Logo

हिमालाई नमुना पालिका बनाउने अठोट

मुलुकमा संघीयता कार्यान्वयनको पहिलो पाँच वर्ष बित्यो । जनताका असीमित आवश्यकताबीच सीमित स्रोतसाधनले स्थानीय सरकारले उल्लेखनीय काम गरेका छन् । जनताको सबैभन्दा नजिकको स्थानीय सरकारले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी, पूर्वाधारलगायतका क्षेत्रको आधारभूत विकाससँगै चुस्त सेवा प्रवाहमा जोड दिँदै आएका छन् । जसको अग्रपंक्तिमा हिमा गाउँपालिका देखिन्छ ।

गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित हिमाका अध्यक्ष लक्ष्मण शाही लगायतका नयाँ जनप्रतिनिधिले कर्णालीमै नमुना बन्ने ध्ययले चुस्त सेवा प्रवाह र विकासको लहर बढाउँदै गएको पाइएको छ । जुम्लामा एक नगरपालिकासहित सात गाउँपालिका छन् । तर तुलनात्मक रुपमा पूर्वाधार विकास, प्रत्येक वडामा आफ्नै भवन, लाखौं वृक्षरोपणको अभियान, डिजिटल सेवाको अवधारणा लगायतका कामहरु हिमाले निरन्तर अघि बढाएको छ । पाँच वर्षमा २ लाख ५० हजार बिरुवा रोप्ने अभियान अन्तर्गत ४० हजारभन्दा बढी बिरुवा रोपिएको छ ।

पालिकाका ७ वडामध्ये ६ वटा वडा आफ्नै भवनमा सञ्चालित छन् । ७ नम्बर वडा बाहेक सबै वडामा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा छन् । पालिकाभरिका नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ भने हिमाको १ नम्बर वडाले भत्ता बुझ्न निःशुल्क गाडीको व्यवस्था गरेको छ । उल्लेखनीय कामहरुलाई हेर्दा हिमा गाउँपालिका विकास र सेवा प्रवाहमा जिल्लाकै अग्रपंक्ति (पहिलो) पालिका बनेको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, पर्यटन प्रवद्र्धन, कृषि, सडक भवन निर्माण लगायत विकास र सेवाको अग्रपंक्तिमा हिमाले आफूलाई स्थापित गर्न निरन्तर लागि परेको छ ।

जुम्लाका आठवटै स्थानीय तह र करिब ९० प्रतिशत वडा पालिका भाडाकै घरमा सञ्चालित छन् । जसले गर्दा साँघुरो कोठाबाटै सेवा प्रवाह गर्न कर्मचारी बाध्य छन् । बितेको पाँच वर्षमा गाउँपालिका र वडा पालिकाको प्रशासनिक भवन निर्माण, जग्गा खरिदमा स्थानीय तहले चासो दिएनन् । फलस्वरुप अहिले पनि अधिकांश वडा तथा गाउँपालिका वर्षेनि लाखौं तिरेर भाडाकै घरमा कार्यालय चलाइरहेका छन् ।

भाडाका घरबाट न नागरिकले सहज सेवा पाउन सकेका छन्, न कर्मचारीले प्रभावकारी सेवा दिन सकेका छन् । तर जुम्लाको हिमा गाउँपालिकाका ७ वटा वडामध्ये चारवटा वडामा सुविधा सम्पन्न भवन निर्माण भएका छन् । दुर्गम गाउँका नागरिकलाई सजह, सरल, छिटो र छरितो सेवा प्रवाह गर्न पालिकाले चारवटा वडामा नयाँ पक्की भवन निर्माण गरी सञ्चालनमा ल्याएको छ भने वडा नं. १, ५ र ६ का कार्यालय गाविस भवनमा सञ्चालित छन् ।

संरचना बिना छिटो छरितो सेवा प्रवाह सम्भव छैन । सिंहदरबारको अधिकार मात्र हैन, संरचना पनि गाउँमा पु¥याउने लक्ष्यअनुसार हिमाका गाउँगाउँमा सिंहदरबार ठडिएका छन् । सात वडामध्ये ६ वटा वडामा आफ्नै भवनबाट सेवा सुरु भइसकेको छ । हिमालाई जिल्लाकै नमुना पालिका बनाउन आफ्ना चुनावी घोषणापत्रको अक्षरशः पालना गर्ने प्रतिबद्धता मेरो छ । गाउँमा ठडिएका भौतिक सिंहदरबारले सेवामा पनि सिंहदरबार झल्काउनु पर्छ ।

पूर्वाधार विकास र सेवा प्रवाह, शैक्षिक गुणस्तरमा जिल्लाकै नमुना पालिका हिमा बनाउने अभियानमा छांै । सीमित स्रोतले असीमित चाहना परिपूर्ति गर्न आवश्यक योजना चाहिन्छ । इच्छाशक्ति भएमा बजेट अभाव बाधक बन्न सक्दैन भन्ने उदाहरण हिमा बनेको छ । जनताले प्रत्यक्ष महसुस गर्ने तर हेर्दा देख्दा सानो लाग्ने आधारभूत विकासमा हिमा अग्रसर छ । बर्खामा बाइक बगाउने हिमा प्रवेशद्वारको खोलामा पुल बनाएपछि रारा जाने पर्यटकलाई ठूलो राहत भएको छ ।

हिमाको ७ नम्बर वडा बाहेक ६ वटा वडामा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएका छन् । त्यसबाट पनि नागरिकले संघीयताको महसुस नजिकबाट गर्न पाएका छन् । हिमाका दुर्गम गाउँमा विद्यमान इन्टरनेट समस्या पनि अन्त्य भएको छ । फोरजी सहितको इन्टरनेट सेवा सुरु भएपछि हिमाबासी खुसी छन् ।

त्यस्तै, गत असोजमा आएको बाढीले पुल बगाउँदा आवतजावत गर्न कठिनाइ भएको हिमाको बड्की मोफ्ला जोड्ने काठेपुल सेनाले बनाउँदा तत्कालिन राहत भएको थियो । तर हिमा सरकारले ४८ लाखभन्दा बढीको लागतमा दुई वडा जोड्ने झुलंगे पुल निर्माण थालिएको छ । काठेपुल दिगो समधान नभएको र वर्षेनि आउने बाढीले समस्या निम्त्याउने भन्दै झोलंगे पुल निर्माण थालिएको हो । वर्षौंदेखि भवन अभावले कोचिएर पढ्नुपर्ने बाध्यता खेपिरहेको रुपाकोट विद्यालयमा ३६ लाख लागतमा पक्की भवन बनेको छ, जसले गर्दा पठनपाठनमा सहज भएको छ ।

हामी हिमालाई जिल्लाकै नमुना बनाउने अठोटका साथ काम गरिरहेका छौं । शिक्षा क्षेत्रलाई हिमाले पहिलो प्रथामिकता दिएको छ । समाजमा हुने खाने र हुँदा खानेबीचको विभेद अझै कायम छ । त्यसको प्रत्यक्ष असर शैक्षिक संस्थामा देखियो । धनी र गरिबले आर्जन गर्ने शिक्षामै विभेद छ । त्यसैले हिमाको शैक्षिक क्षेत्र सुधारमा विशेष जोड दिएका छौं । पाँच वर्षमा शिक्षा क्षेत्रमा देखिने खालका सफ्टवेयर तथा हार्डवेयरका थुप्रै काम गर्ने योजना छ ।

जुम्लाका आठै पालिकामध्ये शिक्षा, विकास निर्माण र सेवा प्रवाहमा जिल्लाकै नमुना बन्ने कसरतका साथ काम अघि बढाइएको छ । हिमाका २२ वटै विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ गर्ने प्रक्रिया थालिएको छ । प्रत्येक विद्यालयमा डिजिटल हाजिरी, फ्रि वाइफाई, सिसि क्यामरा जडान गरिँदै छ । साथै हिमा गाउँपालिकालाई विकास र सेवा प्रवाहमा कर्णालीकै नमुना पालिका बनाउने लक्ष्यका साथ हिमाका कर्मचारी र जनप्रतिधि जुटेका छौं । कुनै पनि कर्मचारीले बिना सर्त छिटो छरितो सेवा दिने छन् ।

हेल्पडेस्कको स्थापना गरेका छौं भने गुनासो सुनुवाइलाई प्रभावकारी बनाइने छ । विकास निर्माणलाई विगतको भन्दा केही पृथक गर्ने पनि योजना छ । बढ्दो जलवायु परिवर्तनबाट बच्न, वातावरण संरक्षण गर्न तथा बाढी, भू–क्षयजस्ता घटना न्यूनीकरण गर्न ‘ग्रिन रोड ग्रिन रिभर’को नीति अनुसार पाँच वर्षमा २ लाख ५० हजार बिरुवा रोप्ने अभियान समेत थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्