प्रतिनिधिसभामा कर्णालीमा एमाले शून्य, अबको मुख्यमन्त्री को ? «

प्रतिनिधिसभामा कर्णालीमा एमाले शून्य, अबको मुख्यमन्त्री को ?

प्रतिनिधिसभामा १२ सिट रहेको कर्णालीमा नेकपा एमाले शून्य भएको छ । प्रदेससभामा प्रत्यक्षतर्फ जितेको नेकपा (एमाले) प्रतिनिधिसभामा शून्य भएको हो । जाजरकोटमा नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेत, रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) का जर्नादन शर्मा, सुर्खेत क्षेत्र नम्बर १ मा कांग्रेसका पुर्णबहादुर खड्का, क्षेत्र नम्बर २ मा हृदयराम थानी, दैलेख क्षेत्र नम्बर १ मा नेकपा (एकीकृत समाजवादी) का अम्बरबहादुर थापा, क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दिक्पालकुमार शाही विजयी भए ।

त्यस्तै सल्यानमा नेकपा (एकीकृत समाजवादी) का प्रकाश ज्वाला, डोल्पामा समाजवादीकै धनबहादुर बुढा, जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही, कालिकोटमा माओवादीका महेन्द्रबहादुर शाही, मुगुमा कांग्रेसका ऐनबहादुर शाही ठकुरीले जितेका छन् । हुम्लामा नेकपा (माओवादी केन्द्र) का छिरिङ डम्डुल लामा (भोटे) विजयी भएका छन् ।

कर्णालीका १० जिल्लामा रहेका १२ सिटमा एमाले शून्य हुँदा प्रदेशसभा अहिलेसम्मा डोल्पा प्रदेशसभा (क) मा नेकपा एमालेका शेरबहादुर बुढा, सुर्खेत क्षेत्र नम्बर २ को (क) मा नेकपा (एमाले)का यमलाल कडेल विजयी भए । मुगु क्षेत्र नम्बर १ को (क) मा एमालेका जितबहादुर मल्ल विजयी भएका छन् । दैलेख क्षेत्र नम्वर क्षेत्र नम्बर २ (ख) विनोदकुमार शाहले जिते । जुम्ला प्रदेशसभा (ख) मा नेकपा एमालेका टेकराज पछाइ विजयी भएका छन् । प्रदेशसभा तर्फ एमालेको अहिलेसम्म ५ सिट आएको छ ।

कर्णालीमा को बन्छ मुख्यमन्त्री ?

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री बन्ने लाइनमा रहेका ६ जना निर्वाचित भएका छन् । चुनावमा होमिएका मुख्यमन्त्रीको आकांक्षी ८ जना नेताहरू मध्ये ६ जना प्रदेश सभा सदस्यमा निर्वाचित भएका भएपछि मुख्यमन्त्री चर्चा सुरु भएको छ ।

भावी मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसबाट ३, नेकपा एमालेबाट २ र नेकपा (माओवादी केन्द्र) बाट दुई जनाको नाम निकै चर्चामा रहेको थियो । जसमध्ये एमालेबाट मुख्यमन्त्रीको चर्चामा रहेका प्रदेश सह–इञ्चार्ज गुलाबजंग शाह र नेपाली कांग्रेसका प्रदेश सभापति ललितजंग शाही पराजित भएका छन् । सभापति शाहीले मुख्यमन्त्री बन्ने उद्देश्यसहित निर्वाचनमा भाग लिएका थिए ।

यद्यपि उनको निर्वाचन क्षेत्र जुम्ला (क) मा उनीविरुद्ध उम्मेदवारी दिएका कांग्रेसका देवेन्द्रबहादुर शाहीले चुनाव जितेपछि शाही पराजित भए । मुख्यमन्त्रीका आकांक्षीमध्ये पराजित हुनेमा एमाले सह–इञ्चार्ज गुलाबजंग शाह पनि हुन् । उनी गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका सुरेश अधिकारीसँग पराजित भएका हुन् ।

