Logo

सगरमाथादेखि कोप-२७ सम्म

हाम्रो देशको जल्दोबल्दो समस्याका रूपमा रहेको जलवायु परिवर्तनको मुद्दा कोपको मुख्य कार्यक्रममा जोडतोडका साथ उठ्न सकेन । तर, सहभागीहरूले नेपाली पेभिलियनमा छलफल गरी प्रश्न उठाएका थिए ।

रहरले भनौं वा उत्साहले ! सन् २०१७ को मे २९ मा सगरमाथा आधार शिविर पुगेकी थिएँ । सन्दर्भ थियो, एभरेष्ट म्याराथुन प्रतियोगिता । चर्चित आरोही सर एडमण्ड हिलारी र तेन्जिड नोर्गे शेर्पाले सन् १९५३ मे २९ का दिन सगरमाथा आरोहण गरेको दिनको सम्झनामा हरेक वर्ष सगरमाथा क्षेत्रमा आयोजना हुने प्रतियोगिताको कभरेज गर्ने अवसर मलाई पनि आएको थियो ।

धेरैले घुम्नैपर्ने स्थानको सूचीमा रहेको सगरमाथा क्षेत्रको म्याराथुन प्रतियोगिताको फोटो खिच्न त्यहाँ पुगेको थिएँ । किताबमा कैयौंपल्ट पढेको सगरमाथा आफ्नै आँखाअगाडि देख्न पाउँदा म पुलकित भएकी थिएँ । सगरमाथाप्रतिको प्रेमले मलाई प्रायः हरेक वर्ष त्यहाँ पुर्‍याइरहेको हुन्छ । त्यसयता म सगरमाथा आधार शिविरमा तीन पटक पुगेकी छु । हरेक पल्ट त्यहाँ पुग्नुको लक्ष्य हुन्छ ।

आधार शिविर पुगेपछि सुरुमा सगरमाथा, अनि त्यसपछि ल्होत्से र आमादब्लाम हिमाल आरोहणका लागि पुगेकी थिएँ । विगत केही वर्षमा म जति पटक सगरमाथा क्षेत्रमा पुगेकी छु, सगरमाथा क्षेत्रमा परिवर्तन भइरहेको देख्छु । म पहिलोपल्ट सगरमाथा आधार शिविरमा पुग्दा हिउँ देख्न सकिन्थ्यो । त्यहाँका ढुङ्गामा हिउँका ढिक्काहरू देख्न सकिन्थ्यो । खम्बु आइसफलबाट ससानो कुलोजस्तो भएर पानी बगेको देखिन्थ्यो । त्यो कुलो पार गरेपछि अब खुम्बु आइसफल जाने बाटो सुरु भयो भनेर शेर्पाहरूले बताउँथे ।

अहिले आधार शिविरमा धेरै परिवर्तन भइसकेको छ । आधार शिविरमा हिउँ हराइसकेको छ । चट्टानहरू मात्र देख्न सकिन्छ । आइसफल भएर बग्ने खोला यति फराकिलो भएको छ कि सबै ठाउँबाट उफ्रिएर पार गर्न सकिँदैन । हिउँ तीव्र गतिमा पग्लिरहेको देखिन्छ । मैले सन् २०१८ मा आरोहण गर्दा बेसक्याम्पबाट एक घण्टाजति हिँडेपछि क्र्याम्पोन लगाउने गरिन्थ्यो । अहिले त्यो ठाउँमा हिउँ पग्लेर चट्टानमात्रै भएको छ । त्यतिबेलाको क्र्याम्पोन प्वाइन्ट करिब २ सय मिटरजस्तो माथि सरेको छ, रक भएको क्षेत्र भएका कारण ।

त्यतिबेला मैले खम्बु आइसफलमा देखेको हिउँका पहाड त कहिले पनि पग्लिँदैन होला जस्तो लागेको थियो । तर, म यस वर्षको वसन्त ऋतुमा खम्बु आइसफल भएर ल्होत्से आरोहण गर्न जाँदा अधिकांश हिउँका पहाड पग्लिसकेका छन् । आइसफल क्यानोनिङ स्थलजस्तो भएको छ, हिउँ पग्लेर निरन्तर पानी बगिरहने भएका कारण । यसले हिमाल आरोहणलाई कठिन र जोखिमपूर्ण बनाएको छ । ल्होत्से हिमाल आरोहण गर्दा पनि सगरमाथाको तेस्रो शिविरसम्म एउटै बाटो प्रयोग गरिन्छ ।

