जोन्टा क्लबले गर्यो लैंगिक हिंसाविरुद्ध वाकाथन

जोन्टा क्लब अफ काठमाडौंले महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि आफ्नो सक्रिय अभियानको रुपमा वाकाथन आयोजना गरेको छ । ५०० भन्दा बढीको सहभागिता रहेको उक्त वाकाथन दरबारमार्गबाट सुरु भएर वसन्तपुर दरबार स्क्वायरमा पुगेर समापन भएको थियो । वाकाथनको अन्त्यमा लैङ्गिक हिंसा विरुद्धको सशक्त सन्देश बोकेको सडक नाटकको प्रदर्शन गरिएको थियो । २५ नोभेम्बरदेखि १० डिसेम्बर २०२२ सम्म संयुक्त राष्ट्र संघले मनाइरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई समर्थन गर्दै यस वाकाथन आयोजना गरिएको हो ।
संयुक्त राष्ट्र संघको यस वर्षको नारा ‘महिला र बालिकाहरुविरुद्ध हुने हिंसा अन्त्य गर्न एक होऔं’ रहेको छ । जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्ष आभा शाहले १६ दिने अभियानले हामीलाई एकताबद्ध हुन र लैङ्गिक हिंसाविरुद्ध आवाज उठाउने मञ्च दिने बताइन् । यो १६ दिनको अवधिभर जोन्टाले क्यूएफएक्स सिनेमाहरुमा ४ शर्ट फिल्महरु पनि प्रदर्शन गर्दैछ ।
महिला र बालिकामाथि हुने हिंसा र दुव्र्यवहार कुनै पनि हालतमा सह्य नहुने र यसको विरुद्धमा आवाज उठाउनैपर्ने सन्देश बोकेका यी शर्ट फिल्महरु जोन्टाले नै निर्माण गरेको हो । यसै पहलअन्तर्गत जोन्टाले काठमाडौं र आसपासका विद्यालय र सार्वजनिक स्थानहरूमा सडक नाटकहरूको प्रदर्शन गर्नुको साथै विभिन्न छलफलहरु पनि आयोजना गर्ने पनि जनाएको छ ।
वाकाथनभन्दा अगाडि जोन्टाले थुप्रै लोकप्रिय व्यक्तित्वहरुमार्फत पनि लैंगिक हिंसाविरुद्ध वकालत गर्न र सचेतना फैलाउन पहल गरेको थियो । यी क्लिपहरू सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेका छन् । कुमारी बैंक, जेजीआई फाउन्डेसन, लक्ष्मी बैंक, केटीएम सिटी, लिबर्ड, वेल्ट हङ्गर हचलाइफ, जर्मन कोअपरेसन र एकवा हन्ड्रेडको सहयोगमा वाकाथन आयोजना गरिएको हो ।
जोन्टा इन्टरनेशनल विश्वव्यापी रुपमा सेवा र वकालत मार्फत महिलाहरूलाई सशक्तिकरण गर्ने प्रोफेसनलहरुको अग्रणी विश्वव्यापी संगठन हो । सन् २०१२ मा काठमाडौंमा जोन्टा इन्टरनेशनलको भ्रातृ संगठनको रुपमा स्थापना भएको जोन्टा क्लब अफ काठमाडौंले सेवा र वकालतमार्फत स्थानीय र राष्ट्रिय स्तरमा युवा र महिलाविरुद्ध हिंसा अन्त्य गर्नको लागि उनीहरुको आर्थिक, शैक्षिक र अन्य सम्बन्धित मुद्दाहरूमा काम गरिरहेको छ ।