हेटौंडामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सञ्चालनमा

३ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा सञ्चालनमा आएको छ । प्रदेश सभाको पहिलो बैठक बसेको भोलिपल्ट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सञ्चालनमा आएको हो । जिल्ला समन्वय समितिको भवनलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा परिणत गरिएको थियो ।
कार्यालयमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका मुख्यसचिव रेश्मीराज पाण्डेले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरेपछि आयोजित कार्यक्रममा पाण्डेले संघीय संरचनाअनुसार देश अघि बढ्ने क्रममा आफू क्षेत्रीय प्रशासकको जिम्मेवारीबाट नयाँ जिम्मेवारीमा आएको बताए ।
उनले शुक्रबारबाट नै मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कार्य शुभारम्भ गरेको जानकारी दिए । ३ नम्बर प्रदेशलाई कम उजुरी पर्ने प्रदेशको रूपमा अघि बढाउने आफ्नो प्रतिज्ञा रहेको उनले कर्मचारीलाई विधिको सुशासन परिपालन र पारदर्शितामा जोड दिन निर्देशन दिए ।
७ वटा मन्त्रालयहरुको पनि काम छिटै सञ्चालनमा ल्याउन मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव रमेश शिवाकोटीको संयोजकत्वमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय सचिव बलदेव जोशी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा र भवन प्रविधि तथा तालिम केन्द्रका जिल्ला इन्जिनियर सुदिप आचार्य सदस्य रहेको ४ सदस्यीय समिति गठन गरिएको छ ।
कार्यक्रममा ३ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक केशरीराज घिमिरे, प्रदेश कार्यालयका सचिव चर्तुभुज ज्ञवाली, प्रदेश सचिवालयका सचिव डा. रोजनाथ पाण्डे, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवति पुडासैनी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा लगायतका विभिन्न कार्यालयका प्रमुख र कर्मचारीहरुको सहभागिता रहेको थियो ।