आइटिएफ अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता सुरु
नौं देशका ९८ खेलाडी पोखरामा

खेलकुद नगरी पोखरामा ९ देशका ९८ जना खेलाडीहरु प्रतिस्पर्धामा उत्रिएका छन्। सोमबारदेखि पोखरा रंगशालामा सुरु भएको अन्तर्राष्ट्रिय आइटिएफ जुनियर–५ टेनिस प्रतियोगिता (सक्रिट वान) मा सहभागी हुन अमेरिकासहित ९ देशका ९८ जना खेलाडीहरु सहभागी भएका हुन् ।
प्रतियोगिताकै दोश्रो सर्किटमा पनि सक्रिट वानमा सहभागी भए जस्तै खेलाडीको सहभागीता रहने अपेक्षा गरिएको संघ कास्कीका अध्यक्ष लोक गुरुङले बताए । टेनिसले पोखराको खेल पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले दाबी गरे । यस्ता प्रतियोगिताहरुको प्रवर्द्धनमा महानगर तथा प्रदेश सरकारले पनि ध्यान दिनुपर्ने गुरुङको भनाइ थियो ।
दुई सातासम्म चल्ने प्रतियोगितामा १३ देखि १८ वर्षसम्मका महिला तथा पुरुषका एकल र डबल्स इभेण्टमा प्रतिस्पर्धा हुने भएको संघ कास्कीका उपाध्यक्ष नविन चालिसेले बताए । यसैबीच प्रतियोगिताको उद्घाटन खेलमा भारतका बंश नन्दालले नेपालका सक्षम विक्रम शाहलाई ६–१,६–२ को सोझो सेटमा पराजित गरे ।
अर्को खेलमा नेपालका राजबिर प्रधानले भारतका विभु चलाङगुन्डलालाई ७–५ र ६–१ को सेटमा पराजित गरे । पहिलो दिनका अन्य खेलहरुमा भारतका सिद्धान्त सर्माले कोरियाका जिवान पार्कलाई, रसियाका फेडोर सोसेड्कीनले भारतका देवर्शी सेनलाई, नेपालका आर्यन गिरीले भारतका धनुष बर्मालाई, भारतका श्रीनिधि बालाजीले अमेरिकाका समिक्षा अनिमलाई, नेपालका रायन शाहले भारतका दिभिजा मनेनीलाई, श्रीलंकाका भिष्मी ओनेथ्रा शेरासिंगेले भारतका ऋदेशी पाइलाई पराजित गरेका छन् ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा, नेपाल टेनिस संघको सहयोगमा सुरु भएको उक्त प्रतियोगिताको खेलकुद परिषद् गण्डकीका कार्यवहाक सदस्य सचिव घनश्याम पौडेलले प्रतियोगिता निर्देशक अजय विष्टलाई खेल सामग्री हस्तान्तरण गर्दै उद्घाटन गरे ।
उद्घाटन समारोहमा बोल्दै का.वा.सदस्य सचिव पौडेलले पोखरामा टेनिस खेलले छोटो समयमै ठूलो उपलब्धी हाँसिल गरेको बताए । टेनिस संघका पदाधिकारी तथा खेलाडीहरुको उत्साहले नै यस्तो सम्भावना भएको पौडेलको भनाइ थियो । खेल विकासका लागि भौतिक पूर्वाधार महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै प्रदेश सरकारले यसका लागि प्रयाप्त बजेट विनियोजन गर्नुपर्नेमा पौडेलले जोड दिए ।
यस्तै समारोहमा बोल्दै कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँले पोखराले टेनिसमा खेल आयोजनासंगै उत्कृष्ट खेलाडीहरु समेत उत्पादन गरेको भन्दै खुशी व्यक्त गरे । नेपाल टेनिस संघका केन्द्रीय उपाध्यक्ष विनोद कायस्थले पोखरामा टेनिस विकासका लागि धेरै वर्ष पहिला आफूले देखेको सपना साकार हुँदै आएको उल्लेख गरे ।