Logo

प्रदेशसभाका दुबै सिटमा पनि माओवादी उम्मेदवार विजयी

रुकुम पश्चिममा जनार्दन शर्माको चौथो जीत

रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जनार्दन शर्मा विजयी भएका छन । उनले ३९ हजार ५ सय ४९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटाले १२ हजार ९ सय ६१ मत ल्याए । प्रतिस्पर्धीलाई २६ हजार बढीको मतान्तरले शर्माले विजयी हाँसिल गरेका हुन् ।

माओवादी केन्द्रका उपमहासचिव रहेका शर्मा हाल नेपाल सरकारका अर्थमन्त्री समेत छन् । रुकुम पश्चिमबाट प्रतिनिधिसभामा शर्माको चौथो लगातार जित हो । उनले यसअघि दुई वटा संविधानसभा निर्वाचनसहित २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि विजयी हाँसिल गरेका थिए । दुई वटा संविधानसभा निर्वाचनमा एकल पार्टीबाट चुनाव लडेका शर्माका पछिल्ला दुई निर्वाचनमा भने गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थिए ।

२०७४ सालको निर्वाचनमा रुकुम पश्चिममा माओवादी केन्द्र र नेकपा एमालेको गठबन्धन थियो भने यसपटक माओवादी र कांग्रेससहितका दलहरुको गठबन्धन रहेको थियो । २०४८ सालको निर्वाचनमा पनि उठेका शर्मा त्यसबेला भने कांग्रेस उम्मेदवार गोपालजीजंङ शर्मासंग पराजित भएका थिए ।

प्रदेशसभाका दुबै सिटमा पनि माओवादी उम्मेदवार विजयी

रुकुम पश्चिमका दुई प्रदेशसभा निर्वाचन क्षेत्रमा पनि नेकपा माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा १ मा महेन्द्र केसी विजयी भएका छन् । उनले १९ हजार ३३ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नारायणकुमार शाहले ८ हजार ८१ मत ल्याए । त्यस्तै प्रदेशसभा २ मा पनि राजकुमार शर्मा विजयी भएका छन् । उनले २० हजार १ सय ६० मत ल्याए भने उनका प्रतिस्पर्धी एमाले उम्मेदवार कर्णबहादुर घर्तीले ८ हजार ७८ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्