Logo

हावाहुरीका कारण मतपेटिका ल्याउन सकिएन

फाइल तस्बिर।

डोल्पाका आठवटा स्थानीय तहमध्ये दुईवटा स्थानीय तहको मतपेटिकामात्र सदरमुकाम ल्याइपुर्‍याइएको छ । जिल्लाको ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकाका मतपेटिकामात्र सदरमुकाम ल्याइपुर्‍याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सदरमुकामदेखि एक दिन लाग्ने तल्लो डोल्पाका जगदुल्ला र मुड्केचुला गाउँपालिकाका मतपेटिका मंगलबार (आज) बिहानमात्र सदरमुकाम पुग्ने बताइएको छ । उपल्लो डोल्पाका छार्काताङ्सोङ, डोल्पोबुद्व र शे–फोक्सुन्डो गाउँपालिकाका मतपेटिका पनि निर्वाचनस्थलमै छन् ।

सोमबार उपल्लो डोल्पा गएको हेलिकप्टरले डोल्पोबुद्ध गाउँपालिकाको तीनवटा केन्द्रको मात्र मतपेटिका सदरमुकाम ल्याएको छ । २२ ठाउँमध्ये १९ ठाउँ अझै बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय डोल्पाका प्रमुख रामबहादुर सार्कीले जानकारी दिए । सोमबार हावाहुरी बढी चलेका कारण मतपेटिका सदरमुकाम ल्याउन नसकिएको सार्कीको भनाइ छ ।

भौगोलिक रूपमा विकट भएकाले तीनवटै स्थानीय तहका मतपेटिका सेनाको हेलिकप्टरबाट ल्याइने व्यवस्था मिलाइएको छ । भारी हिमपात भएका कारण उपल्लो डोल्पाका मतपेटिका, कर्मचारी र सुरक्षाकर्मीसमेत हेलिकप्टरकै सहयोगमा उपल्लो डोल्पा पुर्‍याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्