अर्थमन्त्री शर्मालाई राहत शिक्षकले बुझाए विभिन्न मागसहितको ज्ञापनपत्र

अर्थमन्त्री जनार्दन शर्मालाई रुकुम पश्चिमका राहत शिक्षकहरुले ज्ञापनपत्र बुझाएका छन् । नेपाल राहत शिक्षक समिति रुकुम पश्चिमले ज्ञापनपत्र बुझाएको हो । विभिन्न मागहरुसहितको ज्ञापनपत्र समितिका अध्यक्ष टिकाराम विष्टले बुझाए ।
ज्ञापनपत्रमा राहत शिक्षक समिति र सरकारबीच भएका विभिन्न सहमति कार्यान्वयन हुनुपर्ने, रुकुम पश्चिमका राहत शिक्षकहरुलाई स्थानीय भत्ता प्रदान हुनुपर्ने, समान तह र समान योग्यता हुँदा पनि भैरहेका सेवासुविधाका विभिन्न विभेद हटाउनुपर्ने र उमेरको हदबन्दीका कारण आयोगको परिक्षाबाट वञ्चित हुनुपर्ने समस्या हटाउनुपर्ने लगायतका मागहरु रहेका छन् ।
ज्ञापनपत्र बुझ्दै नयाँ शिक्षा ऐनमार्फत् राहत शिक्षक लगायतका अन्य सबै शिक्षकहरुको समस्या समान हुने अर्थमन्त्री शर्माले बताए । रुकुम पश्चिमका राहत शिक्षकहरुले स्थानीय भत्ता पहिलेदेखि नै पाउनुपर्ने भएपनि के कारणले यस्तो सुविधा प्रदान नभएको हो त्यसको बारेमा बुझेर समस्या समाधान गरिने उनको भनाइ थियो ।