Logo

सबैको चुनावी एजेन्डा, निर्माणमा बेवास्ता

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको महत्वाकांक्षी योजनाका रूपमा अघि सारिएको ‘वीरेन्द्रनगर चक्रपथ’ निर्माण सुरु भएको १७ वर्ष बित्दा पनि अन्योलमा परेको छ । वीरेन्द्रनगर उपत्यकालाई भित्र पारेर एउटै सडकले जोड्ने उद्देश्यले सुरु गरिएको चक्रपथ नेतृत्व तहको बेवास्ताका कारण अलपत्र परेको हो ।

चक्रपथको निर्माण २०६२ बाट थालिएको थियो । २०६४ यताका हरेक निर्वाचनमा यहाँका हरेक उम्मेदवारको एजेन्डामा चक्रपथ पर्ने गरेको छ । २०७० सालको संविधानसभाको दोस्रो निर्वाचन, २०७४ र यस पटकको स्थानीय र संसदीय दुवै निर्वाचनमा उठेका उम्मेदवारले प्राथमिकताका साथ चक्रपथको योजना आफ्नो प्रतिबद्धतापत्रमा समावेश गरेका थिए । तर, आयोजना निर्माणले भने गति लिन सकेको छैन ।

अहिले वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी बनेको छ । प्रदेश राजधानी बनेपछि बढ्दो जनसंख्या र सवारी चापले चक्रथको आवश्यकता झन् बढेको छ । तर निर्माणले भने गति लिन सकेको छैन । उपत्यकाको प्रवेश विन्दु सुब्बाकुनाबाट दक्षिण पूर्वी क्षेत्रबाट सुरु भएर वडा नं. ११ को चौखेढुंगा, १० को मनिकापुर नयाँ घुस्रा वडा नं. ९ को अलायचौर हुँदै वडा नं. २ को ठौरी क्षेत्र हुँदै वडा नं. १ को बाङ्गेसिमल वडा नं. ४ को जिरो ड्याम, वडा नं. ७, १२ हुँदै पुन ११ जोड्ने योजना छ ।

अधिकांश ठाउँमा ट्रयाक खुले पनि पूर्ण रूपमा चक्रथ जोडिएको भने छैन । करिब २९ किलोमिटर लामो सो चक्रपथको हालसम्म २२ किलोमिटरमा मात्रै काम भएको छ । चक्रपथ निर्माणका लागि योजना पनि परेको छ । तर काम भने सन्तोषजनक रुपमा हुन सकेको छैन । १३ करोड लागतमा चार वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी चक्रपथ निर्माणको सम्झौता भएको थियो । उक्त सम्झौताको पहिलो म्याद २५ चैत २०७८ मा सकिसकेको छ । त्यसपछि थपेको म्यादसमेत सकिएर आउँदो असार मसान्तसम्म म्याद थपको प्रक्रियामा रहेको आयोजनाको जिम्मेवारी पाएका सबइन्जिनियर असल ऐडीले जानकारी दिए ।

संघीय सरकारले सुरु गरेको उक्त आयोजना अहिले प्रदेश सरकार मातहतको सडक डिभिजन कार्यालय रुकुम पश्चिम चौरजहारीले हेरिरहेको छ । सम्झौताबमोजिम आयोजनाको काम करिब ६० प्रतिशत सकिए पनि त्यसभन्दा काम अघि बढ्न नसकेको सबइन्जिनियर ऐडीले बताए । आयोजना क्षेत्रमा पर्ने घरजग्गाको मुआब्जा तथा वन क्षेत्रको अतिक्रमणका विषय स्पष्ट नहुँदा आयोजना अघि बढ्न नसकेको ऐडीको भनाइ छ ।

“हामीले विवाद नभएका र काम गर्न सकिने क्षेत्रमा सकिसकेका छौं,” सबइन्जिनियर ऐडीले भने, “एलाइटमेन्टमा पर्ने घर, जग्गा र वन क्षेत्र क्लियर गर्न सकिएको छैन । त्यसैले ठेकेदारले काम गरेन भन्ने अवस्था पनि छैन ।” चक्रपथको सुरुमै सुब्बाकुनामा निजी घर तथा जग्गाको विवाद रहेको तथा वडा नं. १ को बाङ्गेसिमल क्षेत्र वडा नं. २, ४, ७ र १२ मा जंगल पर्ने भएकाले आयोजनाको काम अघि बढ्न नसकेको उनको भनाइ छ ।

स्थानीयले उचित क्षतिपूर्तिको माग गर्दै अवरोध गर्दै आएका छन् । विवाद समाधानका लागि स्थानीय वीरेन्द्रनगर नगरपालिकाले उचित सहयोग नगरेको ऐडीको भनाइ छ । विवाद समाधानका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने भन्दै आयोजना अघि बढाउन अपेक्षा गरेजति सहयोग नपाएको ऐडीले बताए ।

यता वीरेन्द्रनगर नगरपालिकाले भने आयोजनाले आफूहरूसँग आवश्यक समन्वय नगरेको बताएको छ । “विगतमा स्थानीय स्तरबाट हुने कुरा सहमति जुटाउनका लागि नगरपालिका र वडा वडामा सहयोग गरेकै हो,” वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले भने, “पछिल्लो समय काम अघि बढाउने सन्दर्भमा आयोजनाबाट समन्वय नै भएको छैन । केही दिनअघि निर्वाचनका बेला इन्जिनियर आउनुभएको थियो । निर्वाचनपछि बसौंला भनेका छौं ।”

नगरको गौरवको आयोजना भएकाले चक्रपथ निर्माणमा आफूहरूको विशेष चासो रहेको खनालको भनाइ छ । चक्रपथ निर्माण सम्पन्न गर्नका लागि चाँडै नै आयोजनाका प्रतिनिधिसँंग बसेर छलफल गर्ने उपप्रमुख खनालले बताए । आयोजना प्रभावित क्षेत्रमा पर्ने नागरिकले भने आफूहरूलाई उचित क्षतिपूर्ति दिनुपर्ने अडान राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्