बाँकेका तीन निर्वाचन क्षेत्रमा मिश्रित नतिजा

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बाँकेका तीन वटा क्षेत्रमा यसपटक मिश्रित निर्वाचनको नतिजा आएको छ । प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ बाट नेकपा (एमाले)ले जित हात पारको छ भने २ मा राप्रपाले जित्दा ३ नम्बर क्षेत्र नेपाली काँग्रेसको पोल्टामा परेको छ । प्रदेशसभातर्फ ६ निर्वाचन क्षेत्र रहेको बाँकेमा एमाले र जसपाले दुई-दुई स्थानमा जित्दा काँग्रेस र माओवादी केन्द्रले १/१ स्थानमा जित हासील गरेको छ ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका केन्द्रीय सदस्य सुर्य ढकाल प्रतिनिधिसभा सदस्यपदमा निर्वाचित भएका छन् । ढकालले निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनकातर्फवाट माओवादी केन्द्रका उम्मेदवार महेश्वरजंग गहतराज ‘अथक’ लाई ५ हजार ३ सय ९४ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । ढकालले २५ हजार २६ मत प्राप्त गर्दा बहालवाला खेलकुद मन्त्री समेत रहेका गहतराजले १९ हजार ६ सय ३२ मत प्राप्त गरे ।
यस्तै प्रदेशसभातर्फ क्षेत्र नम्बर १ (१) मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार कृष्णा केसी ‘नमुना’ लुम्बिनी प्रदेशको सांसदमा १ हजार १ सय ३७ मतको अन्तरले पुनः निर्वाचित भएकी छिन् । २०७४ सालमा यही निर्वाचन क्षेत्रबाट लुम्बिनी प्रदेशको सांसदमा निर्वाचित नमूनाले यसपटक ९ हजार १ सय ३ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ती पार्टीका सोमराज चौधरीले ७ हजार ९६६ मत प्राप्त गरे ।
त्यसैगरी क्षेत्र नम्बर १ को प्रदेशसभा २ बाट नेकपा (एमाले)का दुर्गाप्रसाद चौधरी निर्वाचित भएका छन । उनले १५ हजार ६ सय ५७ मत पाएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका फूलाराम थारुले १४ हजार ७ सय ८० मत पाए ।
यस्तै एकदमै चाँसोको रुपमा हेरिएको कांग्रेसको गढ भनिने बाँके क्षेत्र नम्बर २ बाट ६ हजार ६७ मतान्तरसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर जबरा निर्वाचित भएका छन् । उनले २९ हजार ५ सय ७७ मत ल्याउँदा यहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार पुर्व मन्त्री मो.ईश्तियाक राईले २३ हजार ५२० मत पाए ।
त्यसैगरी प्रदेशसभा सदस्य अन्तर्गतको निर्वाचन क्षेत्र नम्बर २ को (१) र (२) मा क्रमस जसपाका भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाल विजयी भएका छन् । प्रदेश सभा–२ (१) बाट जनता समाजवादी पार्टी (जसपा) का नेता भण्डारीलाल अहिर नेकपा एमालेका विजयबहादुर यादवलाई २ हजार १ सय ४६ मतको अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । उनले ११ हजार ५ सय ४ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी विजयले ९ हजार ३ सय ५८ मत ल्याए ।
त्यसैगरी बाँके क्षेत्र नम्बर २ (२) बाट जनता समाजवादी पार्टीकै आदेशकुमार अग्रवाल निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका निरक गुरुङलाई १ हजार ५ सय ३७ मतको अन्तरले पराजित गर्दै अग्रवाल निर्वाचित भएका हुन् । अग्रवालले ८ हजार २ सय ४६ मत प्राप्त गरे भने एमालेका गुरुङले ६ हजार ७ सय ९ मत ल्याएका थिए ।
यस्तै बाँकेको बाम लाल किल्ला भनिएको बाँके क्षेत्र नं. ३ मा नेपाली कांग्रेसले कब्जा जमाउन सफल भएको छ । कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठा्रैंरले एमाले बाँकेका अध्यक्ष किश्मतकुमार कक्षपतिलाई ४ हजार ७९३ मतान्तरले जित हासील गरेका हुन् । राठौर २९ हजार ४० मतले निर्वाचित हुँदा कक्षपतिले २४ हजार २४७ मत पाए ।
प्रदेशसभातर्फ क्षेत्र नं ३ को प्रदेशसभा (१) बाट नेकपा एमालेका रत्न खत्री १ हजार ६९४ मतान्तरले निर्वाचित भएका छन् । एमाले बाँकेका सचिव रहेका खत्री १३ हजार १५८ मत प्राप्त गरी विजयी हुँदा स्वतन्त्र उम्मेदवार दलबहादुर सुनारले ११ हजार ४६४ मत प्राप्त गरे । त्यसैगरी क्षेत्र नम्बर ३ (२) मा नेपाली काँग्रेसका बादशाह कुर्मी २ हजार ४९६ मतान्तरले निर्वाचित भए । कुर्मीले ११ हजार ४३३ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका भिम वलीले १० हजार ९५० मत प्राप्त गरे ।