ठूलो क्षमताको प्रसारण सञ्जाल बनाउँदै

नेपाल विद्युत प्राधिकरणले देशभित्र उत्पादित विद्युत आन्तरिक रूपमै खपत बढाउन मधेश प्रदेशका जिल्लामा करिब ४ हजार मेगावाट विद्युत खपत गर्नसक्ने गरी प्रसारण सञ्जाल बनाउने भएको छ । प्राधिकरणले सन् २०५० भित्रमा मधेश प्रदेशका बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषालगायतका जिल्लाका दक्षिणी भेगमा हुने मानवबस्ती र आद्योगिक क्षेत्र विस्तारलाई ध्यान दिएर उच्च क्षमताको प्रसारण लाइन करिडोर निर्माण गर्न लागेको हो ।
भारतसँगको दक्षिणी सीमास्थित हुलाकी राजमार्गको समानान्तर ४०० केभीको चार सर्किट प्रसारणलाइन र सबस्टेसनहरू निर्माण गरिने छन् । चार सर्किटमध्ये प्रारम्भिक चरणमा माथिल्लो दुई सर्किट ४०० केभी र तल्लो दुई सर्किट १३२ केभीमा सञ्चालन ल्याउने गरी प्रसारणलाइन करिडोरको निर्माण गरिने छ । स्थानीय रूपमा विद्युत आपूर्तिका लागि ठाउँ–ठाउँमा सबस्टेसनहरूको निर्माण गरिने छ । अहिले प्रस्तावित प्रसारण लाइनको रुट र सबस्टेसनहरू रहने स्थान तय गर्ने काम भइरहेको छ ।
बारा–पर्सा औद्योगिक करिडोरअन्तर्गत वीरगन्ज क्षेत्रमा करिब ३२ सय र जनकपुर क्षेत्रमा आठ सय मेगावाट विद्युत खपत गर्ने गरी प्रसारण सञ्जाल पूर्वाधार निर्माण गरिने छन् । यसबाट सहर र औद्योगिक क्षेत्र विस्तारको प्रचुर सम्भावना रहेको मधेश प्रदेशका जिल्लाहरूमा पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति हुने छ । प्रसारण लाइन तथा सबस्टेसनहरू निर्माणका लागि ५० अर्ब रुपैयाँभन्दा बढी लाग्ने छ । यो रकम नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी, भारतीय एक्जिम बैंक, एसियाली विकास बैंकलगायतको सहुलितपूर्ण ऋणबाट जुटाइने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, परामर्शदातालगायत सम्मिलित उच्चस्तरीय टोलीले शनिबार र आइतबार प्रस्तावित लाइन निर्माणस्थलको स्थलगत अनुगमन भ्रमण गरी ४०० र १३२ केभी प्रसारणलाइन तथा सबस्टेसन निर्माणका लागि सम्भावित ठाउँ, विद्युत माग तथा खपतको अवस्थालगायतका विषयमा जानकारी लिएको छ । कार्यकारी निर्देशक घिसिङले आन्तरिक रूपमा खपत बढाउन र देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतर्फ निर्यातका लागि दक्षिण करिडोर प्रसारणलाइन चरणबद्ध रूपमा निर्माण गर्न लागिएको बताए ।
“पहिलो फेजमा खपत वृद्धिका लागि तत्काल आवश्यक पर्ने प्रसारणलाइन र सबस्टेसनहरू, दोस्रो फेजमा दक्षिण करिडोर मुख्य लाइन र तेस्रो चरणमा अन्तरदेशीय विद्युत व्यापारका लागि क्रसबोर्डर प्रसारणलाइन निर्माण गरिने छन्,” घिसिङले भने । “केही प्रसारणलाइन तथा सबस्टेसनहरू निर्माण भइरहेका छन्, केही तत्काल सुरु हुँदैछन् भने अन्य दीर्घकालीन रूपमा निर्माण गर्ने गरी सबस्टेसनका लागि जग्गा लिने, प्रसारण लाइनको रुट तय गर्ने, वातावरणीय अध्ययनका लागि प्रक्रिया सुरु गर्नेलगायतका काम भइरहेका छन् ।”
उनले भारततको मोतिहारी, सीतामणि, जयनगर विन्दुतर्फ विद्युत निर्यात गर्न सकिने बताए । बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने उद्योगहरूलाई लक्षित गरी पर्साको पोखरिया र बाराको निजगढमा ४०० केभीको सबस्टेसन निर्माणका लागि प्रक्रिया अगाडि बढाइसकेको छ । त्यही ४०० केभी लाइनलाई हुलाकी राजमार्गको समानान्तर रूपमा जनकपुरतिर विस्तार गरिने छ । बाराका प्रसौनीमा १३२ केभी सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण गरिएको छ ।
जनकपुर क्षेत्रको विद्युत आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन धनुषाको ढल्केबरबाट महोत्तरीको लोहरपट्टीसम्मका १३२ केभी सबस्टेसनको निर्माण भइरहेको छ । यसैगरी ढल्केबर–बालगंगा १३२ केभी प्रसारणलाइन पनि निर्माणाधीन छ ।