मेलम्ची खानेपानी आपूर्ति स्थायी गर «

मेलम्ची खानेपानी आपूर्ति स्थायी गर

राजधानी काठमाडौंका बासिन्दालाई खानेपानी खुवाउने लक्ष्य राखेर निर्माण गरिएको मेलम्ची खानेपानी आयोजनाबाट वर्षैभरि पानी आपूर्ति हुने/नहुनेमा आशंका बढेको छ । काकाकुल राजधानीलाई पानी खुवाउने सपना बाँड्न थालेको दुई दशकभन्दा धैरै समय लगाएर २०७७ चैतमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा आउन सुरु भएको थियो ।

तर, पानी आपूर्ति सुरु भएको तीन महिना नपुग्दै आएको प्राकृतिक विपत्तिले आयोजनालाई फेरि अनिश्चित बनाएको छ । २०७८ असार १ मा मेलम्ची नदीको जलाधार क्षेत्रमा आएको भीषण बाढी र पहिरोले आयोजनाको मुहानमा बालुवासहितको गेग्रान थुपारेपछि तत्कालै पानी आपूर्ति रोकिएको थियो । त्यसपछि बर्सातको मौसममा नदीमा बालुवासहितको लेदो आउन रोकिएको छैन । यो समस्याले बर्खाभरि पानी ल्याउन नसकिने र हिउँदमा मात्र ल्याउन मिल्ने भएपछि बाह्रै महिना आयोजनाबाट पानी आपूर्तिमा समस्या आएको छ ।

२०७८ को बाढीपहिरोले मुहानमा थुपारेको गेग्रानलाई हटाएर आयोजनाले २०७९ वैशाख ११ देखि काठमाडौंमा फेरि पानी वितरण गरेको थियो । तर, जेठ दोस्रो साता फेरि मेलम्चीमा बाढी आउने भनेर रोकिएको पानीको आपूर्ति यो वर्ष अझै सुरु भएको छैन । आयोजनाले आगामी दुई साताभित्र पानी ल्याउने गरी काम गरिरहेको जानकारी दिएको छ । मेलम्चीमा बर्सातमा आएको गेग्रान हटाउन सरकारले प्रत्येक वर्ष लगानी गर्नुपरेको अवस्था छ । यो वर्षमात्र ५ करोड रुपैयाँ खर्चेर पानी ल्याउन लागिएको हो ।

आयोजना एसियाली विकास बैंकसँगको साझेदारीमा बनेको हो । यसमा हालसम्म खर्च भएको ५१ अर्ब रुपैयाँमध्ये आयोजनाको सुरुङमार्ग, हेड वक्र्सलगायत पूर्वाधार निर्माणमा ३० अर्ब रुपैयाँ लगानी भएको छ भने २१ अर्ब रुपैयाँ सुन्दरीजलबाट काठमाडौं उपत्यकामा खानेपानी वितरण प्रणालीका संरचना निर्माणका लागि खर्च भएको छ । आयोजनाअन्तर्गत २७.५८ किलोमिटर सुरुङ निर्माण गरी पानी ल्याएको छ ।

सरकारले विगतमा यो आयोजना निर्माणलाई उच्च प्राथमिकता दिए पनि आयोजना पूरा हुन १३ वर्षभन्दा बढी समय लागेको छ । स्थानीय बासिन्दा र निर्माण कम्पनीहरूको पटक–पटकको अवरोध छिचोल्दै ५१ अर्ब रुपैयाँ लगानी गरेर आयोजना बनेको हो । तर, आयोजनाबाट पानी आपूर्ति गर्न सुरु गरेको तीन महिना नहुँदै यसका लागि प्रकृतिसमेत बाधक बनेको छ । अर्बौं रुपैयाँ खर्च गरेर बनाएको आयोजना कतै सधैंका लागि अस्थायी बन्ने त होइन भन्ने आशंका सबैतिर छ ।

