ओहम इलेक्ट्रीकका विद्युतीय मोटरसाइकल/स्कुटर नेपालमा

विद्युतीय स्कुटर तथा मोटरसाइकल उत्पादन गर्दै आएको भारतीय कम्पनी ओडिसी ओहम इलेक्ट्रीक ट्रेडिंग प्रालिले नेपालमा पनि बिक्री तथा प्रवर्द्धन सुरु गरेको छ ।
ओडिसी ओहमले नेपालका लागि बिक्री तथा वितरणको जिम्मा भैरहवास्थित ओहम अटोमोटी प्रालिलाई दिएको छ । आधिकारीक रुपमा सोमबारबाट बिक्री सुरु हुने ओहमका स्कुटर तथा मोटरसाईकलले १ पटक चार्ज गरेपछि कम्तिमा पनि ७० देखि १७० किलोमिटरसम्म चल्ने कम्पनीका नेपाल प्रतिनिधि अभिषेक बेरीवालले बताए ।
हैदराबादमा प्लान्ट रहेको ओहमका विभिन्न १० वटा स्कुटर तथा मोटरसाइकलका भेरीयन्ट मध्ये अहिले नेपालमा ३ वटा स्कुटर र १ वटा मोटरसाइकलको बिक्री सुरु भएको र बिस्तारै १० वटै भेरीयन्ट उपलब्ध हुने कम्पनीले जनाएको छ । हालसम्म नेपालमा उपलब्ध भएका विद्युतीय स्कुटर र मोटरसाइकलमा सबैभन्दा बढी माइलेज दिने यो रहेको बेरीवालले दाबी गरे ।
कम्पनीले अहिले इभिओ मोटरसाइकल ल्याएको छ । यो विभिन्न पाँच रंगमा उपलब्ध छ । ६ घन्टामा पूर्ण रुपमा चार्ज हुने यो मोटरसाइकल १ पटक चार्ज गरेपछि १०० भन्दा बढी किमीसम्म जान सक्छ । ८० किमी प्रतिघन्टासम्म गति रहेको यो मोटरसाइकलको मूल्य ४ लाख ६५ हजार रहेकोमा अहिले बिक्री सुरुवात कार्यक्रमका लागि भन्दै केही समय ३० हजार छुट दिइएको ओहम अटोमोटीका प्रबन्ध निर्देशक रामु पन्थीले बताए ।