‘सरकारले नीतिमा सहजीकरण गरे कपडा निर्यात गर्न सक्छौं’

वि.सं २०१३ मा आधिकारिक रूपमा दर्ता भएर सञ्चालनमा आएको नेपाल उल हाउसको विरासत अहिले तेस्रो पुस्तामा सरेको छ । हजुरबुबाले सुरु गरेको उल हाउसको व्यापारलाई अहिले नाति दिपेश तुलाधरले प्रबन्ध निर्देशकका रूपमा जिम्मेवारी सम्हालेका छन् । हजुरबुबाले सुरु गरेको ऊन तथा अन्य न्यानो पहिरनका कपडाको व्यापारलाई तुलाधरले अहिले अगाडि बढाएका छन् ।
व्यापारमा संलग्न तुलाधरले इन्जिनियरिङ र एमबीएसम्मको अध्ययन पूरा गरेका छन् । सन् २०१० देखि स्वदेशमा नै पारिवारिक व्यवसायलाई अगाडि बढाइरहेका उनै तुलाधरसँग स्वदेशी उद्योगको अवस्था, नेपालमा ऊन उद्योगको सम्भावना र नेपालको ऊन बजारलगायतमा केन्द्रित भएर कारोबारकर्मी दीपेन्द्र थापाले गरेको कुराकानीको सारः
नेपाल उल हाउस कसरी सुरु भएको थियो ?
स्वर्गीय हजुरबुबा दिव्यरत्न तुलाधरले भनेअनुसार वि.सं १९९२ मा उहाँले असनमा थोक पसल खोल्नुभएको थियो । त्यो बेला असनमा गम बुट, टोपी, टिसर्ट आदि सामानसहित सामान्य पसल राख्नुभएको थियो । अहिले हामीले भोटाहिटीमा पसल सञ्चालन गरिरहेका छौं । त्यो बेलामा पसल खोलिसकेपछि मेरो हजुरबुबा भारतको लुदिआना गएर जाडोमा लगाउने लुगा ल्याएर यहाँ बेच्न सुरु गर्नुभएको हो रे ।
हाम्रो पसल २०१३ सालदेखि नै कर कार्यालयमा दर्ता भएको पहिलो पसलसमेत हो । बाजेपछि मेरो स्वर्गीय ठूलोबुबा मणिरत्न तुलाधरले २५ वर्षसम्म यो पसल सम्हाल्नुभयो । त्यसपछि २०४६ सालमा मेरो बुबाले यो पसल सम्हाल्नुभयो । एकपछि अर्को पुस्ताले सम्हाल्दै आएको यो व्यवसायमा हामीलाई बजारमा बाजेले दिलाउनुभएको विश्वास र नामले निकै सहज भएको छ । अहिले पनि विशेषतः बुबाले नै हेर्नुहुन्छ ।
सन् २०१० मा म एमबीए सकेर फर्किएपछि यही व्यवसायमा आबद्ध भएँ र थप कामसमेत अघि बढायौं । अहिले इन्डियाका सामान मात्र नभएर ३०–४० प्रतिशतचाहिँ स्वदेशी सामान नै आउँछ । यो कोरोनाको समयपछि त स्वदेशी उत्पादनको झनै माग बढेको देखिन्छ ।
उल भनेको के हो ? यसको कच्चा पदार्थ कस्तो हुन्छ अथवा कसरी बन्छ ? नेपालमा उलन कपडाको अवस्था कस्तो छ ?
