अनुदान लिन मात्रै उद्योग दर्ता, न उत्पादन न रोजगारी «

अनुदान लिन मात्रै उद्योग दर्ता, न उत्पादन न रोजगारी

उत्कृष्ट उद्यमीलाई सम्मान गर्दै प्रजिअ लगायत अन्य ।

रोजगारी सृजना, उत्पादन वृद्धि, आयात प्रतिस्थापन, आर्थिक समृद्धि र कच्चा पर्दाथको प्रशोधन लगायतका उद्देश्यले उद्योग दर्ता गरिन्छ अर्थात् उद्योग खोलिन्छ । तर जुम्लामा भने अनुदानका लागि मात्रै उद्योग दर्ता गर्ने र नक्कली उद्यमी बन्ने गरेको पाइएको छ । अनुदानका लागि मात्रै उद्योग दर्ता गर्ने र अनुदान सकिएसंगै उद्योगमा ताला लगाई अर्कै अनुदान खोज्ने प्रवृत्ति हाबी भएको छ ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको तथ्यांक अनुसार जुम्लामा हालसम्म ३ हजार ६ सय ६० वटा उद्योग दर्ता छन् । जसमध्ये ६० प्रतिशत उत्पादनमुखी छन् भने ४० प्रतिशत वाणिज्य तर्फ छ । न्यूनतम १० लाखदेखि अधिकतम ५० लाखसम्मको पुँजी लगानी गरेर दर्ता भएका सबै उद्योग अनुदानमुखी मात्रै देखिएका छन् ।

चालु आर्थिक वर्ष २०७९/८० मा २ सय ४० उद्योग दर्ता भएका छन् । जसमध्ये १० उद्योग साझेदारी दर्ता छन् । १ सय २७ उद्योग महिलाको नाममा दर्ता छन् । १० उद्योग दलित महिलाको १ उद्योग दलित पुरुषका नाममा छन् भने १ उद्योग जनजाति महिलाको नाममा दर्ता छ । ९५ वटा उद्योग पुरुषका नाममा दर्ता भएको देखिन्छ ।

समग्रमा हालसम्म दर्ता भएका ३६ सय ६० उद्योग मध्य २ हजार ८ सय उद्योग मात्रै मुस्किलले सञ्चालित छन् । नत रोजगारी सृजना भएको छ । नत उत्पादन वृद्धिनै भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख श्रीकृष्ण देवकोटा भन्छन्, ‘अनुदान पचाउन मात्रै उद्योग दर्ता गर्ने र उद्यमी बन्ने प्रवृत्ति देखियो । यसलाई नियमन गर्ने पक्षमा भएपनि जनशक्ति अभावले अपेक्षित काम हुन सकेको छैन । तर पनि अनुदानमुखी उद्योगलाई निरुत्साहित र उत्पादनमुखी उद्योगलाई प्रोत्साहित गर्ने अभियानमा छौं ।’

यता उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरिचन्द्र देवकोटा जुम्लाका उद्यमीहरु अझै व्यावसायी बन्न नसकेको बताउँछन् । राज्यको लगानी पचाउने दाउमा मात्रै लाग्नु समग्र मुलुककै लागि घातक हो । उनले भने, ‘उत्पादनमुखी उद्योगलाई त्यो पनि उत्पादनका आधारमा मात्रै अनुदान दिने नीति जरुरी छ । भने अनुदान लिएका उद्योगको सुक्ष्म नियमन तथा निरीक्षणमा जोड दिनुपर्छ ।’ उनले भने, ‘थुप्रै उद्योग दर्ता छन्, सञ्चालन मा छैनन् । उद्योग दर्ता हुनु ठूलो होइन ।’ उद्योगले उत्पादन गर्यो वा गरेन्, रोजगारी सृजना गर्‍यो वा गरेनलगायतका विषयमा सूचक बनाएर राम्रोलाई पुरस्कृत र सूचक पूरा नगर्नेलाई कारबाही गर्नुपर्नेमा पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीको जोड छ ।

उद्यमी रामकृष्ण चौलागाईले वास्तविक उद्यमी सरकारको अनुदानबाट सधै वञ्चित रहेको गुनासो गरे । अनुगमन प्रभावकारी नहुँदा उद्यमीका नाममा बिचौलिया मात्रै मोटाएकोले उनको आरोप छ । प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले उद्योगको हकहित तथा विकासका लागि आफ्नो स्तरबाट विशेष सहयोग गर्न तत्पर हुने बताए । उनले भने, ‘उद्योग र उद्यमी रहे राष्ट् समृद्ध हुन्छ । तर अनुदानमुखी उद्योगको अन्त्य गर्न साँझा रुपमा लाग्नुपर्छ ।’

आठ उद्यमी सम्मानित

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले जुम्लाका ८ जना उद्यमीलाई सम्मान गरेको छ । आठौँ उद्योग दिवसको अवसरमा उद्यमीलाई सम्मान गरेको हो । जसमा उत्कृष्ट उद्यमीको रुपमा चन्दननाथ नगरपालिका–५ का हिमालय गारमेन्ड उद्योगका सञ्चालक अम्बिका श्रेष्ठ, र तातोपानी ५ की सृष्टि एण्ड संसार फलफूल उत्पादन तथा प्रशोधन उद्योगका संचालक नारायणी चौलागाईलाई सम्मान भएकी छन् ।

चन्दननाथ– ७ का एपी डिस्ट्रिलरी प्रालिका प्रेमबहादुर महत, चन्दननाथ ६ कै आरके स्याउ प्रशोधन तथा फलफूल डिस्ट्रिलरी उद्योगका रामकृष्ण चौलागाई, नगरपालिका २ का नवीन च्याउ उद्योगका लक्ष्मी बुढ्थापा, गुठीचौर ३ का सुर एण्ड सुप्पुना अर्गानिक होटलका सञ्चालक चित्रबहादुर बुढा, गुठीचौर–४ का कमल भैंसी पालन उद्योगका धर्मदत्त न्यौपाने र चन्दननाथ १० कै हस्तना डेरी उद्योगका हस्तना न्यौपान सम्मानित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्