२७औं कोप नेपालका लागि फलदायी

‘कार्यान्वयनका लागि सँगसँगै’ भन्ने नाराका साथ इजिप्ट स्थित शर्म अल–शेखमा गत साता मात्रै सम्पन्न संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २७औं सम्मेलन (२७औं कोप) नेपालका लागि फलदायी रहेको सरोकारवालाको तर्क छ । वन तथा वातावरण मन्त्रालयले सोमबार राजधानीमा आयोजना गरेको कोपको समीक्षा र आगामी बाटो विषयक कार्यक्रममा बोल्दै सरोकारवालाले फलदायी नै रहेको टिप्पणी गरेका हुन् ।
जलवायु वित्तीय दायित्व बढाउन धनी मुलुकहरू तयार हुनु, अनुकुलन कोष दोब्बर बनाउने निर्णय हुनु, जलवायुको छुट्टै वित्तीय व्यवस्थापन हुनुलगायतका निर्णयले नेपालका जलवायुका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन हुने उनीहरूको तर्क छ । सरकारले कोपमा भएका सम्झौता कार्यान्वयन गराउन आगामी दिनमा पनि दबाब सिर्जना गर्ने र अन्तर्राष्ट्रिय मुद्दालाई स्थानीकरण गर्दै अगाडि बढाउने विषयमा जोड दिएको छ ।
कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले २७औं कोप विश्वव्यापी रूपमा नै सफल भएको प्रतिक्रिया दिएका छन् । “जलवायु व्यवस्थापनमा नेपालले खेलेको भूमिका प्रशंसनीय र उदाहरणीय छ, यसमा हामी गर्व गर्नुपर्छ र नेपालले जलवायु न्यूनीकरणमा देखाएको अग्रताको अन्तर्राष्ट्रियस्तरमा पनि प्रशंसा बुटुलेको छ, अझै हामी जलवायु नीतिका प्रभावकारी कार्यान्वयनमा लाग्नुपर्छ,” उनले थपे, “आगामी वर्ष हुने २८औं कोपमा अहिले कोपमा समाहित हुन छुटेको पर्वतीय क्षेत्रको मुद्दालाई मुख्य प्राथमिकताका साथ अगाडि बढाउन पहल थालिनुपर्छ ।”
योजना आयोग सदस्य सलोनि सिंह प्रधानले पनि आगामी कोपमा अझै नेपालको तयारी राम्रो बनाउन सुुझाव दिएकी छिन् । “कोपमा नेपालका प्रतिनिधिले खेल्नुुभएको भूमिका प्रशंसनीय छ, तयारी राम्रो देखियो,” उनले भनिन्, “आगामी कोपमा अझै यसलाई राम्रो गर्नका लागि आजैबाट तयारी थाल्न आवश्यक छ ।”
योजना आयोगका सचिव केबल भण्डारीले जलवायुको योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न समन्वयको जरुरी रहेको र आगामी कोपको तयारी पहिल्यैदेखि हुनुुपर्ने सुुझाव दिएका छन् । “जलवायुका एजेन्डा उठानमा नेपालले गरेको प्रयास राम्रो छ, अझै यसलाई राम्रो बनाउन आगामी २८औं कोपको तयारी पहिल्यैदेखि थाल्नुपर्ने हुन्छ,” उनले भने । वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा. बुद्धिसागर पौडेलले नेपालबाट उपस्थित प्रतिनिधिले प्रभावकारी भूमिका निभाएकाले कोपका उपलब्धि सकारात्मक रहेको बताए ।
“हामीले उठाएका अधिकांश एजेन्डा कोपका निर्णयमा सम्बोधन भएका छन्, जलवायुजन्य हानि नोक्सानीका लागि छुट्टै वित्तीय संयन्त्र निर्माण गर्नु नै हाम्रो लागि निकै राम्रो हो,” उनले भने, “अहिले छुटेका एजेन्डालाई आगामी कोपमा सहमाहित गराउनका लागि कोसिस गर्ने छौ ।”