कांग्रेस नेता कोइराला लगातार चौथो पटक विजयी

नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला लगातार चौथो पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट विजयी भएका छन् । कोइराला दुई हजार ८२ मत अन्तरले विजयी भएका हुन् ।
गठबन्धनका उम्मेदवार कोइरालाको २७ हजार एक सय २६ मत आउँदा नेकपा (एमाले) का कृष्णप्रसाद पौडेलको २५ हजार ४४ मत प्राप्त भएको थियो । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमको पक्षमा २३ हजार तीन सय एक मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सोही क्षेत्रबाट उनले लगातार चौथोपटक जित हासिल गरेका हुन् । विसं २०४८ देखि नेपाली कांग्रेस विजयी हुदै आएको नवलपरासी वर्दघाट सुस्तापूर्व क्षेत्र नं १ बाट वीपी कोइरालाका पुत्र नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. कोइराला पछिल्ला चार निर्वाचनमा विजयी भएका छन् । डा. २०१५ साल कात्तिक ८ गते विराटनगरमा जन्मिएका हुन् ।
उनी २०६४ सालको संविधान सभा निर्वाचनमा नवलपरासी निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवार बनेका थिए । त्यसयताका आमनिर्वाचनमा उनी विजयी हुँदै आएका छन् । विसं २०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा गण्डकी प्रदेशबाट नेपाली कांग्रेसका तर्फबाट उनी एकमात्र विजयी भएका थिए । यसपटकको निर्वाचनमा निकै चुनौतीका बीच पनि कोइराला आफ्नो विरासत कायम राख्न सफल भएका छन् ।