झापा २ (१) मा एकराज कार्की र ३ (१) मा भूमिप्रसाद राजवंशी निर्वाचित

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत झापा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणामअनुसार झापा २ को प्रदेश १ मा नेकपा (एमाले) का एकराज कार्कीले १८ हजार सात सय ३१ मत प्राप्त गरी विजय भएको क्षेत्र नं २ का निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिए ।
विजयी कार्कीका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका पुष्पराज पोखरेलले छ हजार एक सय एक मत प्राप्त गरेका छन् । कार्की र पोखरेलको मतान्तर १२ हजार ६ सय ५१ मत रहेको छ । झापा क्षेत्र नं. २ को प्रदेशसभा १ मा ३८ हजार पाँच सय ४८ मत खसेको थियो । जसमा ती हजार तीन सय ३० मत बदर भएको निर्वाचन अधिकृत पन्तले जानकारी दिए ।
कार्कीले जीतसँगै दोस्रो पटकको प्रदेशसभाको यात्रा तय गरेका छन् । उनी २०७४ सालको संसदीय निर्वाचनमा समेत झापा २ को प्रदेशसभा १ बाट विजयी भएका थिए । यस्तै झापा क्षेत्र नं ३ को प्रदेशसभा १ मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी विजयी भएका छन् । राजवंशीले २० हजार सात सय ७० मत प्राप्त गरि विजयी भएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का वसन्त बानियाँले १९ हजार सात सय एक मत प्राप्त गरेका छन् । झापा क्षेत्र नं. ३ को प्रदेशसभा १ मा ४५ हजार दुई सय ९५ मत खसेको थियो ।