अर्थतन्त्रमा देखिएका समस्याले निजी क्षेत्र निराश

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्लो समय निजी क्षेत्रको मनोबल कमजोर भएको बताएका छन् । अध्यक्ष गोल्छाले बजारमा तरलता चरम अभाव, उद्योगको उत्पादन क्षमतामा कमी, बैंकको ब्याजदर वृद्धि लगायत सरकारको नीतिको कारण निजी क्षेत्रको मनोवल कमजोर भएको बताए ।
उनले सरकारले लामो समय आयात प्रतिवन्ध गर्दा राजस्व संकलनमा कमी आएकाले सरकारको दैनिक खर्च गर्नसमेत समस्या हुने गरेको बताए । उनले सरकारले मुलुकको वर्तमान अर्थतन्त्रमा वास्तविकता परीक्षण गर्न आवश्यक रहेको बताए । अध्यक्ष गोल्छाले अहिले ५० लाख विदेशमा रहेका युवाले पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चलेको बताए ।
उनले देशभित्र नै युवाहरुलाई रोजगारी दिन नसक्नु उद्योगी व्यवसायी र सरकारको कमजोरी भएको बताए । उनले मुलुकभित्रै युवाहरुले भविष्य खोज्न सक्नुपर्ने बताए । उनले युवालाई देशभित्र नै रोजगारी दिन नसक्नु चुनौतीपूर्ण अवस्था भएको बताए । अध्यक्ष गोल्छाले ६० वर्षदेखि नेपालमा उद्योग क्षेत्रका समस्या एउटै भएपनि अहिलेसम्म एउटै समस्या यथावत रहेको बताए ।
उनले देशभित्र नै औद्योगिक विकास गरी उचित मूल्य दिन सक्नुपर्ने बताए । उनले बढ्दै गएको व्यापार घाटा कम गर्नको लागि देशमा औद्योगिक विकास गर्न जरुरी रहेको बताए । उनले सरकारले उद्योगलाई बचाउनसके मात्रै अहिले देखिएको अर्थतन्त्रको समस्या समाधान हुने बताए । अध्यक्ष गोल्छाले उद्योग क्षेत्रका समस्या समाधान हुनको लागि राजनीतिक स्थायित्व आवश्यक रहेको बताए ।
उनले सरकार राजस्वमुखी अर्थतन्त्रमा गएकाले कसरी उत्पादन र रोजगारमुखी बनाउने योजना सरकारसँग नभएको आरोप लगाए । उनले सरकारले निश्चित उद्योगलाई ब्याजदरमा अनुदान दिनुपर्ने बताए । गोल्छाले नेपालमा मूल्य अभिवृद्धि हुने, धेरै रोजगारी सृजना गर्ने र धेरै निर्यात गर्ने उद्योगलाई सरकारले ब्याजमा अनुदान दिनुपर्नेमा जोड दिए । उनले वर्तमानको आर्थिक संकटले सरकार र निजी क्षेत्र धरासायी भएको बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले अर्थतन्त्रमा देखिएका समस्याले निजी क्षेत्र निराश रहेको बताए । उनले पछिल्लो समय तलरलताको चरम अभाव, बैंकको ब्याजदर १८ प्रतिशतसम्म वृद्धि, मागमा समेत ठूलो रुपमा संकुचन भएकाले निराशा छाएको बताए । उनले उद्योगीहरुले उद्योगमा लगानी गर्ने वातावरण नभएकाले ७० प्रतिशत उद्योगीहरुले लगानी रोकेर राखेको बताए । अध्यक्ष अग्रवालले सरकारसँगको सहकार्यमा अगाडि बढाइरहेको मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आवद्ध सदस्यलाई सहुलियत दिन माग गरे ।
उनले परिसंघले अगाडि सारेको मेक इन नेपाल ‘स्वदेशी’ अभियानमार्फत ४ वर्षमा वार्षिक १ हजार उद्योग दर्ता गर्ने, वर्षमा उद्योगको योगदान २२ प्रतिशत बनाउने १ लाख ५० हजार युवालाई वार्षिक रोजगारी सिर्जना गर्ने र निर्यातलाई ४ मिलियन डलर पुर्याउने उद्देश्य रहेको बताए । उनले सरकारले पछिल्लो समय अर्थतन्त्र तथा उद्योग क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्राथमिकताका साथ लाग्नुपर्नेमा जोड दिए ।