किशोरसिंहको संघर्षपूर्ण विद्यार्थीदेखिको राजनीतिक यात्रा

अहिले बाँके निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका किशोरसिंह राठौर कर्णाली प्रदेशको सल्यान जिल्लामा जन्मिएका हुन् । शैक्षिक जीवन काठमाडौँमा बिताएका उनले राजनीतिक यात्रा विद्यार्थी जीवनबाटै सुरु गरेर नेविसङ्घ तथा पार्टीमा विभिन्न पद सम्हाल्दै नेपाली कांग्रेसको सह–महामन्त्रीको पदमा पुग्न सफल भए ।
यसअघि समानुपातिकतर्फबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरिसकेका विजयी नेता राठौरले यहाँसम्म आइपुग्न निकै सङ्घर्ष गर्नुपर्यो । उनले भने, “साढे तीन दशकसम्म निरन्तर लागेर बल्ल अहिलेको ठाउँमा आइपुग्न सकेको छु ।” विसं २०२६ वैशाख १५ गते सल्यान, बडागाउँमा जन्मिएका राठौरले गाउँमा प्रारम्भिक शिक्षा लिएर माध्यमिक तहसम्मको शिक्षा भने काठमाडौँस्थित सिद्धार्थ वनस्थलीमा पूरा गरे ।
सोही विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि काठमाडौँस्थित त्रिचन्द्र कलेजमा भर्ना भएपछि विद्यार्थी राजनीतिको नसाले उनलाई छोयो । कलेजमा पढ्दादेखि नै नेविसङ्घमा लागेका राठौर स्वतन्त्र विद्यार्थी युनियनको सचिव र सभापतिसमेतको जिम्मेवारी सम्भाल्दै स्वतन्त्र विद्यार्थी युनियनको छाता सङ्गठन स्ववियु फोरमको संस्थापक सभापतिसमेत भए ।
विसं २०५३ मा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय सहमहामन्त्री र २०५८ मा नेविसंघको केन्द्रीय अध्यक्षमा समेत रहेर उनले काम गरे । आफ्नो घर नेपालगञ्ज–६ फुल्टेक्रामा भए पनि बर्दियाको राजापुर क्षेत्रलाई राजनीति गर्ने केन्द्र बनाएर राठौरले २०५८ देखि सोही ठाउँमा सक्रिय भएर लागे । “नेविसंघमा रहँदासम्म पार्टीको राजनीति गर्नु मैले उपयुक्त ठानिनँ”, नेता उनले भने, “एक जनाले एउटा मात्र पद लिनुपर्छ भन्ने मान्यता राख्ने नेता हुँ म । तर बर्दियामा कांग्रेस सुदृढ गर्न भने लागि नै रहेँ ।”
नेविसंघको नेतृत्व हस्तान्तरण गरिसकेपछि कांग्रेस पार्टीको राजनीतिमा पूरै होमिएका नेता राठौरले जनयुद्धका बेलामा राजापुर क्षेत्रमै बसेर पार्टीको संगठनलाई चलायमान बनाउन प्रयत्नशील रहे। नेपाली कांग्रेसको १२औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका नेता उनी विसं २०६४ मा पहिलो संविधानसभा सदस्यको निर्वाचनमा समानुपातिकबाट विजयी भएर काम गरे तर दोस्रो संविधानसभा सदस्यको निर्वाचनमा प्रत्यक्षबाटै निर्वाचमा लड्दा पराजय भोग्नुपर्यो ।
विसं २०७४ को निर्वाचनमा कांग्रेसबाट समानुपातिक सांसदमा चयन भएका राठौरले बर्दियासँगै बाँकेको विकास–निर्माण गतिविधि र पार्टी सङ्गठनका विषयमा योगदान पुर्याए । गत वर्ष सम्पन्न पार्टीको १४औँ महाधिवेशनबाट सहमहामन्त्री पदमा निर्वाचित उनलाई अहिलेको आमनिर्वाचनमा नेपाली कांग्रेसले बाँके क्षेत्र नं ३ बाट अवसर प्रदान गरेको हो ।
नेता राठौरले भने, “पुख्र्यौली घर सल्यान भए पनि बुवाले ६० वर्ष अगाडि नेपालगन्जको फुलटेक्रामा र ४० वर्षअघि काठमाडौँमा घर बनाउनुभएको थियो, म बाँकेवासी भए पनि बर्दियामा राजनीति गर्न जानु बाध्यात्मक अवस्था थियो, पैसा कमाउन खोजेको भए पुख्र्यौली सम्पत्तिले व्यापार व्यवसाय गर्थेँ होला तर सेवा गर्ने भावनाले उत्प्रेरित भएर स्वेच्छाले राजनीतितर्फ डोरिएँ ।”
“म बाँकेवासी भए पनि सुशील दाइ र मेरो एउटै क्षेत्र पर्ने भएपछि त्यतिबेला राजनीति गर्न बर्दियाको राजापुर क्षेत्रतर्फ गएको हुँ, अहिले गठबन्धन गर्ने क्रममा माओवादीलाई त्यो क्षेत्र छाड्नुपर्ने भएपछि बाँकेको क्षेत्र नं ३ बाट पार्टीले अवसर दिएकाले एक संयोग नै भन्छु कि म आफ्नै जिल्लामा आइपुगेँ र अहिले निर्वाचित हुँदा खुसी लागेको छ”, उनको भनाइ थियो।
राठौरले भने, “सुशील दाइको सपना सिक्टा सिँचाइ आयोजना, भेरी बबई डाइभर्सनजस्ता ठूला योजनालाई अगाडि बढाउने र परम्परागतभन्दा निर्माण–विकासतर्फ केही नयाँ गरी देखाउने अठोट लिएको छु ।” वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार राठौरले २९ हजार ४० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का किस्मतकुमार कक्षपतिले २४ हजार दुई सय ४७ मत प्राप्त गरेका थिए ।