अब पालो दबाबको «

अब पालो दबाबको

भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका क्रममा ठूला र स्थापित राजनीतिक दलका प्रमुखहरूले नयाँ दल र स्वतन्त्र उम्मेदवारप्रति कटाक्ष गरे पनि सर्वसाधारणले उनीहरूलाई मत दिएर अभिनन्दन गरेका छन् । निर्वाचनमा आफूहरूको विकल्प नभएको र जनताले यो बुझेको बताउने कतिपय नेताहरू स्वयं पराजित भएको अवस्था छ ।

प्रजातन्त्र आएको साढे तीन दशकसम्म पालैपालो सत्तामा पुगेर पनि मुलुकको आर्थिक विकास र सेवा प्रवाहमा चुकेका ठूला दलहरूको दम्बलाई यस पटकको निर्वाचनले तोड्ने काम गरेको छ । यस अर्थमा सार्वभौमसत्ता जनतामै निहित छ भन्ने देखिएको छ । जन चाहनाअनुसार काम गर्न नसक्ने दल र उम्मेदवार अब रोजाइमा पर्ने छैनन् भन्ने यसअघिको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई निर्वाचित गरेर जनताले संकेत दिइसकेका थिए ।

तैपनि ठूला र स्थापित दलहरूको दम्भ बाँकी नै थियो । यो निर्वाचनले सबै दललाई एकपटक सोच्न बाध्य बनाएको छ । अहिलेको निर्वाचनबाट पनि विगतमा जस्तै नेपाली कांग्रेस, नेकपा एमाले, माओवादीलगायतका दलहरू नै सत्तामा पुग्नेछन् । तर, सँगसँगै उनीहरूका कामप्रति खबरदारी गर्न यसपटक जनताले केही नयाँ प्रतिनिधि संसद्मा पठाएको अवस्था छ । राजधानी काठमाडौंबाटै केही महिनामात्र अघि खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीका चार जना संसद संसद्मा पुगेका छन् ।

मुलुकका विभिन्न जिल्लाबाट राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतका नयाँ राजनीतिक दल र स्वतन्त्र गरी दर्जनौं सांसद यसपटक संसद्मा खबरदारी गर्न पुगेका छन् । जनताले ठूला दलहरूलाई पटक–पटक आवश्यक बहुमत दिए पनि आन्तरिक किचलो गरेर कहिल्यै पाँचवर्षे कार्यकाल पूरा गरिएन । सत्ताको सेरोफेरोमा मात्र रमाउने नेताहरूको प्रवृत्तिले पार्टी फुटाउनेदेखि संसद् नै भंग गर्नेसमेतका काम गरिए ।

आफूहरूले जे गरे पनि जनतामाझ दल र तिनका उम्मेदवारलाई भोट दिनुको विकल्प छैन भन्ने मानसिकता नेताहरूमा देखिएको थियो । केही अपवादलाई छोडेर हेर्ने हो भने विगतमा निर्वाचनहरूमा पनि जनताले सत्तासीन पाटीको विपक्षमा मत जाहेर गरेका थिए । यस्तो कदम अर्को नयाँ विकल्प नभएको अवस्थामा मात्र थियो भन्ने ठूला दलहरूले बुझेका थिएनन् वा बुझेर पनि नबुझेजस्तै गरेका थिए । ठूला दलहरूको तुलनामा नयाँ दल र स्वतन्त्र सांसदको हैसियत अहिले सानो देखिए पनि यो आगोको झिल्कोजस्तै हो ।

सत्ता सञ्चालनमा नयाँ पार्टीको बहुमत त नहोला तर शासन सुधार र निर्णय प्रक्रियामा अवश्य पनि यसका सांसदको आवाज बुलन्द हुनेछ । अहिलेको पुस्ताले द्रुत गतिको परिवर्तन चाहेको छ जुन पुराना दलको परम्परावादी सोचबाट हुँदैन भनेर नै नयाँ पार्टीमा मत दिएको देखिन्छ । नयाँ पार्टीलाई मतदाताले धेरै भरोसा गरेर मात्र मत दिएका छन् । वर्षौ देखिको विकास र समृद्धिको आशामा ठूला दलहरूले कुठाराघात गरेपछि उनीहरूप्रतिको वितृष्णाको यो मत मात्र होइन, केही गर्छन् कि भन्ने आशाको पनि मत हो ।

स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चुनाव प्रसारप्रचारका दौरान भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । मुलुक भ्रष्टाचारकै कारण अगाडि बढ्न नसकेको आम जनताको बुझाइ छ । नयाँ पार्टीको भ्रष्टाचार मात्र होइन, अब विकासका सवालमा पनि दह्रो खबरदारीको अवस्था छ । मुलुकका गेमचेन्जर भनिएका आयोजनाहरू नै वर्षौंदेखि अलपत्र छन् । निर्माण व्यवसायी, कर्मचारी र नेता कार्यकर्ताको मिलेमतोमा समयमा काम नगरी आयोजनाको समय लम्ब्याउने र लागत बढाएर कमाउने प्रवृत्तिको विकास भएको छ ।

आयोजनाहरूमा हुने यस्तो प्रवृत्तिले सरकारले रोजगारीका अवसर पनि सिर्जना गर्न सकेको छैन । राजनीतिक दल र तिनका सरकारले वार्षिक लाखौंको संख्यामा रोजगारी दिने प्रलोभन देखाए पनि बेरोजगारी दर क्रमशः बढ्दो छ । कामको खोजीमा विदेश जानेको संख्यामा कमी आएको छैन । दैनिक झनै बढ्दो छ । पछिल्लो समय दैनिक औसतमा २ हजारभन्दा बढी वैदेशिक रोजगारीमा गइरहेका छन् । अहिले सरकारको डेलिभरी भनेको जनतालाई दुःख दिने हो जस्तै देखिएको छ ।

सरकारी कार्यालयहरूमा काम लिन जाँदा घण्टौं लाइन वस्तुपर्ने बाध्यता छ । एउटा सरकारी निकायले दिएको प्रमाणपत्र अर्को सरकारी निकायले अविश्वास गर्छ । एउटै विषयमा अनावश्यक कागजपत्र मगाएर जनतालाई दुःख दिने गरिन्छ । कागजपत्र र सिफारिसका विषयहरूमा अल्झाएर कर्मचारीहरूले अतिरिक्त रकम लिने गर्दै आएका छन् । आम सर्वसाधारण र उद्योगी–व्यवसायीले कर तिर्नसमेत लाइन बस्नुपर्ने र आफैं उपस्थित हुने पर्ने जस्ता झन्झट बेहोर्नुपरेको छ ।

समग्रमा भन्दा सरकारको सुशासन र सेवा प्रवाह ज्यादै निम्छरो बनेको छ । आम जनता कष्टकर जीवन बिताउन बाध्य बनेका छन् । राजनीतिक दलले देखाएको यो सबै बेथितिको अन्त्यका लागि नयाँ दललाई मतदाताले छानेको अवस्था हो । यसैले अब पुराना दललाई नयाँ दलले दबाब दिने पालो आएको छ । यसमा नयाँ दल चुके फेरि मतदाताले अर्को विकल्प खोज्नेछन् ।

प्रतिक्रिया दिनुहोस्