दाङ क्षेत्र नं.२ बाट एमालेका महासचिव नै पराजित «

दाङ क्षेत्र नं.२ बाट एमालेका महासचिव नै पराजित

दाङ क्षेत्र नं २ प्रतिनिधि सभाका नव निर्वाचित रेखा शर्मा संगै क्षेत्र नं २ (१) का विजयी राजु खनाल र क्षेत्र नं २ (२) का विजयी प्रचण्ड विक्रम न्यौपाने ।

नेकपा (एमाले) का महासचिव शंकर पोखरेल पराजित भएका छन् । दाङ क्षेत्र नं.२ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका पोख्रेल गठबन्धनबाट उम्मेदवार रहेकी नेकपा (माओवादी केन्द्र)की स्थायी कमिटी सदस्य रेखा शर्मासँग १ सय ९७ मतले पराजित भएका हुन् ।

विजयी शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गरेकी हुन् । शर्माका निकटतम प्रतिस्पर्धी एमाले महासचिव पोख्रेलले २६ हजार ६ सय ८० मत प्राप्त गरेर पराजित भएका हुन् । २०७४ सालमाको निर्वाचनमा क्षेत्र नं. २ (क) बाट प्रदेश सभा सदस्यमा पोख्रेले विजयी भएका थिए । क्षेत्र नं १ (२) मा अनुराग खड्का विजयी भएका छन् । खड्का गठन्धनबाट उम्मेदवार बनेका थिए।

उनले एमालेका कुलबहादुर केसीलाई ३ हजार ५२ मतले पछि पार्दै विजयी भएका हुन् । खड्काले १६ हजार २ सय २२ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी केसीले १३ हजार १ सय ७० मत प्राप्त गरे । दाङको निर्वाचन क्षेत्र नं. २ (१) मा नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल निर्वाचित भएका छन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति समेत रहेका गठबन्धनका साझा उम्मेदवार खनालले १ हजार एक सय ७६ मतको अन्तरले नेकपा एमालेका उम्मेदवार बलिभद्र राना मगरलाई पराजित गरेका हुन् । विजयी खनालले १५ हजार ६ सय १६ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रानामगरले १४ हजार ४ सय ४९ मत मात्रै प्राप्त गरे ।

यस्तै दाङ क्षेत्र नं. २ (ख) मा नेपाली कांग्रेसका नेता प्रचण्ड विक्रम न्यौपाने बिजयी भएका छन् । न्यौपानेले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार गिरीराज केसीलाई ७ सय २४ मत अन्तरले पराजित गर्दे विजयी भएका हुन् । प्रदेशसभा सदस्यमा विजयी न्यौपानेले १७ हजार ४२३ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी के सीले १६ हजार ६९९ सय मत प्राप्त गरे ।

दाङ निर्वाचन क्षेत्र नं ३ (१) मा नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशका ग्रामीण, पर्यटन तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी विजयी भएका छन् । गठबन्धन दलका तर्फबाट प्रदेशसभा सदस्यका साझा उम्मेदवार चौधरी गणना भएको कुल ४० हजार ७ सय ८९ मत मध्य १९ हजार ८ सय ५० मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेयले १४ हजार ४ सय ५० मत प्राप्त गरे । विजयी नेपाली कांग्रेसका नेता चौधरीले पाण्डेयलाई ५ हजार ४ सय मतले पराजित गर्दै दोश्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । पराजित पाण्डेय तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख हुन् ।

दाङ क्षेत्र नं ३ (२) मा नेकपा माओवादी केन्द्रका धनबहादुर मास्की विजयी भएका छन् । मास्कीले २२ हजार ३२१ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले २० हजार १५८ मत प्राप्त गरी पराजित भएका हुन् । माओवादीका पोलिटब्यूरो सदस्य मास्कीले एमालेका बस्नेतलाई २ हजार १ सय ६३ मतान्तरले पराजित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्