प्रदेशसभामा पनि कांग्रेसकै वर्चश्व
पर्सामा कांग्रेसको कम्ब्याक, जसपा दोहोरियो

पर्सामा नेपाली कांग्रेसको पुनरागमन भएको छ । २०६४ सालको संविधानसभा निर्वाचन र २०७४ सालको निर्वाचनमा पराजित नेपाली कांग्रेसले मंसिर ४ गते सम्पन्न निर्वाचनमा पर्सामा कम्ब्याक गरेको हो । पर्साको ४ वटा प्रतिनिधिसभा क्षेत्र मध्ये तीन वटाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
एउटामा जसपाले जित्दा दुई वटा क्षेत्रमा नेपाली काँग्रेसले बाजी मारेको छ । अन्तिम मतपरिणम अनुसार पर्सा क्षेत्र नं २ बाट नेपाली कांग्रेसका नेता अजयकुमार चौरसिया प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निकटम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका सुरेन्द्रप्रसाद कुर्मी भन्दा ६ हजार ६ बढी मत ल्याएर कांग्रेस केन्द्रीय सदस्य समेत रहेका चौरसिया निर्वाचित भएका हुन् ।
२८ हजार ४५१ मतसहित अजय प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा जसपाका सुरेन्द्रले २२ हजार ४४५ मतपाएका छन् । ८६ हजार ९ सय ६६ मतदाता रहेको पर्सा क्षेत्र नं २ मामंसिर ४ गते सम्पन्न निर्वाचनमा ५९ हजार १ सय ८८ मत खसेको थियो । पर्सा क्षेत्र १ मा जसपा नेताएवं पूर्वमन्त्री प्रदीप यादव पून: निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार अजय द्विवेदीभन्दा १ हजार ६ सय २० बढी मत ल्याएर यादव निर्वाचित भएका हुन् । एमाले जसपा गठबन्धनका उम्मेदवार प्रदीपले २२ हजार ५ सय ३७ मत पाउँदा अजयले २० हजार ९ सय १७ मत पाए ।
तेस्रो स्थानमा आएका राप्रपाका उम्मेदवार किरणमान डंगोलले २ हजार ६ सय ५१ मत ल्याए भने पाँच दलीय गठबन्धनका उम्मेदवार लोसपा नेता लक्ष्मणलाल कर्णले १ हजार १ सय १७ मतमात्रै पाएका छन् । ७७ हजार ६ सय ७९ मतदाता रहेको पर्सा क्षेत्र नं १ मा मंसिर ४ गते भएको निर्वाचनमा ५१ हजार ३ सय ७९ मत खसेको थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पर्सा क्षेत्र नं ४ मा ७ औं पटक उम्मेदवार बनेका रिजाल निकटतम प्रतिद्वन्द्वीलाई ५५३० मतान्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । पाँच दलीय लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार रिजालले ३१ हजार १४२ मत ल्याउँदा एमाले–जसपा गठबन्धनका उम्मेदवार एमाले नेता जालिममियाँ मन्सुरीले २५ हजार ६१२ मतपाएका छन् ।
पर्सामा क्षेत्र नम्बर ३ को अन्तिममत परिणाम आउन बाँकी रहेको छ । क्षेत्र नम्बर ३ मा पनि नेपाली कांग्रेसले नै जित्ने प्रवल सम्भावना रहेको छ । कांग्रेसका सुरेन्द्र चौधरी र नेकपाएमालेका राजकुमार गुप्ताबीच कडा टक्कर भएको छ । साँझ ७ बजेसम्म राजकुमार गुप्ताले २९० मतले अग्रता लिएका छन् । त्यसअघि चौधरीले अग्रता लिइरहेका थिए ।
प्रदेशसभामा पनि कांग्रेसकै वर्चश्व
प्रदेशसभा क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ । प्रदेश सभा सदस्यतर्फ सबैभन्दा बढी नेपाली कांग्रेसले ३ वटा क्षेत्रमा जितेको छ । भने जसपाले २ वटा, लोसपा, माओवादी र स्वतन्त्र उम्मेदवारले १/१ स्थानमा जित निकालेका छन् । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ को दुई वटै प्रदेशसभाको अन्तिममत परिणाम सार्वजनिक भएको छ ।
जसअनुसार पर्सा निर्वाचन क्षेत्र नं ३ (१) मा स्वतन्त्र उम्मेदवार प्रमोदकुमार जयसवाल निर्वाचित भएका छन् । नेकपा (एमाले)का तर्फबाट उम्मेदवार बनेका निवर्तमान सांसद अब्दुल रहिमअन्सारी (मञ्जुर) लाई पराजित गर्दै मधेस प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । प्रमोदले ७ हजार ३ सय ८१ मत पाउँदा अब्दुलले ५ हजार ९ सय ३० मत पाए ।
त्यस्तै क्षेत्र नं ३ को प्रदेश सभा क्षेत्र नं २ मा जनार्दन सिंह क्षेत्री विजयी भएका छन् । नेपाली कांग्रेसका पर्सा सभापति समेत रहेका क्षेत्री १० हजार १ सय ७२ मत ल्याएर विजयी भएका हुन् । क्षेत्रीको निकटतम प्रतिद्वन्दीजसपा नेतृ मधु गुप्ताले ७ हजार ४ सय ९६ मत पाइन् । निवर्तमान प्रदेश सभा सदस्य एकीकृत समाजवादीका प्रल्हाद गिरी ६ हजार ५ सय ३ मत ल्याएर तेस्रो स्थानमा सीमित रहे ।
२०७४ को निर्वाचनमा प्रल्हादले जर्नादनलाई पराजित गरेका थिए । पर्सा निर्वाचन क्षेत्र नं. १ (क) बाट नेकपा माओवादी केन्द्रका उमेदवार रहबर अंसारी विजयी भएका छन् । उनले ७ हजार ८१७ मतप्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले जसपा गठबन्धनबाट उमेदवार बनेका नेकपा एमालेका विचारी यादवले ५ हजार ५१८ मतपाएका छन् । स्वतन्त्र उमेदवार जनत अंसारीले ५ हजार २८६ मत र अर्का स्वतन्त्र उमेदवार सुधिर पटेलले ४ हजार ४५ मत प्राप्त गरेका छन् ।
त्यस क्षेत्रमा कुल २८ हजार २७३ मत खसेको थियो । यसैबीच मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । जनता समाजवादी पार्टीका उम्मेदवार राउतपर्सा निर्वाचन क्षेत्र नं. १ (ख) बाट मधेश प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले ७ हजार ५४५ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका रामनारायणप्रसाद कुर्मीले ६ हजार २१२ मत पाएका छन् ।