Logo

झुम्सा खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती

तिनाउको वडा नं. ४ कोलडाँडाको गोरबन्दीघाट (झुम्साखोला) र तिनाउ खोलामा पुल नहुँदा यहाँका बासिन्दा वर्षात लागे यता करिब चार महिनादेखि यातायातको पहुँचबाट वञ्चित भएका छन् । वर्षौदेखि उक्त स्थानमा पुल बनाउने भनेपनि हालसम्म पनि पुल बन्न नसकेको वडा नं. ४ का अध्यक्ष तुलबहादुर आलेले बताए ।

‘पुल नभएकै कारण वर्षा लागेपछि चार महिनासम्म यातायातको सम्पर्कबाट विच्छेद हुन बाध्य भएका छौँ उनले भने, वर्षा लागेपछि पालिकासम्म पुग्न चार घण्टा हिड्नुपर्छ ।’ सिद्धार्थ राजमार्गदेखि नजिकै रहेको वडा भएपनि तिनाउ र झुम्सा खोलामा पुल नहुँदा तिनाउको वडा नं. ४ सहित माथागढीको वडा नं. ५ का बासिन्दा समेत प्रभावित बनेका छन् ।

पुलका कारण गिजनचउर, छाँप, सत्यवती, माथागढीको बोम्सेडाँडा, धामिघा, सिमलेका गरी ५०० घरधुरी चार महिना हिँडेर पालिकाको केन्द्र र झुम्सासम्म जाने गरेको स्थानीय बासिन्दा दानबहादुर गाहाले बताए । पुलको माग गरेको वर्षौ भएपनि हालसम्म पनि पुल बन्न नसकेको उनले गुनासो गरे । पुलका कारण सिंगो वडा नै सम्पर्क विच्छेद भएपछि गाउँमा उत्पादन भएको कृषिजन्य वस्तु निकासी गर्न समेत समस्या परेको छ ।

गाउँमा उत्पादन भएको आलु, टमाटर, पिँडालु, धनिया, सेमी, कुचो, दालचिनी बिक्री गर्न समेत समस्या भएको यहाँका किसानको गुनासो छ । ‘पुल नहुँदा तरकारी बोकेर चार घण्टाको पैदलबाट झुम्सा र चौबिसमाइलसम्म पुग्नपर्छ स्थानीय बासिन्दाले गुनासो गरे’ लुम्बिनी प्रदेश सरकारले दुई वर्षअघि झुम्सादेखि सत्यवती जोड्ने गोरबन्दी घाटमा पुल बनाउने ठेक्का लगाए पनि उक्त काम हालसम्म सुरु हुन सकेको छैन, स्थानीय तथा प्रदेश सभा सदस्य तुलाराम घर्तीले भने, गाउँपालिकाको पहिलेको नेतृत्व उदासिन हुँदा काम हुन नसकेको हो ।

प्रदेश सरकारको दुई करोड ८५ लाख लागतमा त्यस स्थानमा पुल बनाउने सम्झौता भएपनि पुनः प्राविधिक स्टमेट गर्नुपर्ने भएपछि पुल निर्माणमा ढिलाइ भएको जिल्ला प्राविधिक कार्यालय पाल्पाका प्रमुख अरुण गुप्ताले जानकारी दिए । ‘प्राविधिक स्टमेट पुन बनेर आइसकेको छ उनले भने, चुनावी मतपरिणाम लगत्तै त्यस स्थानमा पुल निर्माणको काम सुरु हुन्छ ।’

तिनाउ गाउँपालिकाले तिनाउ खोलामा पुल बनाउनका लागि डिपिआर बनाउने तयारी गरेको छ । वडा नं. ४ जोड्ने तिनाउ खोलामा समेत पुल नहुँदा सत्यवतीका बासिन्दा दैनिक तीन घण्टा पैदल हिँडेर चौबिसमाइलसम्म आउने बाध्य भएको पालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए । तिनाउ खोला पुलको डिपिआर बनेपनि प्रदेश र संघमा आवश्यक बजेटका लागि पहल गरिने अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्