Logo

विद्युतीय सवारी आयात २६ हजार माथि

चालु आर्थिक वर्षको ४ महिनामा ५ हजार ७ सय ७० विद्युतीय सवारी भित्रिएका छन् । यातायात विभागका अनुसार चालु आर्थिक वर्षको २०७९/०८० को साउनदेखि कात्तिकसम्ममा ५ हजार ७ सय ७० विद्युतीय सवारी दर्ता भएको हो । दर्ता भएका सवारी साधनमा स्कुटर/मोटरसाइकल ३ हजार ४ सय १३, कार १ हजार १ सय ३२, माइक्रो/जिप/भ्यान १२, बस ३७, अटो/रिक्सा लोडर गरेर १ हजार १ सय ७६ रहेको विभागले जनाएको छ ।

हालसम्म विभागमा दर्ता भएको कुल विद्युतीय सवारी साधनको संख्या २६ हजार ४ सय ६३ पुगेको विभागका निर्देशक रामचन्द्र पौडेलले बताए । उनले भने, “अघिल्लो वर्ष सम्म विभागमा दर्ता भएको विद्युतीय सवारीको संख्या २० हजार ६ सय ९३ थियो । क्रमशः विद्युतीय सवारीको प्रयोग वृद्धि हुने क्रममा रहेको छ ।”

हालसम्म स्कुटर/मोटरसाइकल १३ हजार २ सय ७३, कारमा ४ हजार २ सय ४०, माइक्रो/जिप/भ्यान २ सय ६२, बस ५९, अटो/रिक्सा लोडर गरेर ८ हजार ६ सय २९ रहेको विभागले जनाएको छ । विभागमा यसरी दर्ता हुनेका हालसम्म सबै भन्दा बढी स्कुटर/मोटरसाइकल र अटो रिक्सा रहेका छन् ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १ हजार ३ सय ८६, भदौमा १ हजार १ सय ८७, असोजमा १ हजार ६ सय २६, कात्तिकमा १ हजार ५ सय ७१ विद्युतीय सवारी भित्रिएको हो । यता विद्युतीय स्कुटरको आयत भने सन् २०२२ को नौ महिनामा विद्युतीय स्कुटरको आयात उच्च रहेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार सन् २०२२ को नौ महिना (जनवरीदेखि सेप्टेम्बर) सम्म नेपाली बजारमा ४ हजार १ सय २१ वटा विद्युतीय स्कुटर आयात भएको थियो । सन् २०२१ मा भने १ हजार ५ सय ५० वटामात्र विद्युतीय स्कुटर आयात भएको थियो । जनु संख्या सन् २०२१ को तुलनमामा करिब तीन गुणाले बढि हो ।

पछिल्लो समय नेपाली बजारमा सय भन्दा बढि मोडलका विद्युतीय स्कुटर बजारमा उपलब्ध रहेका छन् । नेपाली बजारमा सबैभन्दा बढी चिनियाँ र भारतीय, जापान, कोरियालगायत ब्रान्डका विद्युतीय स्कुटर आयात हुँदै आएको छ । त्यस्तै केही ब्रान्ड मुलुकबाट आयात हुँदै आएको छ । सरकारले २०७१ सालमा पाँच वर्षभित्रै २० प्रतिशत विद्युतीय सवारीसाधन गुडाउने महत्वकांक्षी योजना अघि सारेको थियो ।

२०७१ सालमै आर्थिक वर्ष २०७७ अर्थात् सन् (२०२०) सम्ममा समग्र सवारी तथा यातायातको साधनको कम्तिमा २५ प्रतिशत वातावरणमैत्री सवारीसाधन तथा यातायातका साधन सञ्चालनमा ल्याउने गरी वातावरणमैत्री सवारी साधन र यातायात नीति अख्तियार गरेको थियो । यो नीति आएको आठ वर्ष बितिसक्दा पनि विद्युतीय सवारी साधनको संख्या दुई प्रतिशतभन्दा कम छ ।

संघीय सरकारमा मात्र नभइ बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममा आगामी १० वर्षभित्र अर्थात २०८५ सालसम्म काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, हेटौंडा, बनेपा, धुलिखेल र पनौतीलगायत सहरमा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा प्रतिबन्ध लगाएर विद्युतीय सवारीसाधन चलाउने घोषणा गरेको थियो । घोषणा गरेअनुसार बागमती प्रदेश सरकारले पनि विद्युतीय सवारीसाधनको प्रवर्द्धन गर्न सकेको छैन ।

यातायात व्यवस्था विभागको तथ्यांकअनुसार मुलुकभर ४० लाख बढि सवारीसाधन दर्ता भएका छन् । विभागमा दर्ता भएका कुल सवारीसाधनको एक प्रतिशत मात्रै विद्युतीय सवारीसाधन मुलुकभर गुड्दै आएको अनुमान गरिएको छ । एक प्रतिशत विद्युतीय सवारीसाधन पनि ८० प्रतिशतभन्दा धेरै तराई/मधेशमा चल्ने विद्युतीय अटो रिक्सा रहेका छन् ।

भन्सार विभागको तथ्यांक अनुसार पछिल्लो साढे चार वर्षको अवधिमा १२ हजार विद्युतीय सवारीसाधन भित्रिएका छन् । आव २०७४/०७५ मा ५ हजार २ सय ३९ वटा विद्युतीय सवारीसाधन आयात भएका थिए । त्यसैगरी २०७५–०७६ मा यो संख्या ४ हजार ७ सय ४५ वटा, आव २०७६/०७७ मा ५ सय ७५ वटा सवारीसाधन भित्रिएका थिए । त्यसैगरी आव २०७७/०७८ मा विद्युतीय सवारीसाधनको आयातमा गिरावट आएको थियो ।

आर्थिक वर्ष २०७७/०७८ मा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय सवारीसाधनमा अत्यधिक मात्रामा कर लगाइदिएसँगै विद्युतीय सवारीसाधनको आयातमा गिरावट आएको थियो । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले १५ जेठ २०७८ मा अध्यादेशमार्फत चालु आर्थिक वर्षको बजेटमा विद्युतीय सवारीसाधनमा लाग्दै आएको करको दायरा घटाएसँगै विद्युतीय सवारीसाधनको आयात बढ्दै भने गएको छ ।

विदेशी मुद्राको सञ्चितिमा दबाब परेपछि सरकारले सबै प्रकारका पेट्रोलियम कारमा रोक लगाएपछि विद्युतीय सवारीको आयत बढेको छ । सरकारले १३ बैशाखदेखि सवारी लगायत अन्य १० बस्तुको आयतमा लगाएको प्रतिबन्ध थप दुई महिना (२८ असोज) बाट लम्ब्याएर मंसिर मसान्तसम्म पुर्‍याएको छ ।

सरकारले पूर्ण प्रतिबन्ध लगाएका विभिन्न चार प्रकारका वस्तुको पैठारीमा लगाएको बन्देजलाई आगामी मंसिर मसमन्तसम्म कायम गरिएको थियो । “सरकारले आयातमा पूर्ण प्रतिबन्ध लगाइएका मदिरा, ३ सय अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोन, सबै प्रकारका पेट्रोलियम कार, १५० सीसीभन्दा माथिका मोटरसाइकल मोटरसाइकलको आयात रोकिएको छ ।”

प्रतिक्रिया दिनुहोस्