वस्तु विनिमय प्रणालीबाट परिवर्तन भएको अर्थतन्त्र «

वस्तु विनिमय प्रणालीबाट परिवर्तन भएको अर्थतन्त्र

फाइल तस्बिर।

दैनिक जीवन सञ्चालनका लागि हामीलाई विभिन्न खालका वस्तु तथा सेवाको आवश्यकता पर्छ । हामीलाई आवश्यक पर्ने सबै वस्तु तथा सेवाहरू हामी आफैंले उत्पादन गर्न सम्भव हुँदैन । जुनजुन वस्तु तथा सेवाहरूको उत्पादन गर्न सजिलो र फाइदाजनक देखिन्छ, त्यस्ता वस्तुहरू हामी आफैंले उत्पादन गर्छौं । तिनको उपभोग गर्छौं र बाँकी भएको परिमाण बजारमा बिक्री गर्छौं । बजारमा बिक्री भएर आएको केही रुपैयाँले हामी आफ्नो दैनिकी गुजारा चलाउँछौं ।

सामान्य अर्थमा आफूसँग भएको वस्तु तथा सेवा दोस्रो व्यक्तिलाई आवश्यक पर्दा दिनु र आफूलाई चाहिएको वस्तु तथा सेवा दोस्रो व्यक्तिबाट लिनु नै वस्तु विनिमय प्रणाली हो । अर्थशास्त्रमा भन्दा कुनै पनि वस्तु तथा सेवाको साटासाट गर्नु नै वस्तु विनिमय प्रणाली हो । आजभन्दा धेरै वर्षअगाडि हाम्रो मुलुकमा विभिन्न राजाको पालामा रुपैयाँ–पैसाको चलनचल्ती निकै कम हुँदा हाम्रा पुराना सन्ततिहरूले वस्तु विनिमय प्रणालीबाट नै आफूलाई चाहिएका सामान, वस्तुहरू आदानप्रदान गर्थे ।

त्यतिबेला राणाकालीन होस् या मल्लकालीन राजाको पालामा होस्, मोहोरको चलनचल्ती थियो । मोहोरको चलनचल्ती निकै कम थियो । त्यतिबलाको अवस्थामा प्रायः सबैले बार्टर अर्थात् वस्तु विनिमय प्रणालीअनुसार नै आफ्नो दैनिकी गुजारा चलाउँथे । त्यति बेलाको वस्तु विनिमय प्रणालीबारेमा धेरै दुःख–संघर्ष भोगेका, त्यतिबेलाको बजारभाउलगायतका बारेमा धेरै जानकारी पाएका एक जना वृद्ध हुनुहुन्छ ।

त्यतिबेलाको मुलुकको वस्तु विनिमय प्रणाली तथा त्यतिबेला जनताले भोग्नुपरेको आर्थिक अवस्थाका बारेमा त्यतिबेलाका केही अनुभव बटुलेका ती वृद्ध हुन्, स्थायी घर सिन्धुपाल्चोक, हाल कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ निवासी कृष्णप्रसाद पौडेल । उहाँ उमेरले ८५ वर्ष लाग्नुभयो । उहाँ त्यतिबेलाको वस्तु विनिमय प्रणाली र आर्थिक अवस्थाबारेमा केही जानकारी पाएको ज्युँदो साक्षी पनि हुनुहुन्छ । वस्तु विनिमय प्रणाली र आजको अर्थतन्त्रबारे उहाँको भनाइ जस्ताको तस्तै लेखेको छु ।

त्यतिबेला बुवाले थाहा पाएअनुसार मौद्रिक अवस्था भनेको १ पैसा, ५ पैसा, १० पैसा, २५ पैसा, ५० पैसा र १ रुपैयाँको ढ्याक थियो । त्यतिबेला २५ पैसालाई १ सुका भनिन्थ्यो भने ५० पैसालाई १ मोहोर । बुबाले जानकारी गराएअनुसार त्यतिबेला १ माना घिउको मूल्य २५ पैसा थियो । केही आवश्यक वस्तु तथा खाद्यान्न लिनुपरेको खण्डमा वस्तु तथा सेवाहरू एकआपसमा साटासाट गरेर मात्र गुजारा चलाइन्थ्यो । कसैको खेतबारीमा पर्म भन्ने हुन्थ्यो ।

आफूलाई आवश्यक परेको बेलामा आएर घर अनि खेतको काम गरिदिन्थे भने अरूलाई परेको बेलामा खेतबारीमा काम गरेर आउनुपर्ने हुन्थ्यो । खेतबारीमा फलेको जे फल थियो, दिनभरि काम गरेर साँझ घर फर्कने बेलामा त्यही फल दिन्थे । हामीलाई पीठोको समस्या परेको बेलामा हामीले चामल दिएर पीठो लिन्थ्यौं । कसैले तेल, चिनी, नुन, चिउरा, मरमसला एकबाट अर्कोसँग साटेर दैनिक गुजारा चलाउनुपर्ने हुन्थ्यो । कहिलेकाहीँ खुसी भएर बाउबाजेले पैसा दिइहाले भने पनि त्यो पैसा जतनले नमासी राखिन्थ्यो ।

उहाँ भन्नुहुन्छ, त्यसपछि दिनहरू बित्दै गए । समयले वर्षौं बितेपछि मोहोरको चलनचल्ती बिस्तारै हराउँदै गयो । रुपैयाँको चलन हुन थाल्यो । त्यति बेला रुपैयाँ कमाउन निकै गाह्रो थियो । दैनिक आवश्यकता सामानहरू पनि निकै सस्ता थिए । बुवा हाँस्दै भन्नुहुन्छ, बुवाको विवाह गर्दा जम्मा ८० रुपैयाँ मात्रै लागेको थियो रे । सुन निकै सस्तो भए तापनि त्यतिबेला जो–कोहीसँग पनि त्यति पैसा हुँदैनथ्यो । १ सय रुपैयाँले भएभरको सामान किनेर पनि पैसा धेरै फिर्ता नै आउँथ्यो । १ हजार हुने मान्छेलाई त हजारपति भन्थे रे ।

सामाजिक सद्भाव निकै राम्रो थियो । एकआपसमा दाजुभाइप्रतिको मायाममता राम्रो थियो । समाजमा छट्टै भाइचारा सम्बन्ध कायम हुन्थ्यो । पछि दिनहरू बत्दै गए । काठमाडौंमा सबै सेवासुविधा हुन्छ भनेर काठमाडौं आयौं । काठमाडौं आउन सवारी साधन निकै कम मात्र चल्थ्यो । यहाँसम्म कि सदरमुकामसम्म आएर काठमाडौंका लागि बस चढ्नुपथ्र्याे । मानिसहरूको जनसंख्या निकै पातलो थियो भने खेतीयोग्य जमिन पनि प्रशस्तै थिए । उनी सम्झन्छन्, अब ती दुःखका दिनहरू, संघर्ष गरेका दिनहरू सम्झँदा त एकादेशको कहानी मात्र हुन्छ । अहिलेका युवाहरूलाई सो कुरा बताउँदा निकै अचम्मित हुन्छन् ।

हो, साँच्चिकै यी ८५ वर्षे बृद्ध बुवाले भनेजस्तै थियो त्यतिबेलाको वस्तु विनिमय प्रणाली । अझै त्योभन्दा पनि पहिले के थियो होला ? तर, ती अब सबै इतिहासमा मात्र सीमित हुनेछन् । वस्तु विनिमय प्रणालीबाट परिवर्तन हुँदै अहिले मुलुकको अर्थतन्त्र या मौद्रिक नीतिमा निकै परिवर्तन आएको छ । राजा वीरेन्द्रको वंश विनाशपछि राजा ज्ञानेन्द्रले राजगद्दी सम्हाले । त्यतिबेलासम्म आउँदा हाम्रो मौद्रिक नीतिहरूमा निकै परिवर्तन आएको थियो । नेपाली रुपैयाँको वृद्धिदर निकै बढिसकेको थियो ।

खाद्य सामग्रीहरू भने सकभर मुलुकभित्रै उत्पादित वस्तुहरू हुन्थे । समय परिवर्तन हुँदै गयो । जब मुलुकभित्र राजाले निरंकुश शासन गरे तब विभिन्न सात राजनीतिक दलहरू मिलेर आन्दोलन सुरु गरे । आन्दोलन निकै चर्किएपछि राजा ज्ञानेन्द्रले आफ्नो राजगद्दीबाट जनताको नासो जनतालाई नै सुम्पिदिए । २०६२/६३ को जनआन्दोलनले निरंकुश राजतन्त्रको अन्त्य गरी विस्तृत शान्ति सम्झौतापश्चात् मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्‍यो । त्यसपछि मुलुकमा धेरै राजनीतिक दलहरूले सरकार चलाए पनि मुलुकले खासै परिवर्तनको बाटो भने खोज्न सकेको छैन ।

समयको माग अनि दैनिकीमा परिवर्तन आएसँगै नेपाली रुपैयाँ पनि अत्यन्तै अकासिन थाल्यो । मूल्यवृद्धिमा आएको परिवर्तनले धेरै मानिसको रोजीरोटीमा पनि फरक प¥यो । मुलुकमा रोजगारीका अवसरहरू पर्याप्त हुन नसकेपछि हजारौं युवा आफ्नो परिवारको पालनपोषणका लागि मीठो सपना बोकेर वैदेशिक रोजगारीमा गए । यसले गर्दा पढेलेखेका दक्ष युवा जनशक्ति पनि बिदेसिए । तिनै वैदेशिक रोजगारीमा गएका युवाहरूले पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानेको छ । त्यतिबेलाको वास्तविक वस्तु विनिमय प्रणाली अहिले कथाजस्तो हुन थालेको छ ।

अहिलेको अवस्थासम्म आउँदा आकाश–जमिन फरक परेको छ । खेतीयोग्य जमिनहरू काठमाडौंमा कहींकतै पनि छैन । सबै कङ्क्रिटका घरहरूले काठमाडौं उपत्यका भरिसकेको अवस्था छ । सुविधासम्पन्न अनि रोजगारीको अवसरले गर्दा काठमाडौं अहिले मानिसहरूको खचाखच थलो बनेको छ । सवारी साधनको अत्यन्त चाप बढेको छ । पेट्रोलियम पदार्थमा भएको उच्च मूल्यवृद्धिका कारण हरेक आयातित वस्तुको मूल्य ह्वात्तै बढेको छ । बजारमा महँगीले चरम बिन्दु नाघिसकेको छ ।

हिजोको दिनमा १ हजारले सबै व्यवहार पुग्ने, अहिले १ हजारको केही पनि नआउने अवस्था सिर्जना भएको छ । हिजोको दिनहरूमा स्वच्छ खानेकुराहरू पाइन्थ्यो, अहिले पैसा तिरेर पनि स्वस्थ खानेकुरा पाउन मुस्किल छ । मिसावट नभएको कुनै खानेकुरा नै छैन । घरबाट निस्केपछि हरेक कुरामा पैसा मात्रै खर्च हुन्छ । नातावाद र कृपावादको कारणले रोजगारीका अवसरहरू निकै सीमित मात्रामा पाइन थालेको छ । युवाहरू दिनहुँ हजारौं संख्यामा वैदेशिक रोजगारीमा गइरहेका छन् ।

निकै सुस्त मात्रामा मात्रै विकास निर्माणको कामले गति लिन सकेको अवस्था छ भने मुलुकका कैयौं ठाउँमा विकास निर्माणको कामहरू ठेकेदारको लापरवाहीका कारण अलपत्र अवस्थामा रहेका छन् । मुलुकको आर्थिक अवस्थालाई नियालेर हेर्ने हो भने मुलुकले वैदेशिक ऋण लिएर मुलुकको आर्थिक अवस्था धान्नुपरेको छ । तर, पछिल्लो समय मुलुकभित्र रहेको बैंकिङ प्रणालीमा भने निकै सुधार आएको देख्न सकिन्छ ।

क्यास कारोबारलाई डिजिटल माध्यममा रूपान्तरण गर्दै जनतालाई सेवामा सहज, सुविधा र सरलीकरणका लागि विभिन्न बैंक–वित्तीय संस्थाहरूमा चेकको कारोबार, सँगै एटिएम कार्ड, डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकिङ वित्तहरूले क्यास लेस जस्तै पोन पे, ई–सेवा, ई–बैंकिङ, मोबाईल बैंकिङ, विभिन्न डिजिटल बैंकिङ एपहरू सञ्चालनमा आएसँगै दैनिकी कार्य सम्पादनमा पनि उत्तिकै सहजता आएको छ । सेवाग्राहीहरूलाई छिटो सेवा–सुविधा दिएका छन् । सेवाहरू छिटोछरितो हुनुका साथै लाइन बस्ने झन्झट पनि न्यून भएर गएको छ ।

पछिल्लो समय र मागमा आएको परिवर्तनसँगै वस्तु विनिमय प्रणाली तथा मुलुकभित्र रहेको पुराना नोटहरूलाई विस्थापित गर्दै मुलुक अहिलेको आर्थिक क्षेत्रको कारोबारमा निकै अगाडि बढेको छ भने मानिसहरूको दैनीकी खर्च पनि समय र मागसँगै उत्तिकै मात्रामा वृद्धि भएको छ । निम्न आय भएका मानिसहरूको खर्चको अनुपात हेर्दा पनि कमाइभन्दा खर्च निकै बढी देखिन आउँछ भने मानिसहरूको बचत गर्ने बानीमा भने निकै कमी आएको छ ।

प्रतिक्रिया दिनुहोस्