२०७४ मा सल्यान (क) बाट निर्वाचित भएर प्रदेशसभामा एमाले सचेतक भइसकेका शाह यो पटक यामलाल कँडेलको विकल्पमा आफूलाई मुख्यमन्त्रीको दाबेदारको रुपमा उभ्याउँदै आएका थिए । पराजित हुने डरले निर्वाचन क्षेत्र बदलेर (ख) मा चुनाव लडेका उनी पराजित भए । निर्वाचित हुनेमा माओवादी केन्द्रबाट राजकुमार शर्मा, विन्दमान विष्ट, कांग्रेसबाट राजीबबिक्रम शाह, जीवनबहादुर शाही र एमालेबाट यामलाल कँडेल छन् ।

माओवादीबाट मुख्यमन्त्रीका अर्को दाबेदार हुन्, विन्दमान विष्ट । सुर्खेन निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख) बाट दोस्रो पटक प्रदेश सभामा निर्वाचित भएका उनी यसअघि प्रदेश सरकारको अर्थमन्त्री भइसकेका व्यक्ति हुन् । त्यो भएकाले अब उनी मुख्यमन्त्री बन्ने उद्देश्यसहित आन्तरिक तयारी गरिरहेका छन् । उनले एमालेका ताराकेश्वर गौतमलाई ४ हजार ५७५ मतान्तरले पराजित गरे ।

खसेको ३१ हजार ६ सय ८२ मत मध्ये विष्टको पक्षमा १३ हजार ९०९ मत आएको छ भने गौतमको पक्षमा ९ हजार ३३४ मत आएको छ । विष्टको क्षेत्रमा दुई दलिय गठबन्धन थियो । यहाँ समाजवादीले उम्मेदवारी दिएका थिए । बडुवालले ७ हजार पनि मत कटाउन सकेनन् । ०५८ सालमा भएको सुर्खेतको जेलब्रेकको घटना निकै चर्चित र रोचक थियो । उनी त्यही घटनाका एक कमाण्डर हुन् भने माओवादीभित्र युवा र ‘भिजनेवल’ छवी भएका नेता हुन् । ०५० सालदेखि माओवादी केन्द्रमा संलग्न भएका उनी ०५६ सालमा भूमिगत भएका थिए । ०५६ देखि उनले ०५८ माघ १ सम्म अर्थात् १८ महिना जेल जीवन बिताएका छन् ।

क्रान्तिकारीको महासचिव हुँदै केन्द्रीय सदस्य समेत भएका उनी ०७४ मा प्रदेश सभा सदस्य निर्वाचित भए । माओवादीबाट शर्मा र विष्ट मुख्यमन्त्रीको आकांक्षी हुँदा कांग्रेसबाट राजिबबीक्रम शाह र वहालवाला मुख्यमन्त्री पुनः मुख्यमन्त्रीकै दाबेदार हुन् । शाह ०७४ मा माओवादी नेता शक्ति बस्नेतसँगै पराजित भएका थिए । कांग्रेसबाट अहिलेका वहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही पनि पुनः मुख्यमन्त्रीका दाबेदार हुन् ।

हुम्ला (ख) बाट ४ हजार ७७ मतान्तरले एमालेका छक्कबहादुर लामालाई पराजित गर्दै निर्वाचित भएका शाही आफूले अघि सारेको ‘छ’ ब को नीतिलाई कार्यान्वयन गर्न आफ्नो उम्मेदवारी रहेको बताएका थिए । एमालेबाट मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन् यामलाल कँडेल । संघीय पर्यटन मन्त्री भइसकेका व्यक्ति हुन् । ०७४ मै मुख्यमन्त्री बन्ने उद्देश्यसहित प्रदेश झरेका कँडेल त्यतिबेला बाम गठबन्धनको भागवण्डा अनुसार माओवादीको भागमा परेपछि व्याक भएका थिए । बाम गठबन्धनबाट माओवादीका महेन्द्रबहादुर शाही मुख्यमन्त्री बने ।

प्रतिक्रिया दिनुहोस्