अहिले वर्षायाममा मुहान बन्द गर्ने र हिउँदमा सफा गरेर पानी आपूर्ति गर्ने काम हुँदै आएको छ । आधा खर्बभन्दा धेरै लगानी भएको यो आयोजनालाई पूर्ण रूपमा सञ्चालन गर्नेतर्फ सरकारको ध्यान गएको देखिँदैन । अहिलेसम्म यसतर्फ के गर्ने भनेर अनुसन्धान वा अन्य तयारी सुरु गरिएको छैन । अहिलेसम्म मुलुकमा बनाइने अधिकांश पूर्वाधारका संरचना भौगोलिक अवस्थाको अनुसन्धानबिना बनिरहेका छन् ।

खोला वा नदीमा पुल बनाउँदा होस् वा सडक पूर्वाधार बनाउँदा भौगोलिक बनावटको अध्ययन गर्ने प्रचलन निकै कम छ । यही कारण आयोजना बनाउने क्रममा सामान्यदेखि ठूला समस्या देखिने गरेका छन् । निर्माणका क्रममा समस्या देखिएपछि मात्र थप अध्ययन गर्ने र आयोजनाको डिजाइन परिवर्तन गर्ने परम्परा छ । मुलुकभरका नदीहरूमा लथालिङ्ग अवस्थामा पुल देखिनुमा निर्माण कम्पनीको ढिलासुस्ती मात्र कारण होइन, भौगोलिक अध्ययनबिना गरिएको डिजाइनको त्रुटि पनि प्रमुख कारण हो ।

नदी वा खोलामा निर्माण गरिने पुलमा पिल्लर राख्ने स्थानको समेत परीक्षण नगरी डिजाइन तयार गरिन्छ । सरकारी कर्मचारीहरू कतिसम्म गैरजिम्मेवार छन् भन्ने सबैभन्दा गतिलो उदाहरण सिक्टा सिँचाइ आयोजना हो । यो आयोजनाअन्तर्गत नहर बनाउने स्थानमा घुलनशील माटो रहेको र यसले निर्माण कमजोर हुने थाहा हुँदाहुँदै पनि नहर निर्माण गरिएको थियो । यही कारण विभिन्न भागमा नहर भत्किँदा राज्यले करोडौं रुपैयाँ थप दायित्व बेहोर्नुपरेको थियो ।

मेलम्ची नदीको जलाधार क्षेत्रको भौगोलिक अवस्थाबारे अध्ययन गर्न पक्कै पनि सजिलो छैन । नदीको जलाधार क्षेत्र धेरै लामो र जान पनि कठिन हुने अवस्थामा छ । तर, अहिले समस्या आएपछि समस्याको दीर्घकालीन उपाय भने खोजी हुनुपर्छ । तत्काल सरकार त्यसतर्फ केन्द्रित हुनुपर्छ । अर्बौं रुपैयाँ खर्च भएको आयोजनालाई अस्थायी बनाउन खोज्नु सामान्य विषय होइन । केही अर्ब अझै थप खर्चेर भए पनि यसलाई बाह्रै महिना पानी आपूर्ति गर्ने आयोजनाका रूपमा निर्माण गर्नुपर्छ ।

राजधानी काकाकुल भएको धेरै वर्ष भइसकेको छ । अहिले जमिनमुनिको पानी तानेर उपत्यकावासीले गर्जो टारेको अवस्था छ । बर्सातको पानी रिचार्ज हुने क्रममा कमी आएकाले जमिनमुनिको पानीको सतह पनि प्रत्येक वर्ष कम हुँदै गएको छ । राजधानीका लागि मेलम्चीबाहेक अर्को स्थानबाट पानी आपूर्तिको अर्को विकल्प देखिँदैन । यस्तोमा मेलम्ची आयोजनालाई जसरी भए पनि अस्थायी बन्नबाट रोक्नुपर्छ । मेलम्ची आयोजनामार्फत नै अन्य दुई खोलाबाट पानी ल्याउने भनिएको थियो । त्यसको निर्माण पनि तत्काल सुरु गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्