Logo

युवाशक्ति र पुस्तान्तरण

व्यावहारिक र व्यावसायिक शिक्षाको अभाव छ मुलुकमा ! युवा जोसजाँगरको प्रयोग हुने गरी दिइने तालिम, शिक्षण, प्रशिक्षणको अभाव छ यहाँ ! केही तालिम, शिक्षण, प्रशिक्षण संस्थाहरू भए पनि समन्वयको अभाव छ ।

संसारमा ठूला परिवर्तनहरू युवाशक्तिबाटै भएको देखिन्छ । हामीकहाँ पनि परिवर्तन गर्दा युवाहरूकै नाम आउँछ, तर परिवर्तनको फल चाख्ने युवा हुन्नन्, भनौँ हामीकहाँ पुस्तान्तरण वा राजनीतिक शक्ति हस्तान्तरण भएकै छैन र त लाखौँ युवाशक्ति देशबाहिर छ । गत वैशाखको स्थानीय चुनावमा केही युवा देखिए, र शक्तिमा आए पनि, तर देखिने गरी खासै काम गरेको आभास भएको छैन ।

केही युवा पढेका र नयाँ जोस जाँगरसहित पुराना नेताहरूलाई पछार्न अहिलेको आमचुनावमा होमिए, तर कमले सफलता हात लाउँदै छन्, केही त पछारिइसकेका छन्, पहरा र कुहिनो जस्तो भएको छ, कतै त खासगरी डँडेल्धुरामा । वृद्ध हुँदैमा सबै नराम्रो भने हुन्न, सोचको कुरो हो र त ९७ वर्षीय महाथीर जसलाई मलेसियाको राष्ट्रपिता भनिन्छ, उनी पनि यसपालि त्यहाँको चुनावमा होमिए, तर उनको दलले धरौटी पनि जोगाउन सकेन ।

समय एकनासको छैन, ५३ वर्ष लगातार शक्तिमा रहे उनी, अब कति रहने ? २४ वर्षदेखि त निरन्तर प्रधानमन्त्रीकै रूपमा रहे उनी । समयले कोल्टो फेर्‍यो, अब सकेनन् उनले, सक्नु पनि कति र उमेरले नै नेटो काटिसक्यो, तर समृद्धिको गगनचुम्बी आकाश मलेसियाको हो, महाथिरकै हो, जसरी नजिकै जोडिएको अर्को सानो तर उच्चत्तम समृद्धिको देश सिंगापुर र लि क्वानको । नजिकको अर्को देश थाइल्यान्डले समृद्धिको चुम्बन गरेको युवाशक्तिको अनवरत र कठिनतम प्रयासले हो ।

आजको बैंकक मात्रै होइन, पूरै देश थाइल्यान्ड वास्तवमा थाइल्यान्ड हुनुमा युवाको गतिलो हात छ, तर अलि परको सूर्योदयको देश जापानमा अझै पुराना पुस्ताको सम्मान छ, जापानीहरूले पुरानालाई पटक्कै बिर्सेका छैनन्, त्यसैले त्यहाँ धेरै विकास भएको छ, समृद्धि छ, शक्तिशाली छ संसारका सामु आर्थिक क्रान्ति र प्रशासनिक दक्षता देखाएको छ उसले ।

देश आत्मनिर्भर हुन आफ्नो भाषा चाहिन्छ, आफ्नो स्रोत र साधन चाहिन्छ, आफ्नो धर्म र संस्कृति पनि, आफ्नो भूगोल, अखण्डित भूगोल र आफ्नै राष्ट्रियता चाहिन्छ, स्वाधीन अर्थतन्त्र, मौलिक विचार आवश्यक हुन्छ, हामीकहाँ यी सबै तत्वको सम्मिश्रण भइरहेको पाइन्न । हो, यो देश भूगोलले सानो छ र कहिल्यै विदेशीको गुलाममा पनि परेको होइन ।

माथि उल्लिखित देशहरू स्वतन्त्र भएको धेरै समय पनि भएको छैन, जतिबेला हामी एकीकरणमा थियौँ, अमेरिकी साम्राज्य पनि अहिलेको जस्तो बलियो भइसकेको थिएन । हामी देशको हिसाबले पुरानो भयौँ तर विकास भनौँ समृद्धिको हिसाबले संक्रमणमै गुज्रिरहेका छौँ । यो दोष कसको ? समृद्धिको सपना खन्याइयो यहाँ र धेरै युवाको प्रयोग गर्दै ठूला–ठूला राजनीतिक क्रान्तिहरू गरिए, तर देश समृद्ध हुनुको साटो खाडीमा भासिएका छन् तिनै युवाहरू किन ?

देशमा केही युवाशक्ति आर्थिक, सञ्चार क्षेत्रमा नभएका होइनन् तर निर्णायक शक्तिमा अधिकांशतः वृद्धहरू नै रहे हामीकहाँ । कानुन बनाउने संसद्मै निदाए, कार्यकारी प्रमुखले नै र्‍याल चुहाउँदै देशको अवस्थालाई उजागर गरे । नेताहरूले, अर्काको इसारामा जे गरे धेरै गरे, तर देशको आम जनजीविकाको सन्दर्भमा उल्लेखनीय काम गर्न सकेनन्, बरु आफू जसरी भए पनि शक्तिमै रहिरहन अथक र अनवरत प्रयास गरे, फलतः आमजनताले केही बुझे र हालैको चुनावमा केही आफ्नै शक्ति देखाए र देखाउँदै छन् पनि ।

मंसिर ४ को घोषित परिणाममध्ये युवाशक्तिकै रूपमा पहिलो खाता पनि खोलियो, तर आशातीत यसको निरन्तरता भएको छैन, उही पुस्ता अगाडि बढ्दै छ । लाभको पद लिएकाले उम्मेदवार हुन नपाउने भनी हतोत्साहित बनाउन खोज्दा पनि अदालतकै आदेशले भए पनि चुनाव लडेको नयाँ जोसले पनि सफलता पाएको छ । चितवन, जुम्लाबाट चर्चित युवाहरू पनि शक्तिमा उदाइसकेका छन् । पुराना दल आबद्ध केही जुझारु युवाहरूले पनि आफ्नो सफलता देखाएका छन् तर कतिपय ती यसअघि परीक्षणमा परिसकेका पनि हुन् ।

तर, जसलाई हराउने गरी वृद्धहरूलाई पाखा लाउने यो चुनावको उद्देश्य थियो त्यो भइरहेको छैन र त धेरैको मुखबाट सुनिने गरेको छ- चालू राजनीतिक प्रणालीको यो चुनाव अन्तिम हो भनेर । यसमा धेरै कारणहरू छन्, मूल कारण प्रदेश संसद्को औचित्य पुष्टि भइसकेको छैन र यसको संख्या पनि, जनता गरिब र देश सानो छ, यो प्रणाली धेरै भद्दा र महँगो छ, पाल्नै नसक्ने हात्ती पालेर ऋण बोक्नुभन्दा समयमै यसमा पुनर्विचार गर्नुपर्छ भन्ने आवाज सबैतिर उठेको छ ।

अर्को कुरा, कसैलाई शक्तिमा लग्नैका लागि समानुपातिक प्रणाली देशमा आवश्यक हो र ? धेरै ठूलो जनसंख्या भएको देशमा हेरौँ न, त्यसैले यो नेपालको माटो सुहाउँदो भएन भन्ने आवाज धेरै छ । देशको आर्थिक स्थिति राम्रो नहुँदा यति धेरै सुविधा आवश्यक हो र ? किन छ धेरै महँगी र व्यापारघाटा, किन हुन्न यहाँ आफ्नो उत्पादन र किन हुन्छ यहाँ धेरै विदेशी ऋण अनि एक नेपाली जन्मदै ७५ हजारको ऋणभार किन नि ?

देशमा संलग्न अनावश्यक जनशक्ति खासगरी राजनीतिक नेतृत्व पाल्नैका लागि करको भार बढेको छ, चालू खर्च अकासिएको छ तर समृद्धिका लागि खन्याइने पुँजीगत खर्च यो आर्थिक वर्षको भर्खरै सकिएको चौमासिकमा जम्मा ६.९१ प्रतिशत मात्र छ । चुनावी वर्षले मात्र यो चौमासिकमा कम भएको होइन, अघिल्लो वर्ष पनि यतिबेला जम्माजम्मी पुँजीगत खर्च ५.५ प्रतिशतमात्रै थियो, अझ एक वर्षअघि ०७७ को यो समयलाई हेर्दा पनि ८.३४ प्रतिशतमात्र खर्चको अभिलेख भेटिन्छ ।

यो समयमा सरकार परिवर्तन भएको देखिन्छ तर अनुहार उस्तै आएकोले सरकार परिवर्तनबाट देशमा हुने विकास खर्चमा उल्लेखनीय परिवर्तन छैन । ठूलो आकारको बजेट ल्याउने, कार्यान्वयन गर्न नसक्ने, स्वेर कल्पनाहरू यथावत् रहने नेपालको विगतदेखिकै नियति हो । दलहरूले विकल्प सोचेका थिएनन्, तर यसपालि विकल्पको शक्तिका रूपमा केही युवा उदाएका छन् । तर ती पनि पहिलेका झैँ कतैबाट परिचालित हुने डर र खतरा घटेको छैन, सबैको पेट, परिवार र पुस्ता छ, निःस्वार्थ सेवामात्रै गर्नेहरू गणेशमान, कृष्णप्रसाद, मनमोहनहरू पाखा लागेको इतिहास पनि छ देशमा ।

यहाँ खुट्टा तान्नेहरूको पनि कमी छैन, स्वदेशको शक्तिले नपुगे विदेशी शक्तिले पनि खुट्टा नतान्लान् भनिहाल्ने अवस्था छैन । शक्तिबाट बाहिर आएपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय लेखकहरूले लेखेका पुस्तकहरू अध्ययन गर्दा विगतमा को कस्ता रहेछन्, के योजना कसले गरेका रहेछन्, अवगत हुन्छ । खुलेरै विदेशी हस्तक्षेप त एमसीसी, एसपीपीमा सबैले देखेकै हुन्, रातारात बिचौलियाहरूलाई बालुवाटारको रातो कार्पेटले स्वागत गरेको पनि सबैले देखेकै हो । को कसलाई कति वर्ष विदेशीले पालेको रहेछ भन्ने पनि बुझ्न कठिन छैन ।

स्वस्थ युवाशक्ति रोजगारसहितको जनशक्तिको मूल ध्येय हो अहिले । देशमा जनशक्ति योेजनाको अभाव छ, राजनीतिक अस्थिरता पनि । विश्वव्यापी कोरोना संकट र त्यसबाट उत्पन्न परिवेशले विदेशस्थित धेरै नेपाली अलमलिए, विदेशस्थित एकतिहाइ नेपाली मात्रै पनि एकै पटक स्वदेश फर्किए भने मुलुकले धान्न सक्ने अवस्था छैन । खर्बौं रकम विप्रेषणका रूपमा पठाएर देशको आर्थिक परिवेशलाई राम्रोे पार्ने हाम्रा नेपालीहरू अधिकांशतः युवा नै हुन्, बेरोजगारीकै कारण ती बाहिरिएका हुन् ।

राजनीतिक मात्रै नभएर मुलुकको सामाजिक र आर्थिक रूपान्तरण युवाशक्तिमै हुन्छ, सामाजिक सद्भावको अभिभारा र सांस्कृतिक रूपान्तरण पनि । हाम्रा युवा धेरै बाहिर छन्, यता देश भने आर्थिक मन्दीमा छ, चौतर्फी सीमा समस्यामा अड्केको छ । राजनीतिक दलभित्र किचलो छ । गुट र उपगुटमा पर्दा देशका मूल मुद्दाहरू ओझेलमा परेका छन् । सत्ताबीच टकराव देखियो, नेतृत्वमा गुटबन्दी ।

नेताका बहानाहरू धेरै छन्, युवापुस्तामा शक्ति हस्तान्तरण हुन सकेकै छैन । कोरोनाले सिंगो देशको अर्थतन्त्र बिगारेको हो, यसअघि भूकम्पले पनि, तर बहाना पनि धेरै हो यो । राहत र उद्धार कार्यमा युवाजोस सक्रिय हुन सकेन, केही देखिए तर राज्यको समर्थन मिलेन । सरकार सधैँ आकर्षक र मनै लोभिने खालको नारा दिन मात्र देखियो, दल पनि, नीति तथा कार्यक्रमदेखि बजेटैसम्म र अन्य अर्ती–उपदेश उसका नराम्रा छैनन् तर जनता भने निराश ।

उद्यमशीलतामा, नेतृत्व विकासमा उनीहरूलाई प्रयोग गर्ने सकिए मुलुकको समृद्धि टाढा हुन्न । गुन्डा, मुद्रे र डनको हिसाबमा प्रयोग भए त्यही युवाशक्तिले मुलुकमा भारी उच्छृङ्खलता पनि ल्याउन सक्छ । नेपालको कुल जनसंख्यालाई विश्लेषण गर्दा १६ देखि ४० वर्ष उमेर समूहका मानिसहरू झन्डै आधा छन्, धेरै विरक्तिए, यसपालिको चुनावमा आधा मतदाता भोट हाल्नै गएनन् । युवा जनशक्ति भनौँ मानव पुँजी पलायन हुन नदिने र श्रमशक्ति मुलुकमै प्रयोग हुने वातावरण सिर्जना गर्ने काम सरकारको हो । सबैलाई सरकारले रोजगारी दिन नसके पनि रोजगारीका अवसर सिर्जना भने गर्न सक्छ उसले ।

मुलुकमा सरकार स्थिर त भनियो तर नीति स्थिर भएन । दुईतिहाईको दम्भ बोकेको सरकार पनि ढल्यो, नागरिकलाई रोजगारी दिनै सकेन । नाना, खाना र छानाकै लागि युवाशक्ति भौँतारिएको अवस्था कहिलेसम्म बोक्ने हो ? आफू र आफन्त आश्रित बूढाबूढीहरूको सपना पूर्तिका लागि पनि घरजग्गा बेचेर ऋण काढी युवाशक्ति देशबाट पलायन भएको धेरै समय भयो, यसमा रोक्ने सामथ्र्य होला अब आउने नयाँ सरकारको ? रोजगारदाताको सूचीकृत संख्या नगन्य छ ।

कोरोेनाले धेरै युवा थला परे मात्रै होइन, डिंगोसमेतले युवाहरूलाई चुँडेरै लग्यो । व्यावहारिक र व्यावसायिक शिक्षाको अभाव छ मुलुकमा ! युवा जोसजाँगरको प्रयोग हुने गरी दिइने तालिम, शिक्षण, प्रशिक्षणको अभाव छ यहाँ ! केही तालिम, शिक्षण, प्रशिक्षण संस्थाहरू भए पनि समन्वयको अभाव छ । बढ्दो युवा जनसंख्यालाई उद्यमशीलता अभियानमा सरिक गराउन सके मुलुकमै उद्योग धन्दाहरू फस्टाउँने थिए, तर सरकारलाई लगानीको वातावरण तय गर्ने फुर्सदैे छैन ।

देशमा कृषिक्षेत्रको रूपान्तरणमा युवाशक्ति प्रयोग भएन । राजनीतिक दलहरूसँग सक्रिय हुनेबाहेक अरू श्रमशक्ति खेर गइरह्यो । जलस्रोतको कमी नभए पनि युवाशक्ति यसमा प्रयोग भएन । यत्रा राष्ट्रिय गौरवका आयोजनाहरू छन्, युवाशक्ति किन प्रयोग नभएका त ?

प्रतिक्रिया दिनुहोस्