Logo

प्रदेशमा २ सिट कांग्रेसलाई संघको तीनसहित ७ सिट एमालेको पोल्टामा

नयाँ पार्टीको उदयले गठबन्धनलाई भन्दा एमालेलाई फाइदा

नेकपा (एमाले) को पकट क्षेत्र मानिएको कास्कीमा पाँच दलीय गठबन्धन गर्दा पनि एमालेले ७ सिट ल्याउन सफल भएको छ । गठबन्धनका साझा उम्मेदवारहरु मध्ये दुई जना मात्र नेपाली कांग्रेसका प्रदेशसभाको लागि निर्वाचित भएका छन् भने एमालेले ३ सिट प्रतिनिधिसभा सदस्यसहित ७ सिट आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

यसपाली नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी चिन्ह) को उदयले पाँच दलीय गठबन्धनलाई यसले प्रत्यक्ष प्रभाव पार्दा यसको एमालेलाई भने फाइदा पुगेको देखिएको छ । कास्कीको मुख्य बजार क्षेत्रको मतदाताहरुले घण्टी चिन्हमा बढी मत दिँदा गठबन्धनका उम्मेदवारलाई जित निकाल्न कठिन भएको हो ।

प्रायः एमालेको करिब १० देखि १५ प्रतिशत जसो मात्र मत घण्टी र राप्रपा तर्फ प्रभावित भएको भए पनि गठबन्धनको भोट भने ६० प्रतिशत नयाँ र राप्रपा लगायतका पार्टीतर्फ आकर्षित भएको एक नेताले बताए । राप्रपाका नेता शंकर खरालले कास्कीमा आफूहरु माओवादी भन्दामाथि तेश्रो पार्टीको रुपमा रहेको दाबी गरे ।

कास्की जिल्लाबाट एमालेका ३ वटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । कास्की निर्वाचन क्षेत्र नम्बर १ मा मनबहादुर गुरुङ, कास्की क्षेत्र नम्बर २ मा एमालेकी विद्या भट्टराई र कास्की क्षेत्र नम्बर ३ मा एमालेकै दामोदर पौडेल (बैरागी) विजयी भएका छन् । गुरुङले नेपाली कांग्रेसका किशोरदत्त बराललाई २ हजार ५ सय १९ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन्। गुरुङले २५ हजार ७ सय ८ मत प्राप्त गर्दा बराल २३ हजार १ सय ८९ मत ल्याए । राप्रपाका राजु राईले १० हजार ९ सय ४१ मत ल्याए ।

यस्तै, कास्की क्षेत्र नम्बर २ मा एमालेकी विद्या भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कंडेललाई पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन् । भट्टराईले १६ हजार ९ सय ९८ मत ल्याउँदा कडेंलले १२ हजार ४ सय ९५ मत ल्याए । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका श्रीनाथ बरालले ९ हजार ६ सय ५९ मत ल्याए । नयाँ पार्टीको एकाएक उदय भएसंगै उनको जित्ने सपनामा अधुरो रह्यो ।

नयाँ पार्टीको उदयले कास्कीमा ५ दलीय गठबन्धनका उम्मेदवार पराजित हुँदा एमालेलाई यसको प्रत्यक्ष रुपमा फाइदा पुगेको छ । कास्की क्षेत्र नम्बर ३ पनि एमालेकै दामोदर पौडेल (बैरागी) ले गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका रामजीप्रसाद बराल जीवनलाई पराजित गर्दै विजयी भएका हुन् । बैरागीले २२ हजार ९ सय ८० मत ल्याउँदा गण्डकी प्रदेशका अर्थ मन्त्री समेत रहेका बरालले १७ हजार ५ सय ३५ मत ल्याएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार योगराज पौडेलले १२ हजार १ सय ८० मत ल्याए । राप्रापाका जगतप्रसाद सुवेदीले भने २ हजार ४ सय ४२ मत ल्याए ।

गण्डकी प्रदेश सभाको लागि भएको निर्र्वाचनबाट नेपाली कांग्रेसले एमालेको गण तोड्दै दुई सिट आफ्नो पक्षमा पार्न सफल भएको छ । कास्की १(१) मा एमालेका नेता तथा पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारीले पाँच दलीय गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका दीपक कोइरालालाई ३ हजार ९ सय ९६ मतान्तरले पराजित गर्दै निर्वाचित भए । अधिकारीले १५ हजार ६ सय २३ मत ल्याउँदा उनका प्रतिस्प्रर्धी कोइरालाले भने ११ हजार ६ सय २७ मत ल्याए । हाम्रो नेपाली पार्टीका उम्मेदवार मदनबहादुर केसीले ३ हजार ६ सय २९ मत ल्याए ।

कास्की १ (२) मा एमालेका वेदबहादुर गुरुङ ‘श्याम’ विजयी भए । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार दीपक गुरुङलाई ८ सय ६७ मत अन्तरले पराजित गर्दै प्रदेश सभामा निर्वाचित भए । वेदले १२ हजार ६ सय ६१ मत ल्याउँदा दीपकले भने ११ हजार ७ सय ९४ मत ल्याए ।

प्रदेश तर्फ २ (१) मा पनि एमालेका भीम कार्की विजयी भए । कार्कीले १० हजार ५ सय ३१ मत ल्याउँदै राप्रपाका विजय बाबु भण्डारीलाई पराजित गरेका हुन् । भण्डारीले भने ५ हजार ८ सय ९३ मत ल्याए भने माओवादी केन्द्र गठबन्धनका साझा उम्मेदवार विश्व प्रकाश लामिछाने भने ५ हजार ५ सय ४० मत ल्याए ।

यस्तै, २ (२) मा नेपाली कांग्रेसका विन्दु थापा विजयी भए । थापाले एमालेकी नेतृ मीना गुरुङलाई १ हजार ३ सय ९ मतान्तरले पराजित गरेका हुन्। थापाले ९ हजार २ सय ८० मत ल्याउँदा गुरुङले भने ७ हजार ९ सय ७१ मत ल्याइन् । थापा गण्डकी प्रदेशका कानून सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री समेत हुन् भने गुरुङ निवर्तमान प्रदेश सदस्य हुन्। यसअघि थापा २०७४ को निर्वाचितमा निर्वाचित भएका थिए भने गुरुङ समानुपातिक कोटाबाट सांसद बनेकी थिइन् ।

कास्की ३ (१) मा एमालेका गणेशमान गुरुङले पाँच दलीय गठबन्धनका साझा उम्मेदवार दुर्गा दक्त भण्डारीलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भए । गुरुङले १४ हजार ४ सय ७३ मत ल्याउँदा भण्डारीले भने ९ हजार ६ सय ६२ मत ल्याए । र राप्रपाका केदारनाथ पौडेलले भने ३ हजार ६ सय ९७ मत ल्याए ।

कास्की ३ (२) मा कांग्रेसका प्रकाश बरालले एमालेका राजिव पहारीलाई पराजित गर्दै विजयी भए । बरालले १२ हजार ३ सय ६७ मत ल्याउँदा पहारीले भने ११ हजार ९ सय २ मत ल्याए । राप्रपाका हरीराम भण्डारीले भने २ हजार ५ सय ६० मत ल्याए । कास्कीबाट २०७४ सालमा एमालेकै तीन जना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

कास्की १ बाट खगराज अधिकारी, कास्की २ बाट स्व. रविन्द्र अधिकारी र कास्की ३ बाट जगत विश्वकर्मा निर्वाचित भएका थिए । २०७६ मा रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि उपनिर्वाचनबाट उनकी धर्मपत्नी विद्या भट्टराई निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्