मुख्यमन्त्री पाण्डे प्रतिनिधिसभा सदस्यमा धादिङबाट निर्वाचित «

मुख्यमन्त्री पाण्डे प्रतिनिधिसभा सदस्यमा धादिङबाट निर्वाचित

बागमती प्रदेश सरकारका वहालवाला मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे प्रतिनिधिसभा सदस्यमा धादिङबाट निर्वाचित भएका छन् । नेकपा (एकीकृत समाजवादी)को उपाध्यक्ष समेत रहेका पाण्डे वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार हुन् ।

नेकपा (एमाले) र राप्रपाका साझा उम्मेदवार एमालेका भूमि त्रिपाठीलाई ७ हजार ९ सय ८१ मत अन्तरले पराजित गराएका हुन् । प्रारम्भिक मत परिणाम अनुसार पाण्डेले ३५ हजार ९ सय ३४ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका त्रिपाठीले २७ हजार ९ सय ५३ मत पाएका छन् ।

यो क्षेत्रमा ८० हजार ६ सय १५ मत खसेको थियो । यस्तै हाँस्य कलाकार समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १२ हजार ४ सय ७५ मत प्राप्त गरेका छन् । पाण्डे गठबन्धनमा रहेका नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार हुन् । त्रिपाठी एमाले र राप्रपाका साझा उम्मेदवार हुन् ।

यसअघि २०४२ सालमा भएको राष्ट्रिय पञ्चायत सदस्यमा जनपक्षीय उम्मेदवार बनेका पाण्डेले हार व्यहोरेका थिए । २०४५ सालमा भएको जिल्ला पञ्चायत सभापतिमा जनपक्षीय उम्मेदवार बनेका पाण्डेले विजय हासिल गरेका थिए । त्यसपछि बहुदल आएपछि २०४८, २०५१ र २०५६ प्रतिनिधिसभा सदस्यमा लगातार विजय हासिल गरे । पाण्डे २०६२/०६३ सालको जनआन्दोलन पछि बनेको सरकारको स्थानीय विकास मन्त्री समेत भएका थिए ।

२०६४ सालमा भएको संविधान सभा पहिलो निर्वाचनमा हार व्यहोरेका पाण्डेले २०७४ सालमा भएको दोस्रो संविधान सभा सदस्यमा विजय हासिल गरे । मुलुक संघीयतामा गएपछि २०७४ मा सप्पन्न प्रदेश सभा सदस्यमा निर्वाचित पाण्डे बागमती प्रदेश सरकारको तेस्रो मुख्य मन्त्रीका रुपमा वहाल छन् । उनको अर्डिनेसन कमिटी सदस्य भएर धादिङको कम्युनिस्ट गठन तथा आन्दोलन सञ्चालन गरे । पाण्डे धादिङमा कम्युनिस्ट पार्टी पाँच जना सदस्य मध्ये मुख्य नेता हुन् भने नेकपा एसको संस्थापक उपाध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्