वैदेशिक व्यापारमा निर्यातको हिस्सा फेरि घट्यो

चालू आर्थिक वर्षको पहिलो चार महिनामा वैदेशिक व्यापारका सबै सूचकांकमा गिरावट आएको छ भने कुल व्यापारमा निर्यातको हिस्सा उल्लेख्य रूपले घटेको छ । अघिल्लो आवमा निर्यातको हिस्सा दोहोरो अंकमा रहे पनि यस वर्ष पुनः एकल अंकमा झरेको छ । अघिल्लो आवको कात्तिकसम्मको अवधिमा कुल व्यापारमा निर्यातको हिस्सा ११.२१ प्रतिशत रहेकोमा चालु आवको कात्तिकसम्म भने ९.३२ प्रतिशतमा सीमित भएको छ ।
भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्म पाँच खर्ब ८७ अर्ब ४६ करोड ६५ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएकोमा निर्यात भने ५४ अर्ब ७७ करोड ४३ लाख रुपैयाँमा सीमित छ । यस्तै, सो अवधिमा पाँच खर्ब ३२ अर्ब ६९ करोड १३ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । आयात, निर्यात दुवैमा कमी आएसँगै व्यापारघाटामा पनि उल्लेख्य कमी आएको हो ।
निर्यात व्यापारमा सबैभन्दा बढी ३३.३ प्रतिशतले कमी आएको छ भने आयात १८.०८ प्रतिशत तथा कुल व्यापारघाटामा १५.८८ प्रतिशतले कमी आएको छ । सरकारले केही वस्तुको आयातमा प्रतिबन्ध लगाएका कारण समग्रमा वैदेशिक व्यापारमा कमी आएको हो । विभागका अनुसार अघिल्लो कात्तिकसम्म सात खर्ब ३२ अर्ब ४१ करोड ८६ लाख रुपैयाँको वैदेशिक व्यापार भएको थियो भने यस वर्ष १९.७९ प्रतिशतले घटेको छ ।
विभागका अनुसार चार महिनामा पाँच अर्ब ३२ करोडको भटमासको तेल, १० अर्ब दुई करोडको पाम आयल तथा २० करोड ४२ लाख रुपैयाँ बराबरको सनफ्लावर तेल निकासी भएको छ । यस्तै, एक अर्ब ४० करोडको जुस, एक अर्ब १३ करोडको जुट, तीन अर्ब ८० करोडको धागो, एक अर्ब ९८ लाख रुपैयाँको फेल्ट, तीन अर्ब ९६ करोडको कार्पेट निकासी भएको छ । चार महिनामा पाँच अर्ब ७५ करोडको तयारी पोशाक र पोशाकजन्य सामग्री निकासी भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणाले व्यापाघाटा दिनप्रतिदिन बढ्दो अवस्थामा भएकाले स्वदेशी वस्तुको निर्यात बढाउनु नै उपयुक्त उपाय भएको बताउँछिन् । यसका लागि सरकारले निर्यात अनुदानलाई प्रभावकारी र सरलीकरण गुर्नपर्छ । निर्यातमा उल्लेख्य योगदान दिने र उच्च मूल्य अभिवृद्धि गर्नसक्ने उत्पादनलाई प्रोत्साहन दिने गरी नीतिगत व्यवस्था गरिनुपर्ने उनको भनाइ थियो । चार महिनामा सबैभन्दा बढी डिजेल ४४ अर्ब २८ करोड, पेट्रोल २३ अर्ब ६९ करोड, एलपी ग्यास १९ अर्ब ६४ करोड रुपैयाँ र हवाईइन्धन सात अर्ब ४५ करोड रुपैयाँ बराबरको भित्रिएको छ ।
विभागका अनुसार डिजेल आयातबाट १४ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ, पेट्रोल आयातबाट १२ अर्ब ७५ करोड १३ लाख रुपैयाँ, एलपी ग्यासबाट तीन अर्ब ६६ करोड ३९ लाख रुपैयाँ तथा एटीएफ आयतबाट एक अर्ब ११ करोड ११ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यो अवधिमा दुई अर्ब दुई करोड रुपैयाँको बिटुमिन आायत भएको छ । समग्र वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.६८ प्रतिशत र निर्यात ९.३२ प्रतिशत मात्रै छ । जबकि अघिल्लो वर्षको सोही अवधिमा आयातको हिस्सा ८८.७९ र निर्यातको हिस्सा ११.२१ प्रतिशत थियो ।