अर्थतन्त्रका दुई हस्तीलाई हराए हरिले

प्रतिनिधिसभाको यही मंसिर ४ मा निर्वाचन हुनुअघि चितवन–१ धेरै दृष्टिकोणबाट चर्चामा थियो । राजनीतिक दलहरुले उम्मेदवारी दर्ता नगराउँदासम्म यो निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसले युवा अर्थशास्त्री डा.स्वर्णीम वाग्लेलाई उम्मेदवार बनाउँदैछ भन्ने चर्चा चलेको थियो ।
उम्मेदवारी दर्ता हुनु केही दिन अघिमात्र कांग्रेसले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेललाई टिकट दिएपछि फेरि यो निर्वाचन क्षेत्रले चर्चा पायो । प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती आरजु राणा देउवाको हस्तक्षेपमा उपाध्यक्ष पौडेललाई टिकट दिइएको भन्दै त्यसको खुलेर विरोध भएको थियो । यो घटनाले शर्मा र वाग्लेको मित्रतामा समेत फाटो आएको भन्दै धेरैले प्रश्न गरेका थिए ।
यस्तै यो क्षेत्रबाट नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको पनि उम्मेदवारी परेकोले दुई बीचको भिडन्त पनि रोचक बन्दै आएको थियो । अहिले निर्वाचन सकिएर परिणाम आउँदा फेरि यो क्षेत्र चर्चामा आएको छ । ६ महिना अघि मात्र खुलेको नयाँ राजनीतिक दलका सामान्य उम्मेदवारले मुलुकको पूर्व अर्थमन्त्री र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षलाई पराजित गरेका छन् ।
यो क्षेत्रमा पूर्व अर्थमन्त्री पाण्डे र पूर्व उपाध्यक्ष पौडेललाई पराजित गर्ने उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल हुन् । यो निर्वाचनमा आकस्मिक र चमत्कारिक रुपमा उदाएको यो पाटीका उम्मेदवारले पाण्डे र पौडेललाई मात्र होइन, मुलुकका अन्य निर्वाचन क्षेत्रका पुराना र स्थापित नेताहरुलाई पनि पराजित गरेका छन् । राजधानी काठमाडौंमा नै यो पार्टीले चार क्षेत्रमा विजय हासिल गरेको अवस्था छ ।
निर्वाचन आयोगका अनुसार चितवन क्षेत्र नम्बर १ बाट चुनाव लडेका राष्ट्रिय स्वतन्त्र पार्टीका ढकालले पूर्व अर्थमन्त्री पाण्डेलाई सात हजार पाँच सय ८१ मतले पछि पार्दै विजय हासिल गरेका हुन् । ढकालले ३४ हजार एक सय ८९ मत प्राप्त गरेका छन् भने पाण्डेले २६ हजार छ सय आठ मत प्राप्त गरे ।
सोही क्षेत्रबाट चुनाव लडेका नेपाली कांग्रेसका डा. पौडेलले २४ हजार नौ सय नौ मत मात्र प्राप्त गरे । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पौडेल सत्ता गठबन्धनका साझा उम्मेदवार थिए । चुनाव लड्न उनले योजना आयोगबाट राजीनामा दिएका थिए । उक्त क्षेत्रमा ९५ हजार ४१ मत खसेको थियो । यसमध्ये तीन हजार छ सय २१ मत बदर भई ९१ हजार चार सय २० सदर भएको निर्वाचन आयोगले जनाएको छ ।
यसपटकको निर्वाचनमा वर्तमान अर्थमन्त्री, पूर्व अर्थमन्त्रीहरु तथा अर्थविद्ले भाग लिएकोमा कोही पराजित भएका छन् भने कोही निर्वाचित भएका छन् । रुकुम पश्चिमबाट चुनाव लडेका अर्थमन्त्री जनार्दन शर्माले भारी मतका साथ अग्रता लिएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका नन्दराम देवकोटासँग उनको मतान्तर झन्डै २० हजारको मतान्तर छ । उनको जित निश्चित भइसकेको छ ।
पूर्व अर्थमन्त्री जनार्दन शर्मा रोल्पाबाट निर्वाचित भइसकेका छन् । उनले ४१ हजार ७१४ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पूर्णबहादुर बुढामगरले १६ हजार ४८७ मत ल्याएका छन् । दुईबीचको मतान्तर २५ हजार २२९ छ ।
अर्का पूर्व अर्थमन्त्री विष्णु पौडेलको अन्तिम मत परिणाम आइसकेको छैन । बिहीबार बेलुकासम्मको विवरणअनुसार उनी निकटतम प्रतिस्पर्धीभन्दा करिब १ हजार मतले अघि छन् । उनलाई स्वतन्त्र पार्टीका गणेश पौडेलले पछ्याइरहेका छन् ।
हालका सञ्चारमन्त्री तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की झिनो मतान्तरले अगाडि छन् । उनलाई एमालेका जगदीशप्रसाद कुसियैतले पछ्याइरहेका छन् । सुनसरी–४ बाट चुनाव लडेका हुन् कार्की ।