चितवनमा खुम्चिए ठूला दल «

चितवनमा खुम्चिए ठूला दल

चितवनमा ठूला भनिएका दलहरु यसपाली कमजोर बनेका छन् । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले, कांग्रेस, माओवादी भन्दा भर्खरै खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनमत बढी पाएको छ । चितवनका ३ संघीय क्षेत्र र ६ प्रदेश क्षेत्रमा ठूला दल निकै कमजोर देखिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ मा भारि मतान्तरले जित्यो । १ मा ७ हजार ५ सय ८१, २ मा ३४ हजार ३ सय १२ मतान्तर सहित विजयी बने । चितवन ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले ९ हजार २ सय ३३ मतान्तरले जित्यो । १ मा हरि ढकाल, २ मा रवि लामिछाने, ३ मा विक्रम पाण्डे निर्वाचित भए । ढकालले ३४ हजार १ सय ८९ , लामिछानेले ४९ हजार ३ सय, पाण्डेले ३५ हजार ६० मत ल्याए ।

चितवनका मतदाताले कांग्रेस, एमाले, माओवादीलाई प्रत्यक्ष जिताएर संघीय सांसद बनाएनन् । गठबन्धन, संगठन विस्तार गरेर बलियो ठानिएका दलप्रति जनता उत्साहित देखिएनन् । ढकाल शेयर बजारका लगानीकर्ता, एमाले निकट अनेरास्ववियु चितवनको पूर्व सचिव हुन् । ढलकासँग एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा गठबन्धनका उम्मेदवार कांग्रेस नेता विश्वनाथ पौडेल चुनावी मैदानमा थिए ।

पाण्डेले २६ हजार ६ सय ८, पौडेलले २४ हजार ९ सय ९० मत पाए ।पाण्डे २०५४ देखि २०६० सम्म राष्ट्रिय सभा सदस्य, २०६४ मा समानुपातिक सांसद, २०७० र २०७४ मा निर्वाचित सांसद थिए । पाण्डे सफल अर्थमन्त्रीका रुपमा चिनिन्थे । क्षेत्र नम्बर १ मा पर्ने ४२ वडामध्ये बैशाखको स्थानीय तह चुनावमा कांग्रेसले १८, एमालेले २० र माओवादीले १ वडा जितेका थिए । एमालेको पक्षमा वडाध्यक्षले पाएको मत हेर्दा ३९ हजार ६ सय ६, गठबन्धनले पाएको मत ४६ हजार ५ सय ७७ थियो । तर, ढकालले बाजी मारे ।

चितवन १ मा पर्ने खैरहनी नगरपालिकामा मेयर कांग्रेस, उपमेयर एमाले, राप्तीमा मेयर एकीकृत समाजवादी, उपमेयर कांग्रेस, रत्ननगरमा मेयरमा कांग्रेस र उपमेयर एमालेले जितेका थिए । यो क्षेत्रमा १ लाख ३९ हजार ८ सय ४५ मतदाता रहेकोमा ९५ हजार ४१ मत ६७.९६ प्रतिशत मत खसेको थियो ।

जसमा ३ हजार ६ सय १२ मत बदर भएको थियो ।चितवन–१ मा २०४८ र २०५१ मा एमालेका जागृतप्रसाद भेटवाल, २०५६ मा कांग्रेसकी सावित्री वोगटी, २०६४ मा एमालेका लालमणी चौधरीले चुनाव जितेका थिए । यता, चितवन क्षेत्र नम्बर २ मा पनि बलिया भनिएका उम्मेदवार कमजोर सावित भए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वसञ्चारकर्मी रवि लामिछाने भारि मतसहित विजयी बने ।

क्षेत्र नम्बर २ मा इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका, भरतपुर महानगरपालिकाको १० वडाहरु पर्छन् । लामिछानेले ३४ हजार ३ सय १२ मतान्तरले हराउँदै सांसद बने । सत्ता गठबन्धनबाट कांग्रेस नेता उमेश श्रेष्ठले १४ हजार ९ सय ८८, एमाले नेता कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ५२ मत ल्याए । श्रेष्ठ २ पटक समानुपातिकबाट सांसद भएका उनी राज्यमन्त्री समेत हुन् ।

२०७० र २०७४ मा निर्वाचित सांसद पोखरेल संविधान र कानुन लेखनमा सक्रिय थिए । स्थानीय तह चुनावमा यो निर्वाचन क्षेत्रबाट गठबन्धनका १७ जना वडाध्यक्ष बने । एमालेका ११ जना वडाध्यक्ष बने । गठबन्धन र एमाले वडाध्यक्षको मत बराबरी जस्तै थियो । तर, मतदाताले घण्टी चुनाव चिन्ह रुचाए ।

चितवन–२ मा २०४८ मा तत्कालिन नेकपा प्रजातिन्त्रकका भीमबहादुर श्रेष्ठ, २०५१ मा एमालेका काशिनाथ अधिकारी, २०५६ मा एकनाथ रानाभाट, २०६४ मा तत्कालिन २ मा माओवादीका रामबहादुर थापा बादल, तत्कालीन ३ मा माओवादीकै नारायणप्रसाद दाहाल निर्वाचित थिए । १ लाख २४ हजार मतदाता रहेको यो क्षेत्रमा ६७.६३ प्रतिशत मत खसेको थियो । ३ हजार २ सय ६४ मत बदर भएको थियो ।

चितवन क्षेत्र नम्बर ३ माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित क्षेत्र हो । तर, यसपाली राष्ट्रिय प्रजातन्त्र पार्टीले झण्डै १० हजार मतान्तरले चुनाव जित्यो । राप्रपाका उपाध्यक्ष तथा पूर्वमन्त्री पाण्डे चितवनको यो निर्वाचन क्षेत्रबाट ५ औँ पटक चुनाव लडेका हुन् ।

