शिशु स्याहार केन्द्र स्थापनाले महिलालाई राहत «

शिशु स्याहार केन्द्र स्थापनाले महिलालाई राहत

बिहानीको कामलाई पन्छाउँदै खाना खाएपछि नानीलाई शिशु हेरचाह केन्द्रमा पु¥याएर व्यवसायमा लाग्छिन् प्रतीक्षा लिम्बू ।
मेन्छ्यायेम गाउँपालिका पौठाककी ३१ वर्षीया प्रतीक्षा नानीलाई केन्द्रमा पुराएर ढाका व्यवसायमा लाग्दै आएकी छन् । घरनजिकै स्थापना भएको केन्द्रले व्यवसाय सञ्चालनमा टेवा पुगेको उनले बताइन् । श्रीमान् र उनीमात्र रहेको परिवारलाई केन्द्र स्थापनाले ठूलै राहत मिलेको बताउँछिन् प्रतीक्षा । २ वर्षको हुँदादेखि नानीलाई केन्द्रमा राखेर व्यवसाय गर्दै आएकी उनले ढाका व्यवसायबाट मनग्य आम्दानी गर्दैै आएकी छन् । उनले लघुउद्यम विकास समिति तेह्रथुमबाट ढाकाको तालिम लिएसँगै व्यवसाय सुरु गरेकी हुन् ।
उनले उत्पादन गरेको ढाकाको सामग्री गाउँघरमै खपत हुने गरेका उनी बताउँछिन् । ढाकाको चोली, मखलर, चौबन्दी, टोपी, टाइलगायत ढाकाका सम्पूर्ण सामग्री उत्पादन गर्दै आएकी छन् । केन्द्र स्थापनाले उनको व्यवसाय सञ्चालनका लागि राहतमात्र मिलेको छैन उद्यमीको रूपमा अगाडि बढ्न पनि मौका दिइरहेको बताउँछिन् । उनीजस्तै गाउँमै केन्द्र स्थापनासँगै २५ वर्षिया गोमा लिम्बूले पनि १७ महिनाको नानी केन्द्रमा राखेर बंंगुरपालनका साथै तरकारीखेती गर्दै आएकी छन् । उनकी ७० वर्षीया सासूले नानी हेर्न सक्नुहुन्न तर पनि गाउँमै केन्द्र भएकाले समस्या नभएको बताइन् ।
सुरुमा केन्द्रको महत्वबारे ज्ञान थिएन तर पनी स्थापनामा जुट्यौं अहिले सबैलाई राहत मिलेको भन्छिन् समूहकी अध्यक्ष अम्बिका इङनाम । उनी भन्छिन् विगतमा साना नानीहरू घरमा एक्लै छोडेर काममा जाँदा मनभरि पीर बोकिन्थ्यो तर अहिले त्यस्तो छैन । केन्द्रमा नानीलाई पु¥याएपछि नानीका आमाहरू दिनभरि ढुक्कले व्यवसाय सञ्चालन गर्न पाएका छन् । केन्द्रमा दैनिक रूपमा ५ देखि ७ जना बच्चा आउने गरेका छन् । २०७१ सालमा हिमालयन महिला सामुदायिक संस्थको सक्रियता र देउराली सोसाइटी तेह्रथुमको सहयोगमा केन्द्र स्थापना भएको हो । केन्द्रलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न समूहले कोष नै स्थापना गरेको छ ।
कोषमा समूहले हाल २ लाख १३ हजार रुपैयाँ स्थानीय सहकारीमा जम्मा गरेको छ । कोषबाट प्राप्त ब्याजले नानी हेरालुलाई पारिश्रमिक दिने उद्देश्य रहेको समूहले जनाएको छ । केन्द्र सञ्चालनका लागि स्थानीय श्रीप्रसाद लिम्बूले निःशुल्क रूपमा ३ आना जग्गा प्रदान गरेका छन् । लिम्बूले प्रदान गरेको जग्गामा देउराली सोसाइटी तेह्रथुमका स्थानीय संघसंस्था र समूहको सक्रियतामा भवन निर्माण गरिएको छ । भवन निर्माणसँगै केन्द्र सञ्चालन गर्न सहज भएको छ । दुर्गम गाउँमा स्थापना भएको केन्द्रले नानीको आमालाई मात्र नभई स्थानीयलाई समेत राहत मिलेको छ ।

प्रकाश पाक्साँवा

प्रतिक्रिया दिनुहोस्