमीमा रहेका बालकहरुको भरणपोषणामा खर्चिदै आएको क्लबका वरिष्ठ उपाध्यक्ष केशवराज बरालले बताए । हिमश्री फुड्स प्रा.लि.का निर्देशक किरण केसीले आफ्ना बाबु सुर्यबहादुर केसीको सपना अनुसार खेलकुद, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानीलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा राखेप सदस्य राजेशकुमार गुरुबले क्लबले सामाजिक कार्यमा बचत रकम खर्चिने भएकोले उक्त प्रतियोगिता सञ्चालन गर्दा पोखरा रंगशाला न्यूनतम सरसफाई शुल्क बाहेक अन्य शुल्क लिन नमिल्ने बताए । क्लबका अध्यक्ष हरिराम गुरुबको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषदका निवर्तमान सदस्य सचिव तेजबहादुर गुरुब, पत्रकार महासंघका पूर्वसदस्य रामकृष्ण ज्ञवाली लगायतले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्