वैशाखको चुनावमा राप्रपाले यो निर्वाचन क्षेत्रमा पर्ने २ वडाहरु मात्रै जितेको थियो । २८ वडाहरुमध्ये कांग्रेसका १०, एमालेका ४, माओवादीका ७, एकिकृत समाजवादीका ४, स्वतन्त्र १ वडाध्यक्ष निर्वाचित थिए । वडाध्यक्षले पाएको मत हेर्दा राप्रपा निकै कमजोर थियो । एमाले २९ हजार ७ सय ७१, कांग्रेस २९ हजार ३ सय ४३, राप्रपाको ६ हजार १ सय ९८, एकीकृत समाजवादीको ५ हजार ३७ मत थियो । गठबन्धनको ४५ हजार १ सय ७२, एमालेको ३० हजार ६ सय ९ मत, राप्रपाको ७ हजार ४ सय७४ मत थियो ।

२०७४ को चुनावमा पनि राप्रपाको समानुपातिक मत निकै कम थियो । तत्कालीन राप्रपा प्रजातान्त्रिकले ५ हजार ६ सय ९३ मत, एमालेको २४ हजार १ सय ५५, कांग्रेसको २६ हजार १ सय ३७ मत, माओवादीको २२ हजार ९ सय ८८ मत थियो । २०७४ को चुनावमा पाण्डे प्रचण्डसँग ९ हजार ३ सय ४१ मतान्तरले हारेका थिए । पाण्डेलाई कांग्रेसले र प्रचण्डलाई एमालेले सघाएका थिए ।

यसपाली कांग्रेस, माओवादी लगायतको ५ दलीय गठबन्धन, एमालेले कांग्रेसका बागी उम्मेदवारलाई समर्थन गरी चुनावी तालमेल गरेको थियो । पाण्डे मैदानमा एक्लै थिए । पाण्डे २०७० मा यही निर्वाचन क्षेत्रबाट संविधानसभा सदस्यमा निर्वाचित थिए । उनी छोटो अवधि भएपनि दुई मन्त्रालय सम्हालेका थिए । चितवन ३ मा १ लाख ४४ हजार २ सय ८३ मतदाता रहेकोमा ६५.३४ प्रतिशत मत खसेको थियो । ४ हजार ७ सय ५७ मत बदर भएको थियो ।
प्रदेशमा समिकरण बदलियो ।

चितवनका ६ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये २ वटा निर्वाचन क्षेत्रमध्ये अन्य ४ वटैमा फरक दलले चुनाव जितेका छन् । चितवन १ (१) मा एमालेका जगन्नाथ थपलिया, १(२) मा एकीकृत समाजवादीका कृष्णशर्मा खनाल निर्वाचित भए । चितवन २ (१) मा एमालेका कृष्णप्रसाद सिलवाल, २ (२) मा कांग्रेसका उत्तम जोशी निर्वाचित भए । चितवन ३(१) मा राप्रपाका गिरबहादुर तमाङ (ज्ञानजंग लामा), ३(ख) मा माओवादीका ठाकुरप्रसाद ढकाल निर्वाचित भए ।

२०७४ मा एमाले–माओवादी मिलेर चुनाव जित्दा चितवनबाट प्रत्यक्ष सिटमा कांग्रेस, राप्रपा शून्य थिए । २(क) र ३ (ख) माओवादीले र अरु ४ वटै एमालेले जितेको थियो । यसपाली एमालेले २ वटा प्रदेश क्षेत्र जित्यो । कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राप्रपाले एक एक क्षेत्र जिते । उबेला २ (क) बाट जितेका माओवादीका घनश्याम दाहाल हारे । १ (ख) बाट एमालेहुदा जितेका कृष्णप्रसाद शर्मा खनाल एकीकृत समाजवादीबाट यसपाली पनि जिते । ३ (क) मै फेरी उम्मेदवारी दिएका एमालेका कृष्णप्रसाद भुर्तेल यसपाली हारे ।

२०७४ मा वामगठबन्धनले कांग्रेस उम्मेदवारलाई १ हजार ४० देखि ८ हजार ९ सय २ मतान्तरले हराएका थिए । तर, यसपाली मतान्तर धेरै देखिएन । १ (१) मा निर्वाचत थपलियाले कांग्रेसका उम्मेदवारलाई ६ हजार ९ सय ७६ मतान्तरले हराए । थपलियाले १७ हजार ६ सय ८८ मत ल्याए । १ (२) बाट निर्वाचित एकीकृत समाजवादीका खनालले एमालेका उम्मेदवारलाई ७ सय ३९ मतान्तरले हराए । खनालले १५ हजार ५ सय ७ मत ल्याए ।

२ (१) बाट निर्वाचित सिलवालले माओवादीका उम्मेदवारलाई १ हजार २ सय ३९ मतान्तरले हराए । सिलवालले १६ हजार ५ सय ३ मत ल्याए । २ (२) बाट निर्वाचित जोशीले एमालेका उम्मेदवारलाई ५ सय ६४ मतान्तरले जिते । जोशीले १३ हजार ३ सय २५ मत ल्याए ।३ (१) बाट निर्वाचित तमाङले कांग्रेसका उम्मेदवारलाई २ हजार ८ सय ६० मतान्तरले हराए । तमाङले १७ हजार ८ सय १९ मत ल्याए । ३ (२) बाट निर्वाचित ढकालले राप्रपाका उम्मेदवारलाई ८ सय ४६ मतान्तरले हराए । ढकालले १५ हजार ४ सय ६६ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्