Logo

अझैँ बनेनन् भेरी करिडोरमा पुल

एक वर्षभित्र पूरा गर्ने भन्दै निर्माण सुरु गरिएका भेरी करिडोरभित्रका पुलहरु अझैँ निर्माण हुन सकेका छैनन् । करिडोरभित्र जाजरकोट–डोल्पा सडक खण्डभित्र पुल निर्माण हुन नसकेका हुन् । ३ करोड ८५ लाखमा उक्त पुल निर्माणको जिम्मेवारी हिम सगरमाथा, खड्का कृष्ण जेभीले लिएको थियो । २०७८ पुस १६ गते पुल निर्माणको सम्झौता भएको थियो भने २०७९ असार १५ गतेभित्र निर्माण पूरा गर्ने सम्झौता रहेको सडक डिभिजन चौरजहारीले बताएको छ ।

तोकिएको समयमा काम नगर्दा ६ महिना थपेर पुस मशान्त सम्मा निर्माण गर्न सडक डिभिजनले जेभिका बुद्धीबहादुर खत्रीलाई प्रतिबद्धता गराएको डिभिजन प्रमुख आशुतोष कर्णले बताए । कर्णले भने ,‘तल्लु बगरको पुल भेरी कोरिडोर अन्तर्गत निर्माण गरिनुपर्ने मुख्य पुल हो। यसले डोल्पालाई सडक सञ्जालसँग जोड्ने काम गर्छ । हाल त्यस ठाउँमा पक्की पुल नभएको भएर ढुवानी अत्यधिक महँगो रहेको छ। हालसम्म यसको एकतिरको फाउन्डेसन र बीचको पिलरको कार्य भइरहेको छ। प्रगति न्यून रहेकोले निर्माण व्यवसायीलाई कार्यालयमा भौतिक उपस्थिति गराई पौष मसान्तभित्र निर्माण कार्य सक्नुपर्ने प्रतिबद्धता कार्यालयले गराएको छ।’

जाजरकोट नलगाड नगरपालिका–११ र रुकुम पश्चिम आठबीसकोट–६ अनाह बीचमा रहेको भेरी नदीमा पुल निर्माण नहुँदा यहाँका सर्वसाधारणले दैनिक सास्ती भोग्दै आएको डोल्पा ठुलिभेरी नगरपालिका दुनैका जयकृष्ण हमालले बताए । यो पुल निर्माणको भाका थपिएको म्याद समेत सकिन केही दिन बाँकी रहँदा पनि काम सुरु नै गरिएको छैन । सडक डिभिजन चौरजहारीले निर्माण गर्न लागेको भेरी नदीमाथीको यो पुल राजनीतिक नारा बर्षेनी बन्दै आएको छ ।

अर्थमन्त्री जर्नादन शर्मादेखि पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतको निर्वाचन क्षेत्रभित्र यो पुल पर्ने भएकाले वर्षेनी चुनावी नारा बन्दै आएको छ । यो पुल निर्माण नभएकै कारण डोल्पामा जाने दैनिक उपभोग्य सामग्रीहरु महंगो हुँदै आएको छ । त्यस्तै नलगाड नगरपालिका–१० चौखामा रहेको ताक्सुगाडर वडा ८ को खमाउरे खोलामाथी पुल निर्माण गर्ने भनिएपनि अहिले सम्मा पुल निर्माणको सुरसार नहुँदा वर्षेनी वर्षायाममा यातायातका साधनहरु अवरुद्ध हुने गर्दछन् ।

त्यस्तै डोल्पाको ठुलिभेरी नगरपालिकाको रुपगाड खोलामा ७ वर्षदेखि पुल निर्माण नहुँदा यहाँका सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । काठको लाप्कोमा जोखिमपूर्ण तरिकाले यातायातको साधनहरु राखेर वारपार गराउनु परेको डोल्पाका प्रमुख जिल्ला अधिकारी बेदनीधि अधिकारीले जानकारी दिए ।

सदरमुकाम दुनै र जुफाल जोड्ने मुख्य सडकका साथै भेरी करिडोरभित्रको डोल्पा सदरमुकाम जोड्ने मुख्य पुलका रुपमा यसलाई लिन सकिन्छ । यी पुल निर्माण नहुँदा डोल्पामा उत्पादन भएका स्याउँ, जिम्बु र अन्य जडीवुटीहरु ढुवानीमा समस्य थपिँदै आएको छ । सुर्खेत, नेपालगन्ज, काठमाडौँ लगाएतका विभिन्न ठाउँबाट रुकुम पश्चिमको आठबीसकोटको माथिल्लो भाग, डोल्पा र जाजरकोटको माथिल्लो भागमा लिने र ल्याउने सामग्रीहरु पुलकै कारण बाधा पुग्दै आएको छ । झोलुङ्गे पुलमा स्थानीय मजदुरद्वारा प्रतिकेजीको ४० रुपैयाँमा बोकाएर लिँदा र ल्याउँदा सामग्रीको मूल्य वृद्धि हुने गरेको छ ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका १२ मा रहेका खोलाहरुमा समेत पुल निर्माण नहुँदा वर्षायाममा यातायातका साधनहरु ठप्प हुने गरेका छन् । यी सबै ठाउँमा एक वर्षअघि नै पुल निर्माण गर्ने लक्ष्य लिइएपनि अहिलेसम्म काम नै सुरु हुन सकेको छैन । पुल निर्माण नहुँदा दैनिक उपभोग्य सामग्री स्थानीय मजदुरबाट ढुवानी गरेर अर्को ठाउँबाट यातायातका ढुवानी गराउँदा मुल्य वृद्धि हुने गरेको छ । सबै भन्दा बढी डोल्पाका सर्वसाधारणलाई समस्य हुँदै गएको छ ।

निर्माणका सामग्रीदेखि जिल्लामा हुने सबै खालका विकासका कामहरु यही सडकबाट ढुवानी हुने भएको हरेक सामग्री महंगो र तोकिएको समयमा नपुग्ने गरेको छ । जाजरकोट सदरमुकामबाट नलगाड नगरपालिका–११ तल्लुसम्म पिचको लागि ठेक्का भएर काम सुरु गरिएपनि त्यो काम सन्तोषजनक रुपमा अगाडि बढ्न नसकेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए ।

पुल र सडकको स्तरोन्नती ढिला हुँदा डोल्पाको जगदुल्ला जलविद्युत आयोजना निर्माणका लागि प्रयोग हुने पहुँच मार्ग निर्माण तथा पुल निर्माणमा समेत समस्य देखिएको छ । पुल र सडक निर्माण छिटो भएमा आयोजनको काममा सजिलो हुने आयोजनका प्रोजेक्ट म्यानेजर सञ्जय सापकोटाले बताए ।

उता सडक डिभिजन चौरजहारीले भने निर्माण व्यवसायीले समयमा काम नगरेको आरोप लगाउँदै आएको छ । शक्ति केन्द्रमा रहेका निर्माण व्यवसायीले ठेक्का लिएका कारण डिभिजन कार्यालय चौरजहारीले जतिसुकै ताकेता गरेपनि मतलव नै नगरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्