आयात खेल «

आयात खेल

गत आर्थिक वर्षमा विदेशी मुद्रा सञ्चितिमा उच्च दबाब परेपछि सरकारले थप गिरावट हुन नदिन विभिन्न नीतिगत निर्णय गरेको थियो । त्यसमध्येको एउटा निर्णय महँगा र विलासी सवारी साधन आयातमा प्रतिबन्ध थियो ।

गत वैशाखदेखि लगाएको प्रतिबन्ध पटक–पटक थप गर्दै यही मंसिर मसान्तसम्म लम्ब्याइएको छ । लामो समयसम्म सवारी साधनमा लगाएको प्रतिबन्धको असर अहिले आएर देखिएको छ । सरकारको यो निर्णयपछि अहिलेसम्म मुलुकभरका ७४ वटा सवारी साधनका सोरुम बन्द भएका छन् । व्यवसायीले मुलुकका सातै प्रदेशमा सवारी साधनका सोरुम सञ्चालनमा ल्याएका छन् । तीमध्ये सबैभन्दा धेरै ३ सय ७८ सोरुम भएको बागमतीका २४ वटा सोरुम बन्द भएका छन् ।

यस्तै गण्डकीका १ सय ८२ मध्ये १० वटा सोरुम बन्द भएका छन् भने प्रदेश १ मा ११ वटा बन्द भएका छन् । मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा क्रमशः १२, ५, ७ र ५ वटा सोरुम बन्द भएका छन् । आयातमा प्रतिबन्ध कायमै रहे आगामी पुससम्म थप २ सय सोरुम बन्द हुने क्रममा छन् । सोरुम बन्द भएसँगै यसमा आबद्ध सयौंको रोजगारी पनि गुमेको छ । व्यवसायीले दिएको तथ्यांकअनुसार अहिलेसम्म ७ हजारभन्दा बढीले रोजगारी गुमाएको अवस्था छ ।

सरकारले गत वैशाख १३ देखि सवारी साधनलगायत अन्य १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लागेका १० मध्ये केही समयपछि ६ वस्तुको आयात खोले पनि दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनसहित ४ वस्तुको आयात प्रतिबन्ध कायमै छ । सरकारले सुरुमा सबै प्रकारका पेट्रोलियम पदार्थबाट चल्ने कार र २ सय ५० सीसीभन्दा बढी इन्जिन क्षमताका मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाएको थियो । केही समयपछि १ सय ५० सीसीभन्दा माथिका मोटरसाइकल आयातमा पनि रोक लगाइएको छ ।

वैशाखदेखि सुरु गरिएको आयात प्रतिबन्धलाई तीन पटक थपेर अहिलेसम्म कायम गरिएको छ । मुलुकभर साना तथा ठूला सवारी साधनका डिलरको संख्या १ हजार २५ पुगेको छ भने सबै प्रकारका अटोमोबाइल व्यवसायी करिब १० हजारको संख्यामा छन् । यो क्षेत्रमा करिब १ लाखले रोजगारी प्राप्त गरेको व्यवसायीहरूको भनाइ छ । सरकारको आठ महिना लामो प्रतिबन्धका कारण व्यवसाय चौपट बनेको व्यवसायीको गुनासो छ । प्रतिबन्ध लम्बिँदै गएपछि कतिपय व्यवसायी सोरुम बन्द गरेर अन्य व्यवसायतिर पनि लागेका छन् ।

सरकारको यो निर्णयप्रति उद्योगी–व्यवसायले सुरुदेखि नै असन्तुष्टि पोख्दै आएका थिए । सवारी साधन विक्रेता व्यवसायीको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले पछिल्लो समय आयात खोल्नुपर्ने भन्दै सरकारी निकायहरूमा ध्यानाकर्षण गराइरहेको छ । प्रतिबन्ध लगाएको लामो समय भएको र यसबीचमा विदेशी मुद्राको सञ्चितिमा पनि सुधार आएको अवस्थामा प्रतिबन्ध फुकुवा नगरे सरकार र राष्ट्र बैंकविरुद्ध मुलुकभर नै आन्दोलन गर्ने चेतावनी उसको छ ।

विदेशी मुद्राको सञ्चिति घटेर मुलुकमा समस्या आउने संकेत देखिएपछि थप सञ्चितिमा चाप आउन नदिन सरकारले त्यसबेला चालेको कदम एक हदसम्म उचित थियो । पछिल्लो समय सरकार धेरै सजिलोमा पुगेको अवस्था छ । गत वर्ष प्रत्येक दिनजसोे सञ्चितिमा आएको गिरावट अहिले रोकिएको अवस्था छ । चालू खाता घाटा क्रमशः कम हुँदै गएको छ भने शोधनान्तर स्थिति १२ अर्ब रुपैयाँले बचतमा आएको छ । रेमिट्यान्स आय पनि बढ्दो क्रममा छ ।

समग्रमा अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आएको छ । यही बेला सरकारको राजस्व असुलीमा गम्भीर धक्का लागेको छ । यो वर्ष राजस्वले चालू खर्च पनि धान्न नसकेको अवस्था आएको छ । यस्तोमा आयातलाई रोकिराख्नु बुद्धिमानी देखिँदैन । सरकार अहिले आयात खोल्ने कि अझै प्रतिबन्ध कायमै राख्ने भन्ने अलमलमा छ । आयात बन्द गरे राजस्व, रोजगारीसँगै अर्थतन्त्रको आन्तरिक पाटोमा असर पर्ने देखिन्छ । आयात खुला गरे विदेशी विनिमय सञ्चितिमा फेरि चाप पर्न सक्ने डर सरकारलाई छ । पछिल्ला दिनमा रेमिट्यान्स आय र सञ्चितिमा आएको सुधारलाई हेर्दा आयात खोल्दा धेरै समस्या नहुन सक्छ ।

गत वर्षको कुल आयात हेर्दा अहिले प्रतिबन्ध लगाएका वस्तुहरूको आयातको अंश त्यति धेरै पनि छैन । यी वस्तुको आयात खोल्दैमा धेरै मात्रामा विदेशी मुद्रा खर्च हुने पनि देखिँदैन । अझै पनि सरकारलाई सञ्चिति घट्ने चिन्ता छ भने महँगा सवारी साधन र मोबाइल फोनमा थप कर लगाएर आयात निरुत्साहित गर्न सकिन्छ । महँगा र राम्रा वस्तु उपभोग गर्न चाहने र त्यसअनुसार ल्याकत पनि भएका नागरिकलाई उपभोगमा रोक लगाउनु कुनै पनि प्रजातान्त्रिक मुलुकको चरित्र होइन । सरकार आफू असजिलोमा छ भने त्यस्ता वस्तुको आयातलाई निरुत्साहित गर्न मिल्छ, रोक्नै भने सुहाउँदैन ।

प्रतिक्रिया दिनुहोस्