म २०१८ मा सगरमाथाको दोस्रो शिविर पुग्दा पानीको अभाव हुन्थ्यो । हिउँ पग्लेको थिएन । आरोहीले कतै पोखरीजस्तो भए जर्किनमा बोकेर खाना पकाउँथे । पानी नभेटिएमा हिउँको ढिक्का भाँडोमा पगालेर पानी बनाउँथे अनि त्यही पानी पिउन र खाना पकाउन प्रयोग गरिन्थ्यो । तर अहिले दोस्रो शिविरमा धेरै परिवर्तन भइसकेको छ । दोस्रो शिविरमा धेरै पानीको खोला बगेको देख्न सकिन्छ । जताततै खोला बगेको देखिन्छ । पानीको ताल जतासुकै भेटिन्छ । टेन्ट नजिकैबाट पनि पानी संकलन गर्न सकिने अवस्था छ ।

तेस्रो शिविरमा देखिने सयौं वर्षसम्म जमेर बनेको ब्ल्यु आइस पग्लिन थालेको छ । पहिले जाँदा सबैतिर ब्ल्यु आइस देखिने गरेकोमा अहिले चट्टानमात्र देखिन थालेको छ । यसले संसारको धरोहर सगरमाथा कति छिटो परिवर्तन भइरहेको छ भन्ने देखाउँछ । यही गतिमा हिउँ पग्लँदै गयो भने हामी आगामी दशकसम्म आरोहणलाई निरन्तरता दिन सक्छौं कि सक्दैनौं भन्नेमा आशंका छ । हिउँ भएर हिमालको महत्व भएको हो । हिउँ नभएको खण्डमा यसको महत्व पनि त्यति हुँदैन होला ।

विश्वभर भइरहेको तीव्र तापक्रम वृद्धि र सगरमाथा क्षेत्रमा भइरहेको मानव भीडभाड र प्रकृति नसुहाउँदो व्यवहारका कारण पनि हिउँ तीव्र गतिमा पग्लिरहेको जस्तो मलाई लाग्छ । हिमालको देश भनेर चिनिएको नेपालमा ८ हजार मिटरभन्दा बढी उचाइका आठवटा हिमाल छन् । ती हिमालमा हुने आरोहणबाट रोयल्टीबापत करोडौं डलर भित्रिने गरेको छ । धुवाँरहित उद्योगको रूपमा चिनिने पर्यटनका कारण भरियादेखि गाइडले रोजगारी पाएका छन् । हजारौंले रोजगारी पाएको आरोहण प्रभावित भएमा रोजगारी र देशको अर्थतन्त्र पनि प्रभावित हुन्छ ।

पछिल्लो समय च्छोरोल्पा र इम्जा हिमतालको पानी निकास गर्न करोडौं रुपैयाँ खर्च गर्नुपरेको छ । इसिमोड र यूएनडीपीले सार्वजनिक गरेको एक अध्ययनअनुसार अझै हिन्दू कुश हिमालय क्षेत्रमा जोखिमपूर्ण भानिएका ४७ मध्ये २१ वटा हिमताल नेपालमा रहेकाले यसको जोखिम हाम्रो कल्पनाभन्दा बाहिर छ । सगरमाथाबाहेक मैले नेपालबाट चढ्न सकिने ८ हजार मिटरमाथिका मनास्लु कञ्चनजंघा, धौलागिरी, मकालु, ल्होत्से र अन्नपूर्ण सातवटा हिमाल आरोहण गरेकी छु ।

जलवायु परिवर्तनको असर सबै हिमालमा उत्तिकै छ । पछिल्ला वर्षहरूमा हिमआँधीको प्रभाव हिमालसम्म पुगेको छ । हिमपहिरोको जोखिम झनै बढेको छ । बढ्दो तापक्रम वृद्धिको असर आरोहणमा परेको छ । यसपटक मनास्लु आरोहणका लागि एक महिना हिमालमा बस्दा पनि मौसमले साथ दिएन । निरन्तरको हिमपहिरोले आरोहीको ज्यान लियो । आरोहणका लागि तयार मनास्लु आधार शिविरमा पुगेकाहरूमध्येका एक तिहाइभन्दा कम आरोही चुचुरोमा पुग्न सफल भए । धेरैले आरोहण स्थगित गरेर घर फर्किए । असफल भएर घर फर्कनेमा म पनि एक थिएँ ।

जलवायु परिवर्तनका कारण हिउँ पग्लँदा हिमालमा विपद्का घटनाहरू बढिरहेका छन् । सन् २०१४ मा १६ जना शेर्पाले आइसफलमा परेर ज्यान गुमाउनुपर्‍यो । इसिमोडले गरेको एक अध्ययनअनुसार १.५ डिग्री सेल्सियसको दरले तापक्रम वृद्धि भए पनि यो शताब्दीको अन्त्यसम्ममा हिन्दूकुश हिमालय क्षेत्रको एक तिहाइ हिउँ पग्लन सक्ने आकलन गरेको छ । १.५ डिग्री सेल्सियसको लक्ष्य हासिल नभए दुई तिहाइ हिउँ नै पग्लन सक्ने प्रक्षेपण गरिएको छ ।

तापक्रम वृद्धि हुँदा कतिपय हिमाली क्षेत्रमा पानीको हाहाकार भएको छ, जसका कारण स्थानीय बासिन्दाहरू सुरक्षित स्थानको खोजीमा बसाइँसराइ गरिरहेका छन् । जलवायु परिवर्तनका कारण कम पानी पर्ने क्षेत्रको रूपमा रहेका मनाङ, मुस्ताङलगायतका जिल्लाका बासिन्दाले पानीको अभाव त छँदैछ, बेलाबेलामा बाढीको सामना गर्नुपरेको छ ।

दशकौं पहिलेदेखि अर्बौं रुपैयाँको लगानीमा तयार भएको मेलम्ची खानेपानी आयोजना पहिरो र बाढीका कारण क्षतिग्रस्त बन्न पुग्यो । हिमालका साथै पहाडमा पहिरो र तराईमा बाढीका घटना वृद्धि भएका छन् । नेपालले जलवायुजन्य विपद्का विभिन्न घटनाको सामना गरिरहेका बेला मैले यस वर्ष इजिप्टको शर्म अल शेखमा आयोजना गरिएको राष्ट्रसंघीय जलवायु सम्मेलन अर्थात् कोप–२७ मा सहभागी हुने अवसर पाएँ ।

त्यहाँ गएर यूएनडीपी नेपाल र इसिमोडले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा सहभागी भएँ । हिमाल आरोही र फोटो पत्रकारका रूपमा कसरी युवाहरूलाई जलवायु परिवर्तनको पक्षमा युवाको भूमिका सशक्त बनाउने भन्ने विषयमा आफ्नो अनुभवसहितको धारणा राखें । सो अवसरमा जलवायु परिवर्तनका कारण मनास्लु हिमालमा कस्तो असर परिरहेको छ भन्ने सन्दर्भमा म इसिमोडसँगको सहकार्यमा तयार पारिएको भिडियो प्रस्तुत गरिएको थियो ।

भिडियोले जलवायु परिवर्तनले हिमाल आरोहणमा परेका असर, हिमपहिरोको जोखिम र पर्यटनमा परेको असरलाई उजागर गरेको छ । कोपमा सहभागी हुँदा संसारभरबाट आएका प्रतिनिधिहरूसँग प्रत्यक्ष रूपमा भेटेर हिमाली नेपालजस्तो हिमाली क्षेत्रले भोगेको समस्याबारे छलफल गरें । उनीहरूले हिमालय र सगरमाथाको देश भएकाले पनि चासोपूर्वक सुने । हाम्रो देशको जल्दोबल्दो समस्याका रूपमा रहेको जलवायु परिवर्तनको मुद्दा कोपको मुख्य कार्यक्रममा जोडतोडका साथ उठ्न सकेन ।

तर, सहभागीहरूले नेपाली पेभेलियनमा छलफल गरी प्रश्न उठाएका थिए । संकटासन्न देशहरुले उठाएका मुख्य मुद्दा ‘क्षति र नोक्सानीको लागि वित्तीय व्यवस्था’बारे निर्णय भयो । हिमाल आफैंमा मुद्दा बन्न सकेन । अन्य टापु राष्ट्रहरूले समुद्रको सतह बढेर पारेको असरबारे जबर्जस्त आवाज उठाए । हाम्रो आवाज अझै जबर्जस्त उठाउन जरुरी छ । हिमाली देशका हिउँ तीव्र रूपमा पग्लिँदै जाँदा हिमाली देशलाई मात्र असर पार्ने होइन कि समुद्र सतहमा रहेका देशहरू टापुहरूमा पनि जोखिम बढ्नु हो ।

त्यसैले अर्को वर्षको कोप–२८ मा हिमालको मुद्दा स्थापित गर्नेगरी लाग्न जरुरी छ । त्यसो भयो भनेमात्रै हाम्रो हिमालमा भएको हिउँ जोगाउन सकिन्छ । हिमाल र पहाडमा हुने बाढीपहिरो कम गर्न सकिन्छ र समुद्रको सतह बढ्ने गति कम गर्न सकिन्छ । आगामी दिनमा नेपालले जलवायुजन्य विपद्लाई प्राथमिकतामा राखेर कोपलगायतका अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ ।

ती मञ्चमा उपस्थित हुनेहरू प्रायः सबै सरकारी तथा गैरसरकारी क्षेत्रका व्यक्ति भएकाले विपद्बाट प्रभावित व्यक्तिको सहभागिता भएमा उनीहरूको आवाज उठाउन सकिन्छ । प्रमाणसहित नेपालले भोगेको जलवायु परिवर्तनको असर संसारलाई देखाउन जरुरी भइसकेको छ । त्यसका आधारमा जलवायु कोषमा जम्मा भएको रकम दाबी गर्न सके मात्र नेपालका जलवायु पीडितलाई न्याय हुन्छ ।

प्रतिक्रिया दिनुहोस्