Logo

मेलम्ची खानेपानीको अवस्था

१३ वर्षमा ५१ अर्ब खर्च, आयोजना अस्थायी

२०७८ १ गते मेलम्ची नदीमा आएको बाढीपहिरोका कारण डुबानमा परेको मेलम्ची खानेपानी आयोजनाको संरचना । फाइल तस्बिर

आधा खर्ब रुपैयाँ लगानी भएको आयोजना वर्षभरि सञ्चालनमा ल्याउने गरी सरकारले कुनै तयारी गरेको छैन । वर्षायाममा आयोजनाको मुहान बन्द गर्ने र हिउँदमा सञ्चालनमा ल्याउने ध्यानमात्र सरकारको देखिएको छ ।

दुई दशकदेखिको चर्चा–परिचर्चा, ५१ अर्ब रुपैयाँ लगानी र १३ वर्ष लामो निर्माण समय लागेको मेलम्ची खानेपानी आयोजना अन्ततः अस्थायी आयोजनाका रुपमा परिणत हुने सम्भावना बढेको छ । मेलम्ची नदीको जलाधार क्षेत्रमा २०७७ साल मा आएको भिषण वर्षा र पहिरोसँगै बालुवाको लेदो बगेर मेलम्ची खानेपानीको मुहानमा समस्या पारेपछि यो आयोजना हिउँदमा चल्ने र वर्षायाममा नचल्ने गरी अस्थायी बन्न पुगेको हो ।

यसबीचमा आधा खर्ब रुपैयाँ लगानी भएको आयोजना वर्षभरि सञ्चालनमा ल्याउने गरी सरकारले कुनै तयारी गरेको छैन । वर्षायाममा आयोजनाको मुहान बन्द गर्ने र हिउँदमा सञ्चालनमा ल्याउने ध्यानमात्र सरकारको देखिएको छ । मेलम्ची खोलामा बाढी आएको दुई वर्ष बितिसकेको छ । राजधानीका वासिन्दालाई खानेपानी आपूर्ति गर्ने महत्वपूर्ण यो आयोजना वर्षैभरि कसरी सञ्चालनमा ल्याउन सकिन्छ भनेर सरकारले अहिलेसम्म छलफल समेत चलाएको छैन । यसले यो आयोजनाको भविष्यमाथि नै प्रश्नचिह्न लगाएको छ ।

यो आयोजना निर्माणमा एसियाली विकास बैंकसँगको साझेदारीमा हालसम्म ५१ अर्ब रूपैयाँ खर्च भइसकेको छ । आयोजनाको सुरुङमार्ग, हेड वक्र्सलगायत पूर्वाधार निर्माणमा ३० अर्ब रूपैयाँ खर्च भएको हो । यस्तै, सुन्दरीजलबाट काठमाडौं उपत्यकामा खानेपानी वितरण प्रणालीलगायत संरचना निर्माणका लागि २१ अर्ब रूपैयाँ खर्च भएको हो । निर्माणका चरणमा सिर्जना भएका धेरै विवादलाई चिर्दै र पटक–पटक निर्माण कम्पनीहरूलाई परिवर्तन गरेर आयोजना बनेको हो । आयोजना अन्तर्गत २७.५८ किलोमिटर सुरुङ निर्माण गरिएको छ ।

आयोजनाका एक उच्च अधिकारीका अनुसार पछिल्ला विभागीय मन्त्रीहरू र आयोजनाका जिम्मेवार पदाधिकारीहरूले यसलाई वर्षैभरि सञ्चालनमा ल्याउन कुनै पहल नगरेको जानकारी दिए । “मेलम्ची खोलामा बालुवासहितको लेदो बग्न छोडेपछि मात्र यसका बारेमा सोच्ने भन्ने मानसिकता जिम्मेवार पदाधिकारीहरूमा देखिएको छ,” ती अधिकारीले भने, “अहिलेलाई हिउँदमा ल्याउने अनि वर्षात्मा बन्द गर्ने योजना भन्दा अर्को बनाइएको छैन ।”

उनका अनुसार आयोजनालाई अहिलेकै अवस्थामा राख्दा उच्च अधिकारीहरूलाई फाइदा पुगेको छ । प्रत्येक वर्ष मर्मतसम्भारका रुपमा ठूलो बजेट विनियोजन गरी यसलाई ‘दुहुनो गाई’ बनाउन सकिने सम्भावनाले आयोजनालाई सधैं अस्थायी बनाउन खोजिएको उनको आरोप छ । आयोजनाले यो वर्ष वर्षात्को मौसम सकिएको भन्दै केही समय अगाडिदेखि पानी ल्याउने गरी काम गर्दै आएको छ । आयोजनका अनुसार आगामी २ साताभित्र उपत्यकामा खानेपानी ल्याउने गरी काम भइरहेको छ ।

सरकारले राजनीतिक लाभ लिन मंसिर ४ को निर्वाचनअघि नै मेलम्चीको पानी फेरि वितरण गर्ने तयारी थाले पनि त्यो पूरा हुन सकेन । मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले अबको २ साताभित्र मेलम्ची खानेपानी वितरण गर्ने गरी काम भइरहेको जानकारी दिए । “हामीले निर्वाचनअघि नै पानी वितरण गर्न सक्छांै कि भनेर लागेका थियौं । मनसुन अन्त्यमा सक्रिय हुँदा वर्षा बढी भयो । बाटो अवरुद्ध भएका कारण फिल्डमा जान सकिएन र पानी सफा हुन पनि समय लाग्यो,” उनले भने, “अब नदीको पानी पनि संग्लो भएको छ, फिल्डमा काम दु्रत गतिमा अगाडि बढेको हुनाले २ साताभित्र नै पानी वितरण गर्ने गरी लागिरहेका छौं ।”

२०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढी, पहिरोका कारण आयोजनाको संरचनामा क्षति पुगेपछि खानेपानी वितरण बन्द भएको थियो । अर्कोतिर मेलम्ची खानेपानी विकास समिति खारेजी गर्ने सरकारको निर्णयले आयोजना सञ्चालनमा अन्योल उत्पन्न भएको छ । चालू आर्थिक वर्षको बजेट वक्तव्यमा विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज गर्ने भनिएको थियो । यसले मेलम्ची आयोजना कसरी र कसले अघि बढाउने भन्नेमा अन्योल देखिएको हो । बजेटले समितिबाट सम्पादन हुँदै आएका काम खानेपानी तथा ढल व्यवस्थापन विभागले गर्ने भनेको थियो ।

खानेपानी मन्त्रालयले भने मेलम्ची खानेपानी आयोजना भएकाले अब मेलम्ची खानेपानी पुन वितरण कसले गर्ने भन्नेमा अन्योल नहुने बताएको छ । मन्त्रालयका सूचना अधिकृत इन्द्रकुमारी थपलियाले मेलम्ची आयोजना सञ्चालनमा अन्योल नहुने भन्दै गठन आदेशमार्फत मेलम्ची खानेपानी विकास समितिलाई सक्रिय बनाउने तयारी भएको जानकारी दिएकी छिन् । “समितिलाई नै निरन्तरता दिन गठन आदेशबाट निर्णय गराउने तयारी पनि छ । अहिले फाइल अर्थ मन्त्रालय पुगेको छ,” उनले भनिन्, “पानी वितरण छिट्टै गर्ने तयारी छ, अन्योल आउने छैन ।”

१३ वर्षमा के के भयो ?

मेलम्ची खानेपानी आयोजना बनाउने चर्चा भएको दुई दशकभन्दा धेरै भएको छ । यसको अध्ययन र डिजाइन पनि धेरै पहिले भएको हो । आयोजना निर्माण सुरु भने सन् २००९ देखि भएको हो । मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स तथा सुरुङ निर्माणका लागि पहिलो ठेकेदार चिनियाँ कम्पनी चाइना रेल्वे कम्पनीसँग १९ फेब्रुअरी २००९ मा सम्झौता भएको थियो ।

सम्झौताअनुसार २ सेप्टेम्बर २०१३ मा निर्माण सम्पन्न गर्नुपथ्र्याे । तर, चिनियाँ कम्पनी सिसिएमसीले सम्झौता अनुसार काम गर्न नसकेपछि २५ सेप्टेम्बर २०१२ मा ठेक्का सम्झौता तोडिएको थियो । चिनियाँ ठेकेदार कम्पनीले आवश्यक उपकरण ल्याएर सुरुङ खन्न नसकेपछि बीचैमा छाडेको थियो । चिनियाँ ठेकेदार कम्पनीसँग सम्झौता रद्द हुँदासम्म ६.४१ किलोमिटर मात्रै सुरुङ खनिएको थियो ।

सुरुङको बाँकी काम र हेडवक्र्स बनाउन १ डिसेम्बर २०१२ मा अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरिएको थियो । बोलपत्रमा ४ वटा ठेकेदार कम्पनी सहभागी भएका थिए । अन्तिममा इटालियन ठेकेदार कम्पनी सीएमसी छनोट भएको थियो । निर्माणकर्ताका रुपमा आएको यो दोस्रो कम्पनी र आयोजनाबीच १५ जुलाई २०१३ मा भएको ठेक्का सम्झौता अनुसार १ हजार ९५ दिनभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो । यो ठेक्का सात अर्ब ७२ करोड भ्याट बाहेकको थियो ।

मुलुकमा आएको भूकम्प र त्यसपछिको भारतको अघोषित नाकाबन्दीका कारण समयमा काम हुन नसकेपछि आयोजनाको म्याद मार्च २०१८ सम्म थप गरिएको थियो । तर इटालियन कम्पनीले पनि काम गर्न सकेन । यो कम्पनीले विभिन्न बहानामा थप बजेट र समय मागेपछि केही विवाद उत्पन्न भएको थियो । विवाद समाधान हुन नसकेपछि सिएमसीले १५ डिसेम्बर २०१८ मा आयोजनाको साइट छाडेर निर्माण कार्य स्थगित गरेको थियो । त्यसपछि पनि विभिन्न विवाद हुँदा अन्ततः फेब्रुअरी २०१९ मा ठेक्का सम्झौता रद्द भएको थियो ।

इटालियन ठेकेदार कम्पनीसँग सम्झौता रद्द भएसँगै मेलम्ची आयोजनाको काम झण्डै एक वर्ष आन्तरिक किचलोको कारणले ठप्प रह्यो । ३१ मे २०१९ मा मुख्य दुई प्याकेजको नयाँ खरिदका लागि बोलपत्रको सूचना प्रकाशन गरियो । सुरुङको बाँकी रहेको कामको ठेक्का सिनो हाइड्रोले २०७६ असोज १२ गते लियो । सुरुङको फिनिसिङ लगायतका आवश्यक काम एक वर्षभित्र सम्पन्न गर्ने गरी ८५ करोड रुपैयाँमा ठेक्का पाएको थियो ।

त्यसैगरी सिनो हाइड्रोले नै आयोजनाको हेडवक्र्स, कोफर ड्याम लगायतको संरचना निर्माणको लागि एक अर्ब रुपैयाँको ठेक्का पाएको थियो । हेडवक्र्स १५ महिना र सुरुङ एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने सम्झौता गरिएको थियो । तर, कोभिडका कारण लकडाउन भएपछि फेरि काममा समस्या आयो । अन्ततः अनेकौं विवादका बीच आयोजना सम्पन्न भएर राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ चैत २० मा भृकृटीमण्डपमा टुटी खोलेर मेलम्ची पानी वितरणको शुभारम्भ गरेकी थिइन् ।

२०७८ जेठ मसान्तमा मेलम्चीको सुरुङमार्ग परीक्षण गर्नका लागि ढोका बन्द गरिएको थियो । ढोका बन्द भएकै अवस्थामा असार १ मा मेलम्ची नदीमा बाढीहपहिरो आएर पानी आपूर्ति बन्द भयो । बाढीपहिरोले क्षतिग्रस्त भएपछि २०७८ मा सरकारले भ्याटसहित ३६ करोड ४५ लाख ३३ हजार रुपैयाँ खर्च गरेर मेलम्चीको पानी अस्थायी रुपमा काठमाडौं ल्याएको थियो ।

गत २०७९ वैशाख ११ देखि काठमाडौंमा फेरि वितरण गरिएको थियो । तर, २०७९ जेठ दोस्रो साता फेरि मेलम्चीमा बाढी आउने भनेर रोकिएको पानीको आपूर्ति अब २ सातामा आउने भनिएको छ । यो वर्ष फेरी मेलम्चीमा जम्मा भएको ग्रेगान हटाउन करिब ५ करोड लाग्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्