पाल्पाको रैनादेवीमा न्वागी मेलाः देवतालाई चामल चढाएर खान सुरु

पाल्पा जिल्लाको रैनादेवी छहरामा परम्परादेखि धान काटेपछि देवतालाई चढाएर मात्रै खाने परम्पराको निरन्तरता चलेको छ । यहाँ धान भित्र्याएपछि पहिले देवीलाई चढाएर मात्र उपभोग गर्ने प्रचलन छ । यहाँको प्रसिद्ध मन्दिर रैनादेवी मन्दिरमा नयाँ धान उत्पादन गरेपछि भगवतीलाई चढाएपछि मात्रै खाने गरिन्छ, त्यसैको निरन्तरता स्वरुप अहिले यहाँ मेला नै लाग्ने गरेको छ ।
यहाँ न्वागी पर्वका दिन देवीलाई काँचो चामलमा दही, केरा, सुकुमेल र अन्य मसला एकै ठाउँमा मिलाई त्यसलाई राम्ररी मुछेर विधिर्पूवक चढाइसकेपछि त्यसलाई प्रसाद स्वरूप खाने परम्परा रहिआएको छ । यसरी चढाएपछि मात्र घरमा भित्र्याइएको नयाँ धानको भात खाने गरिन्छ । यो पर्वमा प्रत्येक वर्ष नयाँ धानबाली पाकेपछि रैनादेवीसँग मागेको बर कहिल्यै पनि खेर नजाने स्थानीय बासिन्दाको विश्वास छ ।
यहाँका स्थानीय बासिन्दा वर्षभर परदेशी भए पनि न्वागीको समय पारेर घर आउने गर्छन् । न्वागीको दिन बिहानैदेखि मन्दिरमा पूजाआजा हुनेगर्छ भने रातभर सोरठी, ख्याली, बालुन र मालश्री गाउने तथा नाच्ने गरिन्छ । पछिल्लो समयमा स्थानीय बासिन्दाको पहलमा न्वागी मेलालाई महोत्सवकै रूपमा मनाउन थालिएको स्थानीयले जनाएका छन् ।
न्वागी पर्व पश्चिम पाल्पाकै धार्मिक आस्थासँंगै मौलिक संस्कृति, जीवन पद्धति, कृषक तथा कला संस्कृतिसँग गाँसिएको छ । न्वागी नखाई नयाँ धान प्रयोगमा ल्याए सो घरमा अनिष्ट हुने जनविश्वास छ । सोहीअनुसार यस वर्षको न्वागी पर्व मंगलबार मनाइएको छ । पालिकाको नामसमेत यसै मन्दिरबाट भएकाले न्वागी पर्वलाई गाउँपालिकाले धार्मिक आस्थासँगै कला संस्कृति जगेर्ना गर्ने काममा लागेको गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराईले बताए ।
पालिकाका उपाध्यक्ष युवराज थापाले रैनादेवीको महत्व, न्वागी पर्वको मान्यता, स्थानीय कला संस्कृति र मनमोहक दृश्यले यस क्षेत्रको महत्व बढाएको बताए । परम्परागत स्थानीय कला संस्कृति हराउँदै गएको समयमा पालिकाले स्थानीय कला–संस्कृति नाचलाई प्रतियोगिताको रूपमा सञ्चालन गरी जगेर्ना गर्ने काम गर्दै आएको उनको भनाइ छ ।
यस क्षेत्रलाई धार्मिक पर्यटकीय केन्द्रको रूपमा विकास गर्न गाउँपालिका लागेको छ । रैनादेवी मन्दिरलाई व्यस्थित गर्दै नयाँ मन्दिरका लागि काम सुरु भएको, न्वागी पर्वलाई अझै व्यवस्थित गर्दै लैजाने पालिकाको योजना छ । स्थानीय कला–संस्कृति देखाउने, जगेर्ना गर्ने, प्रतियोगिताको रूपमा स्थानीय कलाकर्मीको हौसल्ला बढाउने गरी पालिकास्तरीय प्रतियोगिता सञ्चालन गरेको रैनादेवी छहरा गाउँपालिका–३ का वडाध्यक्ष प्रदिप पौडेलले बताए ।
न्वागी पर्वको अवसरमा रैनादेवी मन्दिर परिसरमा लोपोन्मुख अवस्थामा रहेका पञ्चेबाजा, सोरठी, मालश्री, ठूलो नाँच, रत्यौली, झाम्रे चुड्का, लाखे, कौडा मारुनीजस्ता विभिन्न जातजातिका स्थानीय मौलिक कला संस्कृतिले दर्शकहरूको मन जितेको थियो ।