उलको स्रोत भनेकै भेडा, खरायो र बाख्राहरू हुन् । भेडाको उल पनि दुई किसिमको हुन्छ । बच्चाको उललाई ल्याम्ब उल भनिन्छ, जबकि ठूलो भेडाको उललाई सिप उन नै भनिन्छ ।
यसबाहेक याक उल, मेरिनो उल आदि हुन्छ । यी सबै प्राकृतिक उनहरू भए । उलको काम खासमा न्यानो उत्पादन गर्ने होइन । यसको काम भनेको भित्रको तातोलाई भित्रै र बाहिरको चिसोलाई भित्र छिर्न नदिने हो । यसले एउटा भित्ताको जस्तो काम गर्ने हो । तर, अहिले जसरी जनसंख्या वृद्धि भइरहेको छ, उलको माग बढिरहेको छ, त्योअनुसार प्राकृतिक उलमात्र पर्याप्त हुँदैन ।
त्यसैले पेट्रोलियमबाट निस्किएको यार्नबाट एक्रिलिक उल निस्किन्छ । एक्रिलिक उल प्राकृतिक उलजस्तो त हुँदैन । यसको मूल्य पनि सस्तो हुन्छ । स्थानीय मागअनुसार यहाँ जाडोमा लगाउने स्वेटरको माग बढ्दो छ । व्यावसायिक हिसाबले हेर्दा पनि गर्मीमा भन्दा जाडोमा बढी व्यापार हुन्छ ।
नेपालमा उलको आयात कहाँ–कहाँबाट हुन्छ ? कोरोनाले आयातमा कस्तो असर पा¥यो ? स्वदेशी उत्पादनले यो व्यवसाय कतिसम्म धानिरहेको छ ?
उल आयातको मुख्य स्रोत भनेको चीन र भारत नै हो । र अर्को कुरा, हाम्रो स्वदेशी धागो उत्पादक कम्पनी रिलायन्स इन्डस्ट्रिजको पनि ठूलो देन छ । प्रतिशतमा हेर्नुपर्दा हाम्रोमा चाहिँ भारतीय धागो बढी प्रयोग हुन्छ । भारतीय धागोको गुणस्तरमा एकरूपता भएका कारण नै बढी प्रयोग भएको हो ।
कोरोनाकालको कुरा गर्नुपर्दा त्यसबखत स्वदेशी उत्पादनले धेरै बजार पायो । त्यो समयमा बाहिरबाट आयात घट्यो र कोरोनापछि अहिलेको सामान्य अवस्थामा फेरि सरकारले आयातमा प्रतिबन्ध लगायो । यो कारणले चाहिँ यसबीचमा स्वदेशी उत्पादनले निकै राम्रो बजार पाइरहेको छ जस्तो लाग्छ । अहिलेको अवस्था हेर्नुपर्दा हाम्रोमा उल हाउसमा नै ३० देखि ४० प्रतिशत स्वदेशी धागो नै प्रयोग भइरहेको छ । नेपालको उलन बजारमा अलिकति समस्या भनेको दुई–तीन महिनालाई हो ।
उल त विशेष जाडो छेक्नका लागि प्रयोग हुन्छ । त्यो हुँदा जाडो महिनामा राम्रै व्यापार हुन्छ, गर्मीमा कम नै हुन्छ । विश्वव्यापी रूपमा नै हेर्दा पनि समयसापेक्ष ट्रेन्डहरू परिवर्तन भइरहेको हुन्छ । हातले बुनेका उनका कपडाहरू भनेको त्यो फुर्सदको समयमा गर्ने हो । अहिले विभिन्न मेसिनहरू बनेको अवस्थामा पहिलेको सापेक्षतामा हातैले मात्र बुनेको कपडा कम हुनु भनेको सामान्य हो । तर, यो लकडाउनका बेला फेरि मानिससँग पर्याप्त समय भएकाले ध्यान र धैर्यताका साथ हातले बुनेका कपडाको संख्या बढेको हो र यो हाते बुनाइको काम भनेको एक प्रकारले थेरापीजस्तो पनि हो ।
अहिलेको पुस्तामा हाते स्वेटर, अन्य लुगा बुनौं भन्ने इच्छा नै नभएको हो ?
आजकाल हेर्नुपर्दा हातले बुन्ने स्वेटर तथा अन्य कपडा युवा पुस्ताले नभएर उनीहरूका हजुरबुबा–आमाले उनीहरूका लागि बुनिरहेका हुन्छन् । साँच्चै भन्नुपर्दा यो एउटा मायाको चिनारी पनि हो । आफ्ना नातिनातिनीका लागि बूढापाकाहरूले समय लगाएर विभिन्न कपडाहरू हातैले तयार पारिदिन्छन् ।
नेपालमा बनेका उलनका लुगा निर्यात गर्न सक्ने अवस्थामा छौँ त हामी ?
उलन क्षेत्रमा निर्यातको एकदमै राम्रो बजार छ । हामीले पस्मिना धागो ल्याउन सक्यौं र उत्पादनमा ध्यान दियौं भने अझै पनि भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्ने बजार पर्याप्त छ । अहिले नै हेर्नुपर्दा पनि नेपालमा बनेका पस्मिना, उनका कपडाहरू सबैभन्दा बढी इटालीमा जाने रहेछ । त्यस्तै अस्ट्रेलिया, अमेरिका आदि विभिन्न देशमा केही मात्रामा निर्यात भइरहेको छ । यसका लागि थप व्यवस्थित गरेर निर्यात बढाउनु आवश्यक छ ।
कुन उमेर समूहका मानिसले उलनका कपडा बढी प्रयोग गर्छन् ?
पहिले–पहिले उलन स्वेटरहरू विशेष गरेर २५ देखि ५५ वर्ष उमेर समूहका लागि हो जस्तो देखिन्थ्यो । तर, आजकाल त्यस्तो छैन । फेसनदेखि लिएर मानिसको रोजाइ पनि परिवर्तन भइरहने अवस्थामा आजकाल जोकोहीले पनि उलन कपडा प्रयोग गर्छन् ।
फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा पनि नयाँ–नयाँ डिजाइनका उलन कपडाका तस्बिर देखिएपछि जोकोही पनि आकर्षित भइहाल्छन् । अर्को भनेको मानिसले आफूले जे लगाउँछ त्यो नै फेसन बन्छ । त्यो हिसाबले हेर्दा आजकाल बच्चादेखि बूढासम्मलाई उलन लुगाले आकर्षित गर्छ । पहिलेको मार्केट त छँदै छ, त्यसमा अहिले उलनको बजार झनै बढेको छ ।
तराईमा भन्दा पहाड र पहाडमा भन्दा हिमालमा बसोबास गर्ने मानिसहरूले उलन कपडाहरू बढी प्रयोग गर्छन् वा एउटै नै हो ?
विभिन्न क्षेत्रको हावापानी फरक–फरक हुने कारणले तराई क्षेत्रमा हिमाली भेगको भन्दा अलि थोरै कपडा प्रयोग हुन्छ नै । हिमाली क्षेत्रमा जति बढी चिसो हुन्छ उति नै न्यानो उलन कपडा प्रयोगमा आउँछ । तर, अहिले हेर्नुपर्दा मोटो उलनको लुगाभन्दा पनि उनबाट बुनिएका कपडा बढी प्रयोगमा छन् । उलन भन्नेबित्तिकै स्वेटर मात्र हो भन्ने हुँदैन ।
अन्य सामान्य कपडा पनि बन्न सक्छ । यसमा पनि दुई किसिमको हुन्छ, एउटा मेसिनले नै बुनेको र अर्को थानको कपडा । थानमा आएको कपडा आफूलाई चाहिएजति किनेर सिलाउन सकिन्छ । आजकाल त तराईतिर पनि उलन धागोबाट बनेको हलुका खालका, आउटर, टिसर्टहरूको माग बढेको छ । यसरी हेर्दा हिमाली ठाउँमा जस्तो तराईमा उलनका मोटा कपडाहरू बिक्री नहोला, तर मेसिनबाट बुनिएका उलन आउटर, टिसर्टहरूको माग भने बढेको छ ।
पछिल्लो समय उलन मोजा, टोपीदेखि लिएर गलबन्दीसमेत बनेको छ । यो आवश्यकता नै हो कि फेसन ?
अहिलेको अवस्थामा यो एक प्रकारले ट्रेन्ड पनि हो । मानिसलाई नयाँ–नयाँ फेसन गर्न मन लाग्ने हुन्छ । पहिलेको र अहिलेको बजार हेर्नुपर्दा धेरै भिन्नता छ । पहिले मानिसले आवश्यकताले लुगा किन्ने लगाउने गर्थे । तर, अहिले मानिसहरू कता, कुन, कस्तो प्रकारको फेसन चलिरहेको छ त्यो खोजेर त्यसैलाई पछ्याउँछन् ।
फेरि लुगा उत्पादन गर्ने उद्योगहरूले पनि अहिले कता कुन फेसन चलिरहेको छ, त्यसको नमुना संकलन गरेर त्यसै प्रकारका नयाँ स्वेटर तथा लुगाहरू बजारमा ल्याउँछन् । ग्राहकहरूले पनि नयाँ–नयाँ डिजाइनका कपडा खोज्दै आउने हुँदा हामी पनि बजारमा हाल कुन टे«न्ड चलिरहेको छ भन्नेमा चनाखो भएर बस्नुपर्ने हुन्छ ।
नेपालमा उलन लुगाको बजारमा केकस्ता समस्या छन् ? यसको आपूर्तिमा सरकारले कत्तिको सहजता प्रदान गरेको छ ? र, निर्यातका लागि सरकारको तर्फबाट केकस्ता कदमहरू चालिनुपर्छ ?
गार्मेन्ट इन्डस्ट्रिको हिसाबले हेर्नुपर्दा भारत र चीनबाट आयात हुने लुगा यहीं बनाउन ठूलाभन्दा ठूला उद्योगहरू सञ्चालनमा ल्याउनुपर्यो । मानिसलाई चाहिने गास, बास र कपास हो । यसमा गास र बासको त मानिस आफैंले बन्दोबस्त गर्न सक्छ । तर, कपासका लागि त उद्योग कलकारखाना नै चाहिन्छ । तर, यही उद्योग सञ्चालन गर्न भने धेरै मानिस हिचकिचाउँछन् । धेरैजसो मानिस व्यापारमा नै रुचि राख्छन् तर उद्योग खोल्न भने तयार हुँदैनन् । यस क्षेत्रमा सरकारबाट बन्नुपर्ने नीति त्यति चित्तबुझ्दो छैन ।
त्यसैले पनि मानिसले उद्योगका लागि झन्झट नगरी बाहिरबाट आयात गरेर व्यापार गर्नमा बढी रुचि राख्छन् । सरकारले नीति निर्माणमा ध्यान दियो भने मात्रै पनि हामीले भारतमै कपडा निर्यात गर्न सक्छौं । अहिले चीनमा नेपालको पस्मिना निर्यात भइरहेको छ । तर, एकदमै थोरै मात्रामा । यदि सरकारले व्यवसायीलाई सहज हुने गरी नीति निर्माण गर्यो भने हामीले चीनमा नै भने जति पस्मिना निर्यात गर्न सक्छौं । जसरी सरकारले बजेटमा विभिन्न क्षेत्रलाई कर छुटलगायत विभिन्न रूपमा सहजता प्रदान गर्यो, त्यसरी नै गार्मेन्ट क्षेत्रलाई सहजता प्रदान गरेको भए यो उद्योग व्यवसाय निकै फस्टाउँथ्यो ।
सरकारले यस क्षेत्रलाई सहजता प्रदान गरिदिए निर्यात मात्र नभएर देशको जनशक्ति देशमै व्यवस्थापन गर्ने वातावरण पनि सिर्जना हुन्थ्यो । अहिले पनि दिनहुँ लाखौं नेपाली विदेसिने क्रम जारी नै छ । यदि स्वदेशमा नै ठूलाठूला उद्योग सञ्चालनमा आयो भने विदेशी भूमिमा सिकेका सीपहरू स्वदेशमै काम लाग्थ्यो । उनीहरूले विदेशी भूमिमा नै उद्योग कलकारखानाका विभिन्न सीप सिकिसकेका हुन्छन् । यस्तो अवस्थामा उनीहरूलाई नेपालमै उद्योग सञ्चालन गरी रोजगारीको अवसर प्रदान गर्दा देशलाई पनि फाइदाको विषय हुन्थ्यो ।
नेपाल उल हाउसले उलन कपडा उत्पादन र उद्योग स्थापना गर्ने योजना बनाएको छ कि छैन, यो कत्तिको सम्भव छ ?
नेपालमा उलन कपडा उत्पादन गर्ने उद्योग निकै आवश्यक छ । स्वदेशमै कपडा उद्योग सञ्चालन हुन्छ भने त यो झन् देशकै लागि गर्वको विषय हो । यसले हाम्रो क्षमता पनि दर्साउँछ । जसले गर्दा अरूले हामीलाई हेर्ने दृष्टिकोण नै फरक हुन्छ । किनकि अहिलेसम्म त हामी आयातमा नै निर्भर छौं । बाहिरबाट आयात गर्दै माग पूर्ति गरिरहेका छौं ।
अर्को हामीले सोच्नुपर्ने कुरा भनेको भारतले आफ्ना उत्पादनहरू निर्यात गर्ने देशहरूमा नेपाल टप १० भित्र पर्छ । हामी छैटौं या सातौं नम्बरमा छौं भारतको निर्यात सूचीमा । भनेपछि हामी कति परनिर्भर छौं त्यसैबाट स्पष्ट हुन्छ । मेरो अहिलेको व्यवसाय भनेको रिटेल व्यवसाय हो । यसलाई नै कसरी अझ बढाउन सकिन्छ भन्नेतर्फ मेरो विशेष ध्यान छ । उद्योग सञ्चालनमा गइहाल्ने मेरो सोच छैन । तर, यसका लागि भोलिका दिनमा केही गर्नुपरेमा म सधैं अग्रसर रहनेछु । हेर्दा एकै देखिए पनि उद्योग र रिटेलमा धेरै फरक छ ।
उलन कपडाको बजारमा नेपाल उल हाउसले छुट्टै स्थान बनाएको छ । नेपाल उल हाउस के कारणले पृथक् छ ?
धैर्यता, समर्पण र मेहनतले गर्दा नै नेपाल उल हाउसले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको हो । भोलि के हुन्छ भनेर सोच्ने र आत्तिनेभन्दा पनि आजको दिन कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा ध्यान दियौं भने भोलि आफैं राम्रो हुन्छ । मेरो मुख्य काम भनेको ग्राहकले कुन सामान रुचाइरहेको छ, कुन सामानमा कमी कमजोरी भइरहेको छ भनेर नियाल्ने हो । र, त्यसैलाई सच्याउनतर्फ लाग्ने हो । अरूभन्दा फरक भएको कारण पनि यही नै हो ।
ग्राहकको रोजाइ, कहाँ के भइरहेको छ, कमी–कमजोरी आदि कुराको विशेष ध्यान राख्ने र अर्को पटक त्यो नदोहोरियोस् भन्ने हेक्का पुर्याउने कारणले गर्दा नै नेपाल उल हाउस अरूभन्दा फरक हुन पुगेको हो । अर्को कुरा, आपूर्तिकर्तासँगको सम्बन्धले पनि यो व्यवसायमा निकै फरक पर्छ । हामीसँग विगत ४०–५० वर्षदेखि सँगै काम गरिरहनुभएका आपूर्तिकर्ताहरू हुनुहुन्छ । मैले पनि सामान ल्याउँदा उहाँहरूसँग ग्राहकका गुनासोहरू भन्नुपर्छ । उहाँहरूले पनि ती कुराहरू सुनेर, बुझेर अर्को पटकदेखि आफ्ना कमी–कमजोरीहरू सच्याउनुहुन्छ ।
नेपाल उल हाउसमा कति कर्मचारी कार्यरत छन् ?
उल हाउसमा हाल ४०–५० जना कर्मचारीहरू हुनुहुन्छ । तीमध्ये पनि धेरैजसो कर्मचारी दशकौंदेखि हामीसँग जोडिनुभएको छ । दिनमा हजारौं ग्राहकको आवतजावत हुन्छ । यो पनि कपडाको सिजनअनुसार परिवर्तन हुन्छ । गर्मी यामकै लागि पनि हामीले उनबाट बनेका लुगाहरू तयार पार्ने गरेका